भर्खरै :

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा–१

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा–१

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा
घाना अफ्रिकी स्वतन्त्रता आन्दोलनको १९६० दशकतिर एक चर्चित देश हो । घानाको उत्तरमा अपर भोल्टा (बुर्किनाफासो), दक्षिणतिर आन्ध्र महासागर, पूर्वमा टोगो, पश्चिममा आत्री कोस्ट पर्छ । पोर्चुगली उपनिवेशवादीहरूले ‘सुनको किनारा’ (Gold Coast) भनिएको घाना ७ मार्च १९५७ मा स्वाधीनता प्राप्त गरेको देश हो ।
अफ्रिकी महादेशको दक्षिण–पश्चिम र गिनी खाडीको पश्चिममा रहेको घानाको क्षेत्रफल २,३८,५३७ वर्ग किलोमिटर छ । २ करोड ८१ लाख २ हजार ४ सय एकहत्तर (१९९० को तथ्याङ्क) बहुजातीय जनसङ्ख्या भएको यस देशमा ५६ भाषा बोलिन्छ । असङ्ख्य र अकुत प्राकृतिक सम्पदा भएकै कारण पोर्चुगाली उपनिवेशवादीहरूले यस देशको नाम ‘सुनको किनारा’ राखेका हुन् ।
सुन, हीरा, बाक्साइट, म्याङ्गानिज आदि खनिजले घाना सम्पन्न छ । घाना संसारको तेस्रो सबभन्दा ठुलो हीरा उत्पादक देश थियो र संसारको पाँचौँ सबभन्दा ठुलो सुन उत्पादक देश थियो ।
कृषिमा पेय पदार्थको रूपमा प्रयोग गर्ने कोका, कफी, चिया, पातको डोरी बाट्ने रुख आदि उत्पादन हुन्छ र कृषि उत्पादनको तयारी, निर्यातको निम्ति बट्टामा बन्द गर्ने कारखाना, पेट्रोलियम प्रशोधन, रासायनिक मल, कपडा आदि औद्योगिक वस्तु यहाँबाट निर्यात हुन्छ ।
गणतान्त्रिक घाना ८ प्रान्तमा विभाजित छ । यसको राजधानी आक्रा (Accra) हो ।
सन् १४७१ मा पहिलोपटक पोर्तुगाली जहाज घानामा बिसाइएको थियो । समुद्र किनारामा रहेका पोर्तुगालीहरूले धेरै सुन हात पारे । पोर्तुगालीहरूले त्यहाँ एक किल्ला बनाएका थिए । सुन लुट्नसम्म लुटेपछि पोर्तुगालीहरू त्यहाँका हब्सी जनतालाई दास बनाउन सिक्रीले बाँध्दै र सन्दुकमा बन्द गर्दै लान्थे । ती हब्सीहरूलाई युरोप र अमेरिकी दासबजारमा बढीबढाउ गरी बेचिन्थे । पोर्तुगालीहरू बलिया र हट्टाकट्टा हब्सीहरूलाई मात्र लान्थे र अरूलाई मार्थे ।
सत्रौँ शताब्दीमा डचहरूले पोर्तुगालीहरूलाई घानाबाट खेदे र अझ ठुलो दास व्यापार सुरु गरे ।
सन् १८६० तिर जेम्स एबि हर्टोनले सबै पश्चिमी देशहरूको स्वाधीनताको विचार अगाडि सारेका थिए । आफ्नो पुस्तक ‘पश्चिमी–अफ्रिकी देशहरू र जनता’ (West African Countries and People) मा उनले अफ्रिकीहरूको स्वराजको अधिकारमा जोड दिएका थिए र हब्सीहरू मानसिक रूपले कमसल छन् भन्ने सिद्धान्तका पक्षपाती बेलायती ‘सामाजिक मानवशास्त्रीहरू’ लाई आलोचना गरेका थिए ।
अर्का बेलायती विद्वान एडवार्ड ब्लाइडेन सम्पूर्ण अफ्रिकाका पहिलो सिद्धान्तकार थिए । उनले अफ्रिकी जनताको साझा भाग्यबारे आफ्नो धारणा बौद्धिक रचनाहरूमा लिपिबद्ध गरेका थिए ।
१९ औँ शताब्दीको अन्तमा उनले ‘अफ्रिकी व्यक्तित्व’ र ‘उपनिवेशीकरणको अन्तको भावना’ को विशेषताको धारणालाई अगाडि सारेका थिए ।
क्वामे एन्क्रुमा घानाको मात्रै होइन अफ्रिका महादेशकै एक चर्चित र प्रतिष्ठित नेता थिए । एन्क्रुमा घानाको दक्षिण पश्चिम भागको एन्क्रोफुल (Nkroful) भन्ने सानो गाउँमा सन् १९०९ को सेप्टेम्बर महिनामा जन्मेका थिए । त्यस गाउँमा अकान वन्यजाति Akan Tribe र एनजिमा (Nzima) जनता बसोबास गर्थे ।
क्वामे एन्क्रुमाका बुबा सुनको गहना बनाउने कालिगड थिए । उनका बुबाका धेरै पत्नी थिए । त्यस जातिमा बहुपत्नी विवाहको प्रचलन थियो । क्वामे एन्क्रुमाका आमापट्टिका उनी एक्लो छोरा थिए । आमा खेतमा काम गर्दै खेती उत्पादन बजारमा बेच्न जान्थिन् ।
सन् १९०० मा बेलायती उपनिवेशवादीहरूले घानालाई आफ्नो कब्जामा लिए र त्यसको नाम ‘सुनको किनारा’ राखे । क्वामे एन्क्रुमाका आमाबुबा लेखपढ गर्न जान्दैनथे । यसकारण छोरोलाई शिक्षित बनाउन आमा धेरै उत्साहित भइन् र मिहिनेत गर्थिन् । उनले छोरालाई युरोपेलीहरूले स्थापना गरेको क्याथोलिक धर्मको विद्यालयमा भर्ना गरिदिइन् । उनलाई विद्यालयको अनुशासन सा¥है कडा लाग्थ्यो तर आमाले उनलाई हात समाएर विद्यालयसम्म पु¥याउँथिन् । विद्यालयमा अङ्ग्रेजी भाषा, गणित, भूगोलको पढाइ हुन्थ्यो र धर्म मुख्य विषय थियो । युवा एन्क्रुमा धर्मको गम्भीर अध्ययन गर्थे र आफ्ना गुरुसँग त्यसबारे छलफल गर्न रुचाउँथे । उनले रोमन क्याथोलिक चर्चको दीक्षा लिए र आफ्नो नाम फ्रान्सिस (Francis) राखे ।
आठ वर्षको उमेरमा एन्क्रुमा आफ्नो कक्षाको अब्बल दर्जाका विद्यार्थी थिए । उनी सा¥है मिहिनेती भएकाले शिक्षकहरूले उनलाई राजधानी आक्रामा पढ्न पठाए । उनी त्यसबेला १८ वर्षका युवा थिए ।
आक्रा सहरमा एन्क्रुमा तालिम महाविद्यालयमा भर्ना भए । आक्रामा त्यसबेला ५० हजार मात्र जनसङ्ख्या थियो । औपनिवेशिक राजधानीको त्यति महत्व थिएन, तैपनि त्यहाँ धेरै मोटरकार गुड्थे । त्यहाँ नाइजेरियाली, सिरियाली, लेवनानी र ग्रीसका राम्राराम्रा लुगा लगाएका मानिसहरू बस्थे । आक्रामा विभिन्न किसिमका नरिवल, माछा, सुन्तला, अत्तर र अन्य श्रृङ्गारका सामानहरूको बिक्री हुन्थ्यो । मुख्यमुख्य व्यापारीहरू सबै विदेशी थिए । पहिलो वर्ष उनलाई आक्रामा बस्न सा¥है गा¥हो भयोे । उनी घर सम्झिरहन्थे । सन् १९२७ मा उनको बुबाको मृत्यु भयोे । उनी आमा र काकासँग बस्न थाले ।
एन्क्रुमाको परिचय क्वेग्यिर आग्रेइ नामका एक अफ्रिकी शिक्षकसँग भयो । ती शिक्षकले सं.रा. अमेरिकाको एक महाविद्यालयमा विद्यावारिधि गरेका थिए । उनी आक्रानजिक एक कलेजमा निर्देशक नियुक्त भए । त्यो कलेज नै घानाको पहिलो उच्च शिक्षण संस्था थियो । ती शिक्षकले बेलायतको इतिहास, भूगोल, बेलायतकै गीत–सङ्गीत तथा ऐनकानुन पढाउँथे । उनी युवा अफ्रिकीहरूलाई त्यस देशको विकास गर्न गोराहरूको पनि सहयोगको आवश्यकताबारे सम्झाउँथे । त्यो कुरा एन्क्रुमालाई सुरुमा मन परेको थिएन । तैपनि, एन्क्रुमाको सम्बन्ध उनीसँग बढ्दै गयो र बिदाको समयमा उनी संरा अमेरिका फर्के । त्यहीँ उनको अचानक मृत्यु भयो ।
सन् १९२८ मा आक्राको तालिम महाविद्यालय अचिमोटामा स¥यो र ‘प्रिन्स अफ वेल्स’ कलेजको एक भाग बन्यो । त्यस संस्थानमा युरोपेली र अफ्रिकीहरू काम गर्थे । स्थानीय विद्यार्थीहरू त्यहाँका ठुल्ठुला मानिसका छोराछोरी थिए । तिनीहरू ल्याटिन भाषा र उच्चस्तरीय गणित विषयमा दख्खल राख्न चाहन्थे । एन्क्रुमा एक उत्साही युवा भएका हुनाले अन्य साथीहरूबाट उनले धेरै कुरा सिके । त्यसबेला उनलाई मनपर्ने विषय इतिहास, मनोविज्ञान, जनतासँगको संवाद, भाषणकला आदि थिए । उनी खेलकुद र नाचगान पनि मन पराउँथे । त्यसबेला उनी १९ वर्षका थिए ।
औपनिवेशिक शिक्षा बेलायतकै नक्कल थियो । त्यस शिक्षाले विद्यार्थीहरूलाई बेलायती समर्थक मात्र बनाउने होइन पुँजीवाद र पुँजीवादी समाजको दृष्टिकोण, प्रवृत्ति र सिद्धान्तसमेत विद्यार्थीहरूमा बीउजस्तै छर्न खोज्थे । तर, त्यसबेलासम्म एन्क्रुमाले उपनिवेशी शासन अन्यायपूर्ण छ र सधैँ त्यो व्यवस्था रहिरहन्छ भन्नेबारे शङ्का गर्न थालेका थिए ।
इलमिना सहरमा रोमन क्याथोलिक जुनियर स्कूलमा एन्क्रुमाले शिक्षकको काम पाए । हुन त उनी अवसर पाए विदेशमा गई उच्च शिक्षा हासिल गर्न चाहन्थे । उनको कक्षामा विद्यार्थीहरू खुब ध्यान दिई पढ्थे । उनको सिकाउने शैली अत्यन्त प्रभावशाली हुन्थ्यो ।
सन् १९३१ मा एन्क्रुमा आक्सिमा सहरको रोमन क्याथोलिक जुनियर स्कूलमा प्रधानाध्यापक भए । त्यस क्षेत्रमा आफ्नै जातिका धेरै मानिसहरू भएको हुँदा उनले एन्जिमा साहित्यिक समाजको सङ्गठन गरे । त्यही साहित्यिक समाजमा एन्क्रुमाले सामुयल आर उड भन्ने व्यक्तिलाई भेटे ।
सामुयल बेलायती पश्चिमी अफ्रिकाको राष्ट्रिय काङ्ग्रेसका सचिव थिए । एन्क्रुमाले भेटेको पहिलो राजनीतिक व्यक्ति नै सामुयल थिए । पश्चिमी अफ्रिकाको राष्ट्रिय काङ्ग्रेस सन् १९२० को दशकमा स्थापना भएको थियो । त्यसमा गोल्ड कोस्ट, नाइजेरिया, सियरा लियन र गाम्बिया गरी चार बेलायती उपनिवेशहरूका नेताहरू थिए । त्यस सङ्गठनको मुख्य उद्देश्य ती चार बेलायती उपनिवेशवादी सरकारसँग स्वराज माग्नु थियो । त्यो क्रमिक सुधारको उपाय थियो । एन्क्रुमाले देशको इतिहास र ती चार उपनिवेशहरूको तत्कालीन इतिहासको बारेमा घण्टौँ छलफल गरे ।
सन् १९३० को दशकमा आर्थिक सङ्कटले पश्चिमी देशलाई प्रत्यक्ष असर पारेजस्तै उपनिवेशहरूमा पनि त्यसको असर प¥यो । घाना वा गोल्ड कोस्टबाट निर्यात हुने कोका दानालगायतका वस्तुहरूको निर्यात घट्यो । निर्यात हुने वस्तुहरूकै करबाट त्यहाँको आर्थिक गतिविधि अगाडि बढ्थ्यो । बेलायती उपनिवेशहरूका उद्योगधन्दा सुक्न थाले, कामदारहरू निकालिए र बेरोजगार भए । मजदुरहरूको ज्यालामा बाँच्ने महिला र बालबच्चामा सा¥है ठुलो नकारात्मक असर पर्नु स्वाभाविक थियो । ज्याला कटौती, कामबाट निकाला आदिको विरोधमा मजदुर सङ्घहरू स्थापना भए । मजदुर हडतालहरू भए । स्थानीय अफ्रिकी पत्रपत्रिका तथा अनेक सांस्कृतिक र शैक्षिक संस्थाहरूको सङ्गठन बढ्दै गयो र उपनिवेशविरोधी भावना फैलिँदै गयो । यसरी घानामा राजनीतिक चेतना बढ्दै गयो । एन्क्रुमामा पनि उपनिवेशवादविरोधी भावनाको जग बस्दै गयो ।
एकजना अफ्रिकी युवा संरा अमेरिकामा ९ वर्ष अध्ययन गरी सन् १९३४ मा घाना फर्केका थिए । उनी नामिडी अजिकिवी थिए र पछि उनी नै नाइजेरियाका पहिलो राष्ट्रपति बने । उनी अमेरिकामा ‘अफ्रिकी प्रभात खबर’ पत्रिकाका सम्पादक थिए ।
अफ्रिकी जनताको हकअधिकार, अभिव्यक्ति स्वतन्त्रता, जातीय र रङको भेदभाव आदिबारे अनेक लेख र वक्तव्य प्रकाशित गरेर आजिकिवी अफ्रिकाको सम्भ्रान्त समाजमा ज्यादै चर्चित भए । उनको प्रभाव अफ्रिकी शिक्षित समुदाय र एन्क्रुमाजस्ता युवाहरूमा पनि परेको थियो । विद्रोहको भावना भड्काएको आरोपमा उनलाई ६ महिना कारागारको सजाय भएको थियो । रिहाइपछि उनी नाइजेरिया फर्केका थिए ।
अमेरिकाको संविधानमा काला र गोराहरूले समान अधिकार पाउँछन् भन्ने लेखिएको थियो । त्यसकारण, अफ्रिकी उपनिवेशका जनतामा उपनिवेशवादको विकल्प सं.रा. अमेरिका भन्ने भ्रम थियो । अफ्रिकी जनता त्यसबेला सं.रा. अमेरिकालाई मुक्ति र समानताको प्रतीक सम्झन्थे । एन्क्रुमाले पनि नाइजेरिया पुगी आफ्ना सम्पन्न नातागोतासँग सं.रा. अमेरिकाको लिङ्कन विश्वविद्यालयमा पढ्न जान सहयोग मागे र घर फर्के ।
एन्क्रुमाकी आमालाई छोरा अमेरिकाजस्तो टाढाको देशमा किन जान चाहन्छ भन्ने थाहा थिएन । उनको मनमा त छोराले स्थानीय विद्यालयमै इज्जतको जीवन बिताउन सक्ने थियो । सन् १९३५ अगस्ट महिनामा एन्क्रुमा बेलायत हुँदै सं.रा. अमेरिका गए । उनी बेलायतको राजधानी लन्डन पुग्दा भीड भएका बाटाहरू, विज्ञापनको झिलिमिली, अन्तहीन मोटरहरू, दुई तले बस र बिजुलीले चल्ने ट्राम आदिको घुइँचोले उनलाई आश्चर्यमा पारेको थियो । आर्थिक सङ्कटले बेलायतमै २० लाख जनता बेरोजगार थिए । त्यसबेला लन्डनको जनसङ्ख्या ८० लाख थियो । तर, एन्क्रुमाले किताब र पत्रपत्रिकामा देखेको लन्डनका चित्रहरू, ऐतिहासिक स्मारकहरू प्रत्यक्ष देख्दा कति पनि नौलो अनुभव गरेनन् । मानिसको घुइँचो, सवारीहरू र बन्दरगाहको गञ्जागोलमा उनी हराउँथे । तर, आआफ्नो भावना पोख्ने ठाउँ हाइड पार्कको डबलीबाट उनी प्रभावित भए ।
सन् १९३५ अक्टोबरको समय थियो । त्यसबेलासम्म एन्क्रुमालाई अन्तर्राष्ट्रिय राजनीतिको जटिलता थाहा भइसकेको थिएन । नाजीवाद, फासीवाद र जापानको राजनीतिबारे पनि थाहा थिएन । त्यसबेला उनी २६ वर्षका युवा थिए । ३ अक्टोबरको दिन इटालीका तत्कालीन तानाशाह मुसोलिनीले सबभन्दा पुरानो स्वतन्त्र अफ्रिकी देश इथियोपियामा हमला गरेको समाचार थाहा पाउँदा उनी झस्के । बेलायतमै उनले पश्चिमी देशको प्रजातन्त्रको वास्तविकता बुझ्न सुरु गरे ।
एन्क्रुमा जहाजमा बसी लन्डनबाट संरा अमेरिकातर्फ लागे । न्युयोर्क पुग्दा त्यहाँका अग्लाअग्ला घर र पसलको झिलिमिली देखेर उनी छक्क परे । लिङ्कन विश्वविद्यालय पुग्दा दुई महिनाअघि नै कक्षा सञ्चालन भइसकेको थियो तैपनि उनी आफ्ना सहपाठीहरूभन्दा पछाडि परेनन् । त्यो विश्वविद्यालय अफ्रिकी विद्यार्थीहरूको निम्ति सन् १८८४ मै स्थापना भएको थियो । उनले चिनेजानेका अफ्रिकीहरू पनि त्यहीँ पढेका थिए । कक्षापछि पनि उनी धेरैबेरसम्म पुस्तकालयमा अध्ययन गर्थे । आफू राजनीतिमा समर्पित हुने उद्देश्यले भाषण कलामा ध्यान दिन्थे । विश्वविद्यालयको प्रतिस्पर्धामा उनले स्वर्ण पदक पनि हासिल गरे ।
उनको पढाइको क्षमताबारे सबै अवगत भए । अनेक किसिमका खुला र गुप्त अफ्रिकी सङ्गठनहरूले उनीसँग सम्पर्क राख्न थाले । विश्वविद्यालयको छात्रवृत्तिको रकमले उनलाई जीविका चलाउन धौधौ परेको हुँदा विश्वविद्यालयको पुस्तकालयमा आंशिक सेवा गरे । उनी कमजोर विद्यार्थीहरूको निम्ति समाजशास्त्र र अर्थशास्त्रका आवश्यक शैक्षिक सामग्री तयार गर्थे । त्यतिले नपुगेर उनले अरुसँग मिलेर आफ्नी आमाले जस्तै सस्तो माछा बजारबाट महँगो बजारमा माछा बेच्ने काम पनि गरे । साथीहरूबिचको झगडाले गर्दा उनले अरू काम पनि थाले । उनले जहाजमा भाँडा माझ्ने काम सुरु गरेर पदोन्नति हुँदै थाल माझ्ने, खानेकुरो लैजाने र आदेश दिने कर्मचारी भए । उनी धनी यात्रुहरूबाट केही बक्सिस पाउँथे । त्यो पैसाले उनी पुस्तक किन्थे । मिलनसार, सहयोगी र फरासिला हुनाले उनले धेरै साथी बनाए ।
सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो र एन्क्रुमाले लिङ्कन विश्वविद्यालयबाट अर्थशास्त्र र समाजशास्त्रमा स्नातक गरे । पैसाकै कमीको कारण उनले कोलम्बिया विश्वविद्यालयबाट पत्रकारिताको अध्ययन गर्ने उद्देश्य छोडी पुरानै विश्वविद्यालयमा दर्शनशास्त्रको कक्षामा सामेल भए । दर्शनशास्त्रका अमूर्त विचार, तर्कका नियमहरू पढेर सुरुमा उनी अचम्म मान्थे । पछि उनी कान्ट, नित्से, हेगेलजस्ता दार्शनिकहरू र इब्सन, टाल्सटोयजस्ता लेखकहरूको साहित्यमा डुबे ।
एन्क्रुमा आइतबारको दिन अफ्रिकीहरूको सामाजिक र धार्मिक केन्द्रको रूपमा रहेका चर्चहरूमा गएर बरोबर प्रवचन दिन्थे । सन् १९३९ मै लिङ्कन गुरुकुलले धर्मशास्त्रबारे पढाउँथ्यो । एन्क्रुमाले पेनसिल्भानिया विश्वविद्यालयमा दर्शनशास्त्र र शिक्षाबारे अध्ययन गरे । सन् १९४२ मा उनले धर्मशास्त्रमा स्नातक र शिक्षाशास्त्रमा आचार्य उपाधि प्राप्त गरे । सन् १९४३ मा उनले दर्शनशास्त्रको स्नातकोत्तर परीक्षाको शोधपत्रको मौखिक परीक्षामा राम्रो प्रदर्शन गरे तथा आफ्नो शोधपत्रको निम्ति उनले विद्यावारिधि प्राप्त गरे । अब उनी ३४ वर्षका युवा प्रौढ भए ।
एन्क्रुमाले शैक्षिक क्षेत्रमा प्रगति हासिल गरे पनि आर्थिक रूपले आफ्नो खुट्टामा उभिन सकेका थिएनन् । आफ्नै अध्ययनकै निम्ति उनले एक जहाज बनाउने ज्यासलमा मध्यरातदेखि बिहान ८ बजेसम्मको काम पाए । धपेडीको कारण उनलाई फोक्सोसम्बन्धी गम्भीर रोग लाग्यो र अस्पतालमा भर्ना गरिए ।
अमेरिकामा अफ्रिकीहरूको बारेमा एन्क्रुमाले गम्भीर अध्ययन गरे । संरा अमेरिकामा गम्भीर जातिवादी भेदभाव भएको, ‘समान अवसर भएको समाज’ भनिए तापनि सबभन्दा अवसरबाट वञ्चित, तल्लोस्तरको मानिएको, बेरोजगारीले ग्रस्त, अत्यन्त तल्लो शैक्षिक स्तर भएको, अत्यन्त बहुमत काला जातिका मानिसहरू साह्रै अव्यवस्थित गल्ली र फोहोर ठाउँमा बस्ने गरेको थाहा पाए । कामकै खोजीमा तिनीहरू उत्तरको औद्योगिक क्षेत्रबाट तल झर्थे । वास्तवमा अमेरिकामा अफ्रिकीहरूको जीवन भनेको प्रचुरताको सागरमा गरिबीको टापु थियो । यी सबै परिस्थितिबाट एन्क्रुमाले अमेरिकी सम्पन्नताको झिलिमिली र बयान असत्य भएको थाहा पाए । उनी विलियम डु बोइसजस्ता आन्दोलनकारी र कम्युनिस्ट तथा मार्कस गार्भेजस्ता जातिवादविरोधी विश्वका हब्सी समाजका अगुवाहरूका विचार र साहित्यबाट प्रभावित भए । उनले आफ्नो देशको मुक्तिको निम्ति अमेरिकाको गणतान्त्रिक र प्रजातन्त्रवादी पार्टी, समाजवादी कम्युनिस्ट र त्रोत्स्कीवादीहरूको साहित्य र सङ्गठनबारे अध्ययन गरे । नौ भाषाका जानकार र कानुनका आचार्य, अफ्रिकी जनताका एक आन्दोलनकारी पाउल रोब्सनको साहित्य, विचार र गतिविधिसँग पनि उनी परिचित भए । एन्क्रुमा एक–एक पाइला गरेर माक्र्सवादी साहित्यसम्म पुगे ।
अध्ययनका साथसाथै एन्क्रुमा अमेरिका र क्यानाडाका अफ्रिकीहरूका विभिन्न सङ्गठनहरूसँगको सम्पर्कमा रहे । दोस्रो विश्वयुद्ध चरम उत्कर्षमा थियो । जापानले पर्ल हार्बरको अमेरिकी जलसेनाको अखडामा हमला ग¥यो, प्रशान्त महासागरमा सं.रा. अमेरिकाले आफ्नो जलसेना र हवाइसेनाको गतिविधि बढायो, रुसी लाल सेनाले पूर्व र पश्चिम दुवैतिर आत्मसमर्पण ग¥यो । संसारभरि सोभियत सङ्घ र विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव बढ्दै गयो । एन्क्रुमाको अन्तर्राष्ट्रिय राजनीतिको क्षितिज पनि उँचो हुँदै गयो ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *