चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’
- जेष्ठ ११, २०८३
मेरो प्यारो छोरो,
असीम माया अनि सम्झना !
तिमीले पठाएको इमेल पढेँ । तिम्रो विद्यालयमा बरोबर पुस्तक अध्ययन गोष्ठी तथा शैक्षिक प्रदर्शनी हुने गरेकोे जानकारी पाएँ । विद्यालय जीवनदेखि नै सिर्जनात्मकता हुर्काउन विद्यालयले गरेको अगुवाइ निकै सराहनायोग्य छ । विद्यार्थीलाई पाठ्यपुस्तक र कक्षा कोठा बाहिरको दुनियासँग साक्षात्कार गराउने रचनात्मक उपाय जरुरत छ ।
म पहिला पनि भन्थेँ, जीवनलाई आवश्यक सम्पूर्ण पाठ पाठ्यपुस्तकमा मात्र भेटिन्न । समय र हामीले पढ्ने पुस्तकहरू जीवन यात्राका हाम्रा शिक्षक हुन् । यो २१ औँ शताब्दी, यो इमेल इन्टरनेटको युग, यो विज्ञान र प्रविधिको जमानामा पनि पुस्तक निकै शक्तिशाली तथा जीवनोपयोगी छन् भन्ने लाग्छ । पुस्तक अध्ययनले हाम्रो चिन्तन, भविष्य र जीवनलाई नै बेग्लै आकार प्रदान गर्छ । यो सत्य हो, हामीले चुन्ने र पढ्ने पुस्तक हाम्रो जीवन पद्धति र व्यक्तित्व बनेर प्रतिविम्बित हुन्छ । पुस्तक अध्ययनका लागि छनोट निकै महत्वपूर्ण हुन्छ । जसरी खराब सङ्गतले जीवन बिगार्छ त्यसरी नै खराब, अप्रगतिशील र प्रतिक्रियावादी पुस्तकले हाम्रो जीवनलाई अँध्यारोतिर धकेल्छ भने राम्रा पुस्तकले सही मार्ग प्रदान गर्छ । पुस्तक छनोटमा तिम्रो उत्सुकता र जिज्ञासाले म निकै हर्षित छु ।
प्रगतिशील साहित्य, इतिहास, भूगोल, देशसँग मान्छेलाई जोड्ने पुस्तकले सकारात्मक सोच हुर्काउन मद्दत गर्छ । मनोरञ्जन, कल्पनाशीलता, भाषामा मात्र जोड दिनु सही नहुन सक्छ । मानव समाजको यथार्थसँग जोड्ने पुस्तकले तिमीजस्ता हुर्कंदै गरेका मस्तिष्कहरूलाई सही खुराक मिल्छ । मानव समाजको विकास वर्गसङ्घर्षको श्रृङ्खला त हो, मैले यही पढेँ । त्यसैले सङ्घर्षका कथाहरू, विश्वमा मानव जातिमाथिको अन्यायविरुद्धका साहित्यहरू पढ्नु बढी लाभदायक हुन्छ ।
आज तिमीलाई म दक्षिण भियतनामका एक वीर योद्धा न्गुयेन वान ट्रवाईसँग भेट गराउँछु । भियतनामको मुक्तिका निम्ति सहिद बनेका एक वीरको नाम हो न्गुयेन वान ट्रवाई । २४ वर्षको उमेरमै अमेरिकी साम्राज्यवादसँग जुझेर सहिद बनेको एउटा नाम हो न्गुयेन । देशप्रतिको माया, जनताप्रतिको प्रेम र शत्रुप्रतिको असीमित घृणा र आक्रोश न्गुयेनको व्यक्तित्व थियो । सानैदेखि अभाव, दुःख र असमानताको पहाड छिचोलेका उनी १५–१६ वर्षदेखि नै भियतनामको स्वतन्त्रताका निम्ति भियतकङसँग जोडिए । भियतकङ दक्षिण भियतनामको राष्ट्रिय मुक्ति मोर्चा थियो । भियतनामको उत्तरी भाग मुक्त भइसकेपछि दक्षिणमा अमेरिकी दादागिरीविरुद्ध लड्न भियतकङ सक्रिय थियो । नेता हो चि मिन्ह न्गुयेनका आदर्श हुनुहुन्थ्यो, जसले सिङ्गो भियतनाम र भियतनामी जनतालाई साम्राज्यवादसँग लड्न नेतृत्व गर्नुभयो । न्गुयेनले फ्रान्सेली उपनिवेशको दर्दनाक कथा सुनेका थिए, उनले अमेरिकी साम्राज्यवादको ज्यादती भोगे; अपमान र अत्याचार देखे । साम्राज्यवादी अमेरिका ठूल्ठूला बमबारुद र हातहतियारसहित भियतनामलाई कब्जा गर्न आइरहँदा भियतनामी जनतासँग साम्राज्यवादी फ्रान्स र अमेरिकाप्रति घृणाको मिसाइल थियो । न्गुयेन त्यही मिसाइलको प्रतिनिधि नाम हो । संरा अमेरिकालाई दक्षिण भियतनाम हुँदै सम्पूर्ण एसियामा कम्युनिस्ट आन्दोलन अगाडि बढ्ला भन्ने डर थियो । त्यसकारण दक्षिण भियतनामको कम्युनिस्ट आन्दोलन दबाउन दक्षिणको प्रतिक्रियावादी सरकारलाई पैसा, हातहतियार दिएर र सैनिक पठाएर सघाएको थियो । गाउँ–गाउँमा आगो झोस्दै, निर्दोष भियतनामी जनता मार्दै कम्युनिस्ट भियतकङको गतिविधि रोक्न सक्रिय थियो । जनताको माझबाट मुक्तिआन्दोलन अगाडि बढाइरहेको भियतकङलाई जनताको बलियो साथ थियो । त्यही भियतकङका एक सिपाही न्गुयेन सन् १९६४ मे महिनामा संयुक्त राष्ट्रका रक्षा सचिव रोवर्ट मैकनमारा Robert McNamara लाई मार्न खोजेको आरोपमा समातिए । सार्वजनिक रूपले त्यसरी समातिएका उनी नै प्रथम भियतकङ सिपाही थिए । उनलाई पछि साइगनमा मृत्युदण्ड दिइएको थियो । मर्नुअघि न्गुयेनले शिर ठाडो पारी मुठ्ठी कस्दै नारा घन्काए — “अमेरिकी साम्राज्यवाद मूर्दावाद ! भियतनामी सङ्घर्ष जिन्दावाद ! नेता हो चि मिन्ह जिन्दावाद ! ”
उनी समातिएपछि जेलमा निकै सासना भोग्न पर्यो । उनले भर्खरै विवाह गरेका थिए । उनकी श्रीमती फान थी क्यूयेन थिइन् । श्रीमती फान थी क्यूयेनको बयानअनुसार न्गुयेनको जीवन र सङ्घर्षका अन्तिम दिनहरूबारे यस पुस्तक “दक्षिण भियतनामका वीर योद्धा” मा लेखिएको छ । यो पुस्तकको एकप्रति पठाउने कुनै उपाय गर्नेछु ।
न्गुयेनले अन्तिम क्षणसम्म पनि भनिरहे– “मैले मैकनमारालाई मार्नै खोजेको थिएँ, मार्न सकिनँ, अपसोच छ । तर मैले कुनै पाप या अपराध गरेको छैन । पापी त अमेरिकी साम्राज्यवादीहरू हुन्, ती भियतनामी जनताका अपराधी हुन् ।” जाँदाजाँदै पत्रकारहरूतिर हेरेर उनले बोलेका थिए– “तपार्इंहरू पत्रकार हुनुहुन्छ । के भइरहेछ त्यो तपाईंहरूलाई अवश्य थाहा हुनुपर्छ । अमेरिकी राक्षसहरू हाम्रो देशप्रति आक्रामक बन्दै छन्, हाम्रा जनता मार्दै छन् । भियतनामी जनताका घरबस्तीमा बम खसालिँदै छ । मैले भियतनामी जनताको इच्छाविपरीत केही गरिनँ । मैले जे गरेँ अमेरिकी साम्राज्यवादविरुद्ध गरेँ ।”
न्गुयेन वान ट्रवाईबाट साम्राज्यवादविरुद्ध लड्ने ऊर्जा पाउन सकिन्छ । न्गुयेनकी श्रीमती क्युयेन निकै मेहनती थिइन् । विवाहको समयमा उनलाई न्गुयेनबारे केही थाहा थिएन । विवाहको ३–४ हप्तासम्म समय नदिँदा रिसाइरहेकी उनलाई अचानक न्गुयेनको गिरप्mतारी जस्तो बज्रपात आइलाग्छ । प्रहरी र राज्यसत्ताले क्युुयेनलाई निकै सास्ती दिन्छन्, मानसिक यातना दिन्छ । उनले न्गुयेनका शब्दहरू सम्झँदै बयानमा बोलेकी छिन् –“अमेरिकीहरूलाई परास्त पार्दै दक्षिण मुक्त बनाउनु मेरो ध्येय हो ।”
जेलभित्र न्गुयेनलाई विस्फोटक चीजहरू कहाँ छन् ? भियतकङका गुरिल्ला कहाँ छन् ? भन्ने प्रश्न सोध्दै यातना दिइयो । जेलभित्र बोल्न लगाउन श्रीमतीको उपयोग समेत गर्यो तर क्युयेनले न्गुयेनलाई सघाइन् । क्युयेनकै आँखा अघि न्गुयेनलाई बिजुलीको करेन्ट हानियो, रगताम्य हुने गरी पिट्ने, पिनले औंलाहरूमा घोच्नेजस्ता अमानवीय यातना दिइयो । कहाँ छन् विस्फोटक वस्तुको जवाफमा रगतले लत्पतिएका न्गुयेनले बोलेका थिए– “जहाँ जहाँ अमेरिकी साम्राज्यवादीहरू छन् त्यहाँ त्यहाँ विस्फोटक वस्तु छन् ।” उनलाई मरणासन्न हुने गरी पिटियो । श्रीमतीले पनि न्गुयनबारे केही नबोलेपछि जेलमा हालियो । जेलमा क्युयेनले क्रान्तिकारी महिलाहरू भेटिन् । न्गुयेनको उद्देश्य र ध्येयबारे बुभ्mने मौका पाइन् । यातनाघरमा बसिरहेका न्गुयेनको साथमा उभिने सङ्कल्प गरिन् । जेलभित्र न्गुयेनको वीरता र साहसको चर्चाले क्युयेनलाई जस्तै कठिन परिस्थितिसँग जुभ्mने साहस मिल्यो ।
न्गुयेनको पक्राउले भियतनाम आन्दोलित थियो । भियतनामी जनतालाई साम्राज्यवादविरुद्ध लड्न सो घटनाले अझ ऊर्जा प्रदान गरिरहेको थियो । देशैभरि “अमेरिकी साम्राज्यवाद, आक्रमणकारी र हत्यारा मुर्दावाद” को गगनभेदी नारा लाग्दै थियो । त्यही बेला प्रहरीले क्युयेनलाई दबाब दिएर भन्दै थियो – “न्गुयेन छुट्न सक्छ तर उसले उसको अपराध कबुल गरी भियतकङको सबै जानकारी प्रहरीलाई दिनुपर्छ ।”
न्गुयेनलाई भेट्न दिइँदा उनको शरीर नीलो–पहेँलो देखेर क्युयेन आत्तिएकी थिइन् । यद्यपि, न्गुयेनले बोलेका शब्द सम्झिन् –“हामी अपराधी होइनौं । देशप्रेम कसरी अपराध हुन सक्छ ? जबसम्म अमेरिका घुँडा टेक्दैन तबसम्म सङ्घर्ष जारी रहन्छ । भियतनामको मुक्तिका लागि मर्न अलिकति पनि डर लाग्दैन । देशले जीवन आहुती मागे, हाँसी हाँसी बिदा हुनेछु ।” ससाना नानीहरूदेखि ज्येष्ठ नागरिकको मुखमा न्गुयेनको नाम झुण्डिएको थियो । न्गुयेनको साहस र वीरताको कथा युग–युगसम्मले पढ्ने विश्वास क्युयेनको हृदयमा जागेको थियो । त्यसकारण आप्mना श्रीमान्लाई मृत्युदण्ड दिँदा उनी देश र न्गुयेनको बाटो हिँड्ने सङ्कल्प गर्दै थिइन् ।
यसरी नै भियतनाम, रुस, चीन, क्युवा, कोरिया, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा उठेका न्यायपूर्ण आन्दोलन र सङ्घर्षका कथाहरू निकै पठनीय छन् । आन्दोलन र क्रान्तिका वीरहरूसँगको साक्षात्कारले अन्याय–अत्याचारविरुद्ध सङ्घर्षको भावना विजारोपण हुनेमा कुनै सन्देह छैन । सानैदेखि क्रान्तिकारी सोचको विकासले समाजमा आमूल परिवर्तनको सङ्केत दिन्छ । नेपाल प्रत्यक्षपरोक्ष नवउपनिवेश बन्दै छ । विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप बढ्दो छ । तसर्थ, तिमी र तिमीजस्ता थुप्रै विद्यार्थी देशकै असल सन्तान बन्ने प्रण गर्न आवश्यक छ ।
हिउँदे बिदा सुरु हुनासाथ हाम्रो भेट हुनेछ । अहिलेलाई यति नै ।
उही तिमीलाई माया गर्ने आमा ।
Leave a Reply