भर्खरै :

१८ वर्षीया जोयाको बीरताबाट नेपालका नयाँ पुस्ताले सिक्नुपर्ने

१८ वर्षीया जोयाको बीरताबाट नेपालका नयाँ पुस्ताले सिक्नुपर्ने

पृष्ठभूमि
रुसमा जार शासकको अत्याचारविरूद्ध सन् १९१७ मा लेनिन र स्तालिनको नेतृत्वमा बोल्सेविक पार्टीले अक्टोबर समाजवादी क्रान्ति सम्पन्न ग¥यो । अक्टोबर समाजवादी क्रान्तिअघि जनताको जीवन ‘नारकीय’ थियो । अक्टोबर क्रान्तिपछिको सोभियत सङ्घमा संसारमा कसैले नसोचेको परिवर्तन भयो । कामदारवर्गका जनता पनि सुखी हुने रहेछन् र खुसी हुने रहेछन् भनेर संसारले थाहा पायो । त्यहाँको क्रान्तिको उज्यालोले धेरै देशलाई बिउँझायो अनि समाजवादी क्रान्तिको लागि धेरै देशका जनताले सङ्घर्ष गर्न थाले । त्यो परिवर्तनले नयाँ युगको सुरूआत सम्भव छ भनेर शोषित–पीडित जनतालाई बाटो देखाइदियो । बेलायतले ३ सय वर्षमा अमेरिकाले २५० वर्षमा अनि फ्रान्सले १५० वर्षमा गरेको विकास सोभियत सङ्घको समाजवादले ३०–४० वर्षमै सम्पन्न ग¥यो । संसारकै निमित्त यो निकै आश्चर्य र सम्भावनाको विषय बन्यो ।
महिलाका निमित्त त यो बन्दोबस्त ‘स्वर्गैसरी’ प्रमाणित भयो । शिक्षा र स्वास्थ्य पूर्णतः राज्यको जिम्मेवारीमा राखियो । सबै क्षेत्रमा उल्लेख्य मात्रामा महिलाको सहभागिता रह्यो । महिलाको प्रतिनिधित्व स्वास्थ्य क्षेत्रमा ९८ प्रतिशत, चिकित्सक ७५ प्रतिशत, पुस्तकालय हेर्ने (लाइब्रेरियन) ९० प्रतिशत, विद्यालय जनशक्ति ७५ प्रतिशत आदि तथ्यतथ्याङ्कले पनि आमूल परिवर्तन वा क्रान्तिले के परिणाम दिन्छ भन्ने स्पष्ट पार्छ । अक्टोबर क्रान्तिअघि महिलाहरूले मान्छेकै दर्जा पाएका थिएनन् । समाजवादको अस्थायी हारपछि रुसमा पुनः ७० प्रतिशत महिला बेरोजगार भए । सन् १९१७ भन्दा अगाडिजस्तै शरीर बेच्नुपर्ने अवस्थामा महिलाहरू पुगे ।
सन् १९२४ मा सोभियत जनताका प्रिय नेता लेनिनको निधन भयो । त्यसपछि स्तालिनको नेतृत्वमा समाजवादका उपलब्धि व्यवस्थित रूपमा अघि बढ्दै थियो । क्रममा जर्मनीको नाजीवादी हिटलरको सेनाले सोभियत सङ्घमाथि आक्रमण ग¥यो (सन् १९४१ को दोस्रो विश्वयुद्धको समयमा) । सो आक्रमणले १७ सय नगर र बस्तीहरू ध्वस्त भए; ७० हजार गाउँ धुलोपिठो भए; ३२ हजार कलकारखाना नष्ट भए; ६५ हजार किमि रेलको बाटो बिग्रियो; १ लाखभन्दा बढी सामूहिक खेतीका मेसिन, ट्रयाक्टर र गोदाम लुटिए; हजारौँ स्कूल–कलेज अस्पताल माटोमा परिणत भए; करोडौँ सोभियत जनता घरबारविहीन भए झन्डै साढे २ करोड रुसी जनता मारिए ।
स्तालिनको नेतृत्व र सोभियत जनताको साथ–सहयोगमा क्षत्विक्षत सोभियत सङ्घ हिटलरको नाजी सेनालाई परास्त गर्दै अझ बलियो स्वरूपमा उभियो । समाजवादी व्यवस्थाको तागत कस्तो हुन्छ भन्ने उदाहरण र प्रमाण सोभियत सङ्घले संसारमै प्रस्तुत ग¥यो । त्यसपछि क्रमशः चीन, प्रजग कोरिया, क्युवा, भियतनामलगायत देशमा पनि समाजवादी क्रान्ति सम्पन्न भए । कैयौँ देशमा स्वतन्त्रता र स्वाधीनताको मुक्ति आन्दोलन सम्पन्न भए ।
बहादुर छोरी जोया
सोभियत सङ्घलाई बचाउन र अझ बलियो गरी उभ्याउन योगदान गर्नेहरूमा जोया कस्मोदिम्यान्स्कायाजस्ता साहसी युवती–महिलाहरूको नाम पनि अग्रमोर्चामा आउँछ । सन् १९२३ सेप्टेम्बर १३ मा रुसको ओसिनो गाइमा जन्मिएकी जोया दोस्रो विश्वयुद्धताका रुसको राजधानी मस्को हिटलरको नाजी सेनाको कब्जा बेला १८ वर्षकी युवा थिइन् । युद्धका कठिन दिनहरूमा पाइला–पाइलामा मृत्युको डर थियो । बहादुर सोभियत जनता नाजीविरूद्ध सङ्घर्षरत थिए । सोभियत गुरिल्लाहरूलाई सहयोग गर्न साहसिला योद्धाहरू शत्रु नियन्त्रित क्षेत्रहरूमा समेत पस्थे । १८ वर्षीया जोया पनि निकै धैर्य र साहसका साथ हिटलरको सेना नियन्त्रित क्याम्पहरूमा आक्रमण गर्दै अघि बढ्थिन् ।
जोया प्रायः पुरूषको भेषमा हुन्थिन् । एक दिन जर्मन सेनाको क्याम्पमा आगो लगाउँदै हिँडेको अवस्थामा उनी पक्राउ परिन् । पुरूष भेषमा पक्रिएको जोयालाई केटीको स्वरूपमा पाउँदा जर्मन सेनाहरू तीनछक परेका थिए । सेनाहरूका हरेक प्रश्नको जवाफ उनी निडर भई फर्काउँथिन् । हिटलरको क्रुर सेनाले उनलाई सानी सम्झेर आत्मसमर्पणको लागि प्रस्ताव राख्दा उनले मानिनन् । गुप्त सूचना र जानकारी हासिल गर्न सेनाले निकै प्रयत्न ग¥यो तर जोया गलिनन् । अनि, उनीमाथि अमानवीय यातना बर्सन थाल्यो । उनको कलिलो शरीरमा कोर्दा बर्साइयो† हिउँमा नाङ्गै खुट्टा हिँड्न लगाइयो† उनका पिठ्यूँ, खुट्टा, हात अर्थात जिउभरि कोर्दाका निलडाम थिए† चिउँडोमुनि सलाई कोरी राखिदिन्थे; करौँतीले पिठ्यूँमा रेट्थे; बन्दुकको सङ्गीनको टुप्पाले घोच्थे । सहिनसक्नु यातना दिन्थे तर पानीे एक थोपा पनि दिन्नथे । यातना दिने सैनिकहरू थाक्थे तर जोयाले कुनै याचना गरिनन् ।
केही दिनपछि उनलाई पेट्रिस्चेभो गाउँको माझमा फाँसीको तयारी गरे नाजी सेनाले । उनको घाँटीमा ‘भूमिगत दलको सदस्य’ लेखेको तूल(ब्यानर) झुन्ड्याइदिए । त्यतिबेला नाजी सेनाहरू परिवर्तनकारीहरूलाई सजाय दिएको र फाँसीमा झुन्ड्याएको फोटो खिच्न र खिचाउन खुब सोख राख्थे; फोटो खिचाउनेहरूको भिड लाग्न थाल्यो । जोयालाई फाँसीमा झुन्ड्याइएको हेर्न गाउँले जनतालाई बाध्य पारिएको थियो । यस्तो समयमा समेत निकै साहसका साथ जोयाले सम्बोधन गरिन्, “तपाईँहरू किन दुःखी हुनुहुन्छ ? आफ्नो मन सानो नपार्नुहोस् ¤ हामीले जर्मनहरुसँग लड्नैपर्छ र तिनीहरूलाई सखाप पार्नुपर्छ ।”
सेनाले हतियारको भरमा नियन्त्रणमा राखेका जनतालाई जोयाले उत्साहित गर्दै बोलिन्, “मलाई हाम्रो मातृभूमि र तपाईँहरूको रक्षाको लागि मर्न पाएकोमा गौरवको अनुभव हुँदै छ ।”
जोयाले निकै बहादुरीका साथ जर्मन सेनाहरूलाई आत्मसमर्पण गर्न सुझाव दिइन् । सोभियत समाजवादको रक्षा आन्दोलनमा अन्तिम विजय सोभियत जनताकै हुने बताइन् । उनले भनेकी थिइन्, “मेरो फाँसीको बदला लिइनेछ । तिमीहरू मलाई मार्दैछौ तर याद राख म एक्ली छैन† मेरा पछाडि २० करोड रुसी जनता छन् । जनतालाई तिमीहरू मार्न सक्नेछैनौँ ।”
अन्ततः उनलाई फाँसी दिइयो । उनलाई फाँसी दिने सेनाहरू डरले कान्लामुनि हाम फाले ।यसरी शत्रु शिविरमा मारिने जोया आफ्नो सङ्घर्षमा विचलित भइनन् । उनले सङ्घर्षमा लाग्नेहरूप्रति विश्वासघात गरिनन् । शत्रु सेनाको कब्जाबाट देशलाई मुक्त गर्ने क्रममा मृत्युलाई बहादुरीपूर्वक अँगालिन् । देशमा आमूल परिवर्तनको निमित्त सम्झौताहीन सङ्घर्ष, निःस्वार्थ भाव र अर्थपूर्ण बलिदानी आवश्यक हुन्छ भन्ने शिक्षा र सन्देश उनले प्रवाह गरिन् ।
आज पनि नयाँ पुस्तामाझ जोया एउटा उदाहरणीय र अनुकरणीय पात्रको रूपमा प्रसिद्ध नाम हो; देशभक्त र परिवर्तनवादी नयाँ पुस्ताको हृदयमा बस्न सफल उनी महान् जनताकी बहादुर छोरीको रूपमा विश्वप्रसिद्ध छिन् । देशको लागि बहादुरीपूर्वक लडेर वीरगति प्राप्त गरेकी जोयालाई सोभियत सरकारले पहिलो ‘सोभियत नायिका’ (Heroines of Soviet Union) विभूषणले सम्मानित ग¥यो ।
जोयाजस्ता बहादुर छोरीहरू आज नेपाललाई पनि आवश्यक छ । आफ्नो स्वार्थको निम्ति होइन देशको आमूल परिवर्तनको निम्ति राजनीतिक सुझबुझका साथ सङ्घर्ष गर्ने युवा चाहिन्छ । त्यस्तो नयाँ पुस्ता तयारीको लागि सबैले आ–आफ्नो ठाउँबाट निःस्वार्थ रूपमा सेवा गर्नु जरूरी छ । नयाँ पुस्ताप्रति हाम्रो आशा एवम् विश्वासलाई जिउँदो राखौँ; अझ प्रगाढ बनाऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *