भर्खरै :

“भक्तपुर आजको अवस्थामा पुग्न पूर्वजनप्रतिनिधिहरूको पनि महत्वपूर्ण योगदान छ”

“भक्तपुर आजको अवस्थामा पुग्न पूर्वजनप्रतिनिधिहरूको पनि महत्वपूर्ण योगदान छ”

भक्तपुर, ४ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आजको अवस्थामा आइपुग्नुमा पूर्व जनप्रतिनिधिहरूको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा २०३९ सालदेखि २०७९ सालसम्म भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शनिबार भएको भेलामा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशनअनुसार निर्वाचित साथीहरूले काम गर्दाको परिणाम आजको भक्तपुर हो भन्नुभयो ।
उहाँले निर्वाचित साथीहरू धेरै अहिले हाम्रोबिच नभए पनि भक्तपुरको विकासको लागि उहाँहरूले गर्नुभएको योगदान खेर गएको छैन भन्नुभयो ।
“लामो समयको अवधिमा त्यतिबेला नेमकिपाबाट निर्वाचित कति जनप्रतिनिधिहरूले पार्टी छोडेर गए पनि अधिकांश जनप्रतिनिधिहरू अविचलित भइ देश र जनतामा समर्पित भएर काम गरिरहेका छन् । पार्टीको सही निर्देशन, जनताको साथ र समर्थनमा भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिई जनताका हितमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उहाँले भन्नुभयो, “चरम भ्रष्टाचार, हरेक क्षेत्रमा भागबन्डामा नियुक्ति, देशलाई २७ खर्बको ऋण बोकाएको र ७०÷८० लाख युवाहरू विदेश जान बाध्य पार्नु नै युवाहरूको आक्रोशको कारण हो ।”
अहिले विदेशी चलखेल बढ्न सक्ने हुँदा सबै सचेत हुनपर्छ, उहाँले भन्नुभयो ।
भनपाका पूर्वउपप्रमुख चैत्यराज शाक्यले पूर्व र वर्तमान जनप्रतिनिधिहरू भेला गरेर तःमुंज्या आयोजक समितिले सराहनीय कार्य गरेको बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व साबिक १५ वडाका वडाध्यक्ष एवं तःमुंज्या आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *