भर्खरै :

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

न्यूयोर्क, ४ असोज (एएफपी) । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्र मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको पश्चिमी किनारको विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, यो क्षेत्रको विस्तार अवैध हो र त्यसविरूद्ध अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट आवाज उठ्नुपर्छ ।
उहाँले भन्नुभयो, “हामीले इजरायलको सम्भावित प्रतिशोधको डर मानेर चुप लाग्नु हुँदैन । यस्ता कार्यहरू रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक छ ।”
गुटेरेसले गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटबारे समेत गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, गाजामा हाल देखिएको मृत्यु, भोकमरी, औषधिको अभाव र आश्रयको अभाव अत्यन्तै दुःखद र असह्य छ ।
“यो मेरो महासचिवको कार्यकालमा मात्र होइन, जीवनभर देखिएको सबैभन्दा भयावह मानवीय अवस्था हो,” उहाँले भन्नुभयो ।
उक्त सन्दर्भमा, फ्रान्सको पहलमा १० देशले संयुक्त राष्ट्रको आगामी महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने तयारी गरिरहँदा इजरायलले त्यसको कडा विरोध जनाउँदै पश्चिमी किनारमा औपचारिक रूपमा कब्जा जमाउने चेतावनी दिएको छ । यसबारेमा गुटेरेसले भन्नुभयो, “हामी यस्ता चेतावनीबाट नडराई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पक्षमा उभिनुपर्छ ।”
इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने निर्णयको रूसद्वारा आलोचना
यसैबिच रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक कार्यक्रमलाई लिएर इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने प्रस्तावको आलोचना गरेको छ ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुसी पक्षले बारम्बार सम्झौतामा सहभागी युरोपेली देशहरूको उत्तेजक र गैरकानुनी प्रकृतिलाई औँल्याएको छ ।”
संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) भनेर चिनिने सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरू भएको सम्झौतामा अमेरिका, चीन, फ्रान्स, रुस, बेलायत र जर्मनीसमेत सहभागी भएका थिए । सम्झौताले इरानलाई संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धबाट राहत दिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा वासिङ्टनले अमेरिका सम्झौताबाट फिर्ता भएको घोषणा गरेपछि इरानले पनि क्रमिकरूपमा सम्झौताअन्तर्गत गरेका प्रतिबद्धताबाट पछि हटेको थियो ।
युरोपेली दबाबपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू गर्न मतदान गरेको थियो ।
रुसी मन्त्रालयले भनेको छ, “यी कार्यहरूको कूटनीतिसँग कुनै सम्बन्ध छैन र यसले इरानको आणविक कार्यक्रमलाई लिएर तनावलाई अझ बढाउँछ ।”
अगस्टमा मस्कोले आफ्नो प्रमुख सहयोगी इरानमाथि पुनः प्रतिबन्ध लगाउँदा ‘अपूरणीय परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो ।
रुस पश्चिमबाट टाढा हुँदै गएपछि तेहरान र मस्कोले विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्धलाई बलियो बनाइरहेका छन् ।
रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि दुई देशबिचको सम्बन्ध अझ घनिष्ठ भएको देखिन्छ । यद्यपि, इरानविरूद्ध इजरायलले गरेको १२ दिने आक्रमणमा रुस तटस्थ बसेको थियो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार नै प्रतिबन्ध फिर्ता रोक्नका लागि युरोपेली शक्तिहरूसामु ‘निष्पक्ष र सन्तुलित’ प्रस्ताव राखेको बताउनुभएको छ ।
“हामी (इरान) लाई अब वार्ताका लागि कदम चाल्न आग्रह गर्दछौं,” बेलायती राजदूत बारबरा वुडवार्डले प्रतिबन्धको वर्तमान निलम्बनलाई लम्ब्याउने प्रस्तावको विपक्षमा मतदान गरेपछि भन्नुभयो । अर्को हप्ता सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू न्यूयोर्कमा भेला हुने संयुक्त राष्ट्रसङ्घको महासभामा कूटनीतिका लागि ढोका खुला राखिएको उहाँले बताउनुभएको छ ।
मतदानअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायली टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यो महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय नाकाबन्दी पुनःस्थापित हुने आफूले अपेक्षा गरेको बताउनुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सेली राजदूतले शुक्रबार वार्ताको माध्यमबाट समाधानको विकल्प टेबलमा रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *