भर्खरै :

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – २

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – २

जून १९४५ मा एन्क्रुमा पुनः बेलायत पुगे । उनी लन्डनस्थित एक पश्चिमी भारतीय पत्रकार जर्ज पदमोरको बारे परिचित थिए । उनकै सहयोगले एन्क्रुमा पश्चिमी अफ्रिकी विद्यार्थी सङ्घ (East African Students’ Union) सँग सम्पर्कमा पुगे । कामको खोजी र डेराले लन्डनमा झन् ठुलो समस्या थियो । डेरा खोज्न घरघरको ढोका घच्घच्याउन उनी पुग्थे । घरपतिले ढोका खोलेर हेर्दै एक हब्सी देख्दा ‘कोठा खाली छैन’ भन्दै ढोका लगाउँथे । अनेक दुःख र हन्डर खाँदै उनी साढे दुई वर्ष बेलायतमै बसी काम गरे ।
एन्क्रुमा पश्चिमी अफ्रिकी विद्यार्थी सङ्घको उपसभापति चुनिए । अब उनी बिस्तारै घाना मात्र होइन, पश्चिमी अफ्रिका र सम्पूर्ण अफ्रिकाकै मुक्तिको बारेमा चिन्तनशील व्यक्तित्वहरू र सङ्गठनहरूसँग आबद्ध हुन पुगे । सेप्टेम्बर महिनामा पेरिसमा मजदुर सङ्घहरूको विश्व महासङ्घको सम्मेलन पनि भइसकेको थियो । तर एन्क्रुमा अफ्रिकाको भविष्य त्यसको स्वाधीनता मात्रै होइन, समाजवादसँग समेत गाँसिनु आवश्यक रहेकोमा प्रस्ट हुँदै गए । १९४५ अक्टोबर १५ मा ७३ वर्षीय विलियम डु बोइस (William Du Bois) को अध्यक्षतामा बेलायतको मेनचेस्टरमा पाँचौँ सम्पूर्ण अफ्रिकी अधिवेशन सुरु भयो ।
अफ्रिकी बुद्धिजीवीहरू, मजदुर सङ्घहरूका प्रतिनिधिहरू, राजनीतिज्ञहरू, मजदुर र विद्यार्थीहरूको प्रतिनिधिहरूको सहभागिता रहेको त्यस मेनचेस्टर अधिवेशनको महत्वपूर्ण विषय जातीय भेदभावको विरोध र अफ्रिकी राजनीतिक चेतनाको पुनः जागरण थियो । अधिवेशनमा बेलायती, फ्रान्सेली, बेल्जिमेली र अन्य युरोपेली साम्राज्यवादी देशहरूले पश्चिमी र अन्य अफ्रिकी देशहरूलाई उपनिवेश बनाई जनतालाई दास बनाएका हुन् भन्ने दृढ मत राखियो । त्यसबाट संसारमा फैलिरहेको प्रजातान्त्रिक र समाजवादी आन्दोलनको प्रभाव युवा अफ्रिकीहरूमा परेको स्पष्ट भयो ।
एन्क्रुमाद्वारा खेस्रा गरिएको त्यस अधिवेशनको ‘औपनिवेशिक जनताको घोषणापत्र’ मा भनिएको थियो – “हाम्रा सबै औपनिवेशिक देशका जनताले आफ्नो भाग्यको फैसला आफै गर्छौँ । सबै उपनिवेशहरू राजनीतिक र आर्थिक रूपमा विदेशी साम्राज्यवादी नियन्त्रणबाट स्वतन्त्र हुनुपर्छ ।
विदेशी शक्तिहरूको हस्तक्षेपबिना उपनिवेशका जनताले आ–आफ्ना सरकारहरू आफै चुन्ने अधिकार हुनुपर्छ । आफ्नो उद्देश्य प्राप्तिको निम्ति उपनिवेशका जनतालाई आफ्ना सबै उपायहरूले सङ्घर्ष गर्न आह्वान गर्छौँ ।
साम्राज्यवादी देशहरूको उद्देश्य शोषण हो । साम्राज्यवादीहरूको विरोधमा मजदुर र किसानहरूले हड्ताल र बहिष्कारको हतियारमार्फत लडाइँ सुरु गरौँ । मजदुर अधिकारको निम्ति लडौँ, प्रेस स्वतन्त्रता, वाक–स्वतन्त्रता, विचार स्वतन्त्रता, साहित्य र लेखपढको स्वतन्त्रताको निम्ति सङ्घर्ष गरौँ । संसारका सबै उपनिवेशका जनतासँग एक होऔँ ।”
पाँचौँ अखिल अफ्रिकी अधिवेशनको सन्देश राष्ट्रिय मुक्तिको निम्ति सङ्घर्षरत भारत, इन्डोनेसिया, भियतनाम आदि देशमा पुग्यो । निर्णय कार्यान्वयन गर्न पश्चिम अफ्रिकी राष्ट्रिय सचिवालयको कार्यालय लन्डनमा राखियो । त्यसको महासचिव एन्क्रुमा चुनिए । यसरी उनी घाना, पश्चिम अफ्रिका सबैको मुक्तिसँग जोडिए । अधिवेशनपछि उनले पेरिस गई लियोपोल सेँघोर (Leopol Senghor), फेलिक्स होउफोँ–बोइजी (Felix Houphoun-Boigxy), लामिन (Lamine Gueye) र सोउरस आपिथी (Sourous Apithy) जस्ता अफ्रिकी–फ्रान्सेली राष्ट्रिय सभाका सदस्यहरूसँग भेटे ।
सन् १९४६ को अगस्टको अन्त र सेप्टेम्बरको सुरुमा लन्डनमा एक सम्मेलन भयो । त्यस सम्मेलनमा सेँघोर, आपिथीजस्ता पश्चिम अफ्रिकी मूलका प्रतिनिधिहरू पनि सहभागी भए । त्यसपछि पश्चिम अफ्रिकी राष्ट्रिय सम्मेलन नाइजेरियाको राजधानी लागोसमा गर्ने उद्देश्यले छलफल गर्न एन्क्रुमा १९४८ मा पुनः पेरिस पुगे ।
बेलायतमा बसेर एन्क्रुमाले त्यहाँको महानिर्वाचन हेरे, बुझे र अन्तमा त्यहाँको श्रमिक दल (Labour Party) र रुढीवादी दल (Tories) बिच उपनिवेशको नीतिमा भिन्नता नभएको देखे । सङ्गठनको विचार प्रस्टरूपमा राख्न उनले मार्च १९४६ मा मासिक पत्रिका ‘नयाँ अफ्रिका’ प्रकाशित गरे । ‘जागृत अफ्रिकाको आवाज’ पत्रिकाको तल लेखिएको थियो भने ‘एकता र पूर्ण स्वाधीनता’ त्यसको उद्देश्य थियो । पत्रिका सबैले मन पराए । तर, आर्थिक अभावले ‘नयाँ अफ्रिका’ बन्द भयो ।
राम्रो र कठिन उद्देश्यको निम्ति एन्क्रुमा बेलायतको सबभन्दा सस्तो खाने पसलमा खान्थे । डेरामा मध्यरातमा फर्कँदा घरबेटीले जेजति खाना राखेको हुन्थ्यो त्यही खान्थे र नमाझेका भाँडाकुँडा माझ्थे । त्यसबेला अनेक प्रकारका सङ्गठनहरू थिए । अफ्रिकी युवाहरूका केही गुप्त वा खुला थिए भने कुनै षड्यन्त्रमा विश्वास गर्ने सङ्गठन थिए । ‘पश्चिम अफ्रिकी एकताको निम्ति क्रान्तिकारी र राष्ट्रिय स्वाधीनता’, ‘पश्चिम अफ्रिकास्तरीय राष्ट्रिय काङ्ग्रेस’, ‘अफ्रिकी समाजवादी गणतन्त्रहरूको सङ्घ’ जस्ता सङ्गठनहरू क्रियाशील थिए । ती सङ्गठनले एन्क्रुमाको नेतृत्वलाई स्वीकार्थे तथा ‘महापरिषद्’ को आदेश मान्थे । महिनाको हरेक २१ तारिखको दिन बैठक राखिन्थ्यो ।
सन् १९२० को दशकमा सोभियत सङ्घमा बसेका एक अफ्रिकी बुद्धिजीवी बाँकोल आउनर–रेनरले १९४६ मा लन्डनबाट ‘पश्चिम अफ्रिकी सोभियत सङ्घ’ नामक पुस्तक प्रकाशित गरे । त्यस्तै १९२० को दशकमै क्यासिले हेफोर्डले घाना वा गोल्ड कोस्टको स्वाधीनताको निम्ति पश्चिमी अफ्रिकी राष्ट्रिय काङ्ग्रेस स्थापना गरेका थिए । सन् १९३० तिर क्यासिले हेफोर्डको निधनपछि बन्द भएको त्यो सङ्गठनलाई पुनः सक्रिय बनाउने काम बेलायती र फ्रान्सेली उपनिवेशका प्रतिनिधिहरूले गरे ।
घाना अर्थात् गोल्ड कोस्टमा अफ्रिकीहरूले आफ्नो देशमा स्वराज गर्ने अधिकार हुनुपर्छ भन्ने उद्देश्य राख्ने एउटा राजनीतिक सङ्गठन थियो । त्यस सङ्गठनको नाम ‘संयुक्त गोल्ड कोस्ट सम्मेलन’ (United Gold Coast Convention-UGCC) थियो । त्यसका नेता अको आड्जी थिए । एन्क्रुमाको सं.रा. अमेरिका र बेलायतको गतिविधिबाट प्रभावित भएर त्यस सङ्गठनले आफ्नो महासचिव बन्न र महिनाको १०० पाउन्ड पारिश्रमिक दिनदिन पत्र लेख्यो ।
संयुक्त गोल्ड कोस्ट सम्मेलनबारे पश्चिमी अफ्रिकी सचिवालयमा पनि छलफल गरियो । सरल जीवन बिताइरहेका एन्क्रुमाको निम्ति ठुलो रकमको प्रस्तावले सबैलाई घोत्लिनुपर्ने स्थितिमा पु¥याउनु स्वाभाविक हो । गोल्ड कोस्टबाट फर्केका एक शिक्षकको अध्ययन अनुसार संयुक्त गोल्ड कोस्ट सम्मेलन एक पुँजीवादी ‘सम्भ्रान्त’ हरूको सङ्गठन थियो । त्यो साँचो उपनिवेशवादविरोधी आन्दोलन थिएन । यसकारण एन्क्रुमाले त्यसबारे पत्रहरूबाट जानकारी पनि लिँदै थिए । त्यस सम्मेलनका अर्का संस्थापक जोसेफ बि डानक्वाले एन्क्रुमालाई महासचिवको पद ग्रहण गर्न पत्रद्वारा आग्रह गरे ।
सल्लाहअनुसार एन्क्रुमा घानाको निम्ति बन्दरगाहमा पुग्दा प्रहरीलाई आफ्नो सबै जानकारी थाहा हुँदा आश्चर्यमा परे । तर, सरकारले उनलाई बेलायत छोड्न स्वीकृति दियो । बेलायती कम्युनिस्टहरूबारे सरकारले बढी ध्यान दिएको उनले थाहा पाए । सियरा लियन, लाइबेरिया र आत्री कोस्ट हुँदै डिसेम्बर १९४७ मा उनी घाना पुगे ।
एन्क्रुमालाई घानाको बेलायती उपनिवेशवादीहरूको सबै गतिविधि थाहा थिएन । सन् १९४६ मै बेलायत गभर्नरको मातहतमा एक संविधान (Burns Constitution) घोषणा भएको रहेछ । संविधानअनुसार ३१ जना सदस्य रहने विधायिका परिषद् गभर्नरको सल्लाहकार जस्तै हुने तथा सदस्यहरू जातीय, वन्यजातिका मुखिया र सम्पन्न व्यक्तिहरू मात्रै रहने प्रावधान थियो ।
एन्क्रुमालाई बोलाउने संयुक्त गोल्ड कोस्ट सम्मेलन १९४७ अगस्ट महिनामा स्थापना भएको थियो । त्यसमा ठुल्ठुला व्यापारी जर्ज ग्रान्टजस्ता काठ र कोका दानाको निर्यातकर्ता, वकिल, गाउँ र सहरका खानदानी व्यक्तिहरू र धनाढ्यहरू मात्रै थिए । तिनीहरू कानुनी ढङ्गले नै सरकारमा पुगेर माथिल्लो वर्गको हित चाहन्थे ।
संयुक्त गोल्ड कोस्ट सम्मेलनको भित्री कुरा बुझेपछि एन्क्रुमाले नयाँ सङ्गठनको आवश्यकता अनुभव गरे । जनवरी १९४८ मा युवाहरू, मजदुर, माझी र किसानको सङ्गठन, आइतबार–आइतबारको दिन राजनीतिक कक्षा सञ्चालन र पछिको निम्ति देशभरि आफ्नो सङ्गठनको विस्तारमा उनी लागे । सल्ट पोन्ड भन्ने टाढाको सानो सहरमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेर जङ्गल र पहाडहरूमा गई उनले सरल भाषामा भाषणहरू दिँदै सयौँ सङ्गठनहरू बनाए । ससाना समितिहरू बनाउँदै उनी अगाडि बढे । क्रोबो इडुसी, कोफी बुको र कोजो बोत्सिओजस्ता साथीहरूले उनलाई साथ दिए ।
सन् १९४८ को फेब्रुअरी महिनामा दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट लडाइँ लडेका ६५ हजार भूपू सैनिकहरूले रोजगारी र मूल्यवृद्धिलाई लिएर गभर्नरकै निवासमा विरोध प्रदर्शन गरे । बेलायती सरकारले राजधानी आक्रा र कुमासी सहरमा गोली चलाएर २० जनाको हत्या ग¥यो र २३० जनालाई घाइते बनायो । त्यसको दोष संयुक्त गोल्ड कोस्ट सम्मेलनलाई दिई एन्क्रुमा र अन्य नेताहरूलाई ‘कम्युनिस्ट षड्यन्त्र’ भनी सरकारले पक्राउ ग¥यो । बेलायती उपनिवेशवादीहरूले वास्तविकता थाहा पाएर एन्क्रुमा र अन्य नेताहरूलाई ६ हप्तापछि छोडे । त्यस पक्राउले एन्क्रुमा १९४८ को युवा आन्दोलनको नेताका रूपमा प्रतिष्ठित भए । उनलाई कुमासी जेलमा नजरबन्द गरिएको थियो । त्यस घटना वा उपद्रवमा दुई करोड पाउन्ड क्षति भएको बताइएको थियो ।
कारागारबाट छुटेर एन्क्रुमा देश भ्रमणमा निस्के, नारा थियो – ‘अब स्वराज चाहिन्छ ।’ कोका उत्पादक किसानहरू बेलायती उपनिवेशवादका विरोधी थिए । एन्क्रुमाले महिलाहरूको पनि मताधिकारबारे आवाज उठाए । घाना मात्रै होइन, अफ्रिकाकै निम्ति पनि त्यो विषय नयाँ थियो ।
बेलायती गभर्नर र उपनिवेशवादीहरूको नयाँ संविधान अनुसार ५५ वर्षका कानुन व्यवसायी हेनली कौसीको नेतृत्वमा ४० जनाको परिषद् गभर्नरको मनोनयनमा बनाउने योजना बन्यो । त्यसमा एन्क्रुमालाई राखिने थियो ।
एन्क्रुमाको परिवर्तनवादी दृष्टिकोणलाई बुझेर संयुक्त गोल्ड कोस्ट सम्मेलनको कार्यकारी समितिले एन्क्रुमालाई महासचिवबाट हटायो र बेलायत फर्कन १०० पाउन्ड दिने प्रस्ताव राख्यो । एन्क्रुमाले त्यो प्रस्तावलाई अस्वीकार गरे र पार्टी स्थापना गर्ने योजना बनाए ।
आक्रा सन्ध्या खबर
नयाँ राजनीतिक दल स्थापना गर्नुभन्दा पहिले ‘अगुवाहरूको समूह’, ‘प्रचार समूह’, ‘गतिविधि गर्ने समूह’, ‘सङ्गठनकर्ताहरूको समूह’ र ‘राजनीतिक शिक्षकहरूको समूह’ आवश्यक हुन्छ । यसकारण प्रचार, शिक्षण र गतिविधि गर्न पनि एउटा समाचारपत्र आवश्यक हुँदा एन्क्रुमा र अन्य ४–५ जना साथीहरू मिलेर ‘आक्रा सन्ध्या खबर’ १९४८ सेप्टेम्बरमा प्रकाशन गरे । त्यसको मुख्य उद्देश्य थियो – ‘मानिसको रूपमा बाँच्ने हाम्रो अधिकार छ’, ‘शासन गर्ने हामीसँग अधिकार छ’, ‘दासताको खतराको विरोधमा ‘स्वराज’ र ‘स्वराज नै आजको आवश्यकता’ हो ।
पत्रिका हातहातमा बिक्यो । सम्पादक मण्डलको कार्यालय अगाडि मानिसहरू झुम्मिन्थे । प्रेसको काम हातैले अक्षर मिलाउने र छाप्ने पुरानै शैलीको थियो । एन्क्रुमा र साथीहरू आफैले सबै काम गर्थे । पत्रिकाको भाषा अत्यन्त सरल र बुझ्ने खालको हुन्थ्यो ।
रुढीवादी नेतृत्वसँग अलग भएपछि एन्क्रुमाले राजनीतिकरूपले सचेत र सक्रिय युवाहरूलाई लिएर जून १९४९ मा तार्कवा (Tarkwa) भन्ने सहरमा एक सम्मेलन गरी ‘जनसभा दल’ (सीपीपी) भन्ने दल स्थापना गरे । ‘स्वराज’ को निम्ति सबै किसिमका संवैधानिक उपायद्वारा गोल्ड कोस्टका जनताको निम्ति सबै किसिमका दमनकारी रूपहरूलाई हटाएर सङ्घर्षशील सचेत राजनीतिक अगुवाहरूले जनताको सेवाको निम्ति एक प्रजातान्त्रिक सरकार स्थापना गर्ने उद्देश्य राखेका थिए ।
१९४९ जून १२ को दिन आक्राको रङ्गशालामा ६० हजार जनताको भेलामा एन्क्रुमाले पार्टीको स्थापना र उद्देश्यको घोषणा गरे । रातो, सेतो र हरियो रङ्गको झन्डामुनि अन्तिम साससम्म जनताको हितको निम्ति लड्ने उद्घोष गर्दा सहभागीहरू उनको वक्तृत्वकलाबाट मन्त्रमुग्ध भए । केही समयमै गाउँगाउँमा सङ्गठनहरू बने । उनी ४९ वर्षका प्रौढ थिए । ६ महिनाभित्र अर्थात् १९५० सम्ममा त्यस पार्टीको सदस्य सङ्ख्या १० लाखभन्दा बढी पुग्यो ।
जनवरी १९५० मा बेलायती सरकारको तर्फबाट रेजिनाल्ड सालोवेको नामक एक उच्चस्तरीय अधिकारी घाना पुग्यो । बेलायतीहरूले बनाएको संविधान लागू नगराएको र त्यसको विकल्पमा अर्कै प्रतिनिधिसभाको स्थापना गरी उपद्रव गरेको भनी उनले एन्क्रुमा र जनसभा दललाई दोष दियो । त्यसको विरोधमा एन्क्रुमाले बेलायती सामानको बहिष्कार, शान्तिपूर्ण प्रदर्शन र सभाहरूको आयोजना गर्न लगाए । साथै उनले जिल्ला जिल्लाको भ्रमण गरी मजदुर सङ्गठनहरूको महाधिवेशनमार्फत देशव्यापी हड्ताल गर्न लगाए । ११ जनवरीको दिन देश पूर्ण रूपले बन्द भयो । सरकारले दमनको उपाय अपनायो ।
सरकारले सेना र प्रहरीमार्फत् सङ्कटकाल लागू ग¥यो । धेरै नेता र कार्यकर्ताहरू पक्राउ परे । पत्रपत्रिका बन्द गरियो तर दमनले जनतामा झन् राजनीतिक चेतना बढ्यो । एन्क्रुमालाई आक्राकै जेम्स किल्लामा ३ वर्षको जेल सजाय भयो । सरकार समर्थक पत्रपत्रिकाहरूले एन्क्रुमा र उनको पार्टीलाई ‘कम्युनिस्ट’, ‘विध्वंशात्मक तत्वहरू’ र ‘हुल्याहाहरू’ जस्ता लाञ्छना लगाए तथा पार्टी फोर्ने कोसिसहरू गरे । उनी एक वर्ष बिना कलम–कापी थुनिए ।
१ जनवरी १९५१ को दिन बेलायती सरकारले घानामा अर्को संविधान (Coussey Constitution) स्वीकार भयो । फेब्रुअरी ८ को दिन नयाँ संविधानसभाको निर्वाचनको घोषणा ग¥यो । जनसभा दलका नेताहरूले कारागारमै बसेर महानिर्वाचनमा भाग लिने वा बहिष्कार वा संसदीय बन्दोबस्तको निन्दा वा सङ्घर्ष के गर्ने भन्नेबारे छलफल गरे । निर्वाचनलाई उपयोग नगर्दा प्रतिगामीहरूले फाइदा उठाउने हुनाले निर्वाचनमा भाग लिने र एन्क्रुमालाई आक्राको केन्द्रीय जिल्लाबाट उम्मेदवार बनाउने पार्टी बैठकले निर्णय ग¥यो ।
एन्क्रुमाले कारागारबाटै चुनावी घोषणापत्र तयार पारे । त्यसमा देशलाई औद्योगिकीकरण गर्ने, बेरोजगारी उन्मूलन गर्ने, शिक्षा र स्वास्थ्यलाई प्रजातान्त्रिक गर्ने, पुरुष र महिलालाई समान अवसर दिई समाजवादी राज्य निर्माण गर्ने विषय उल्लेख गरियो । अन्तमा शोषित र पीडित घानाबासीहरूलाई आह्वान गरियो – ‘आफ्नो देश जोगाउने मौका जनताकै हातमा छ । जनसभा दललाई मत देऊ†’ ५ देखि १० फेब्रुअरी १९५१ को बिहान निर्वाचन सुरु भयो ।
९ फेब्रुअरी १९५१ को बिहान जेलका अधिकारीहरूले एन्क्रुमालाई उनको निर्वाचन क्षेत्रमा ९८ प्रतिशत जनताले उनलाई मतदान गरेको तथा ३८ ओटा विधानसभाको स्थानमा उनको दलले ३४ स्थान प्राप्त गरेको बताए । कोम्ला आग्बेदी गेदमाह निर्वाचन प्रचारका नायक थिए ।
१२ फेब्रुअरीको दिन एन्क्रुमा जेलबाट छुटे । १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन आमन्त्रण ग¥यो । २० फेब्रुअरीको दिन विधानसभा बस्यो । त्यसको अध्यक्ष इसी क्विस्ट थिए । मार्च १९५२ को दिन एन्क्रुमाले प्रधानमन्त्रीको रूपमा संविधान संशोधन गर्न ‘भाग्यको प्रस्ताव’ राखे । ४५ मध्ये ३१ जनाको बहुमत थियो र ८ जना अनुपस्थित रहे । १० जुलाई १९५३ मा त्यो प्रस्ताव बेलायती राष्ट्रमण्डलबाट स्वीकार गरियो ।
पहिलो अफ्रिकी प्रधानमन्त्री
१२ फेब्रुअरीको दिन एन्क्रुमा जेलबाट छुटे । १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन उनलाई आमन्त्रण ग¥यो । एन्क्रुमा बेलायती गभर्नरको दरबारजस्तो क्रिश्चियनवर्ग किल्ला कहिल्यै पुगेका थिएनन् । नामै ‘सुनको किनार’ (Gold Coast) नाम भएको देशको गभर्नरको निवास सेतो ढुङ्गाले बनाएको र भित्रभित्र सजाइएको भवन थियो । बुर्जामा बेलायती राष्ट्रिय झन्डा फहराइएको थियो । गभर्नर आर्डेन क्लार्क र एन्क्रुमाको पहिलो भेट थियो । त्यो भेट जोगीदेखि भैँसी डराउने र भैँसीदेखि जोगी डराउने खालको थियो । वार्तामा ७ जना मन्त्रीहरू र एन्क्रुमाको जनसभा दलका ५ जना प्रतिनिधि बसेका थिए ।
संयुक्त गोल्ड कोस्ट सम्मेलन (UGCC) का बेलायत समर्थक नेताहरूले गभर्नरद्वारा आफूहरू ठगिएको अनुभव गरे । एन्क्रुमाको दलले ठुलो विजय हासिल गरे पनि उनी विनम्र थिए र प्रेस सम्मेलनमा उनले भने, “म बेलायतकै मित्र भएको छु भनेर प्रस्ट्याउन चाहन्छु । हामी बेलायती राष्ट्रमण्डलकै सदस्यको हैसियतमा रहन्छौँ । गणतन्त्रको मैले कल्पनै गरेको होइन ।” तर, घानाको स्थितिले पश्चिमी देशमा भुइँचालो गएको थियो ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *