‘व्यवसायिक सुरक्षा चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न
- आश्विन ९, २०८२
भक्तपुर, ८ असोज । ख्वप फ्रेन्ड्सको आयोजनामा मङ्लबार समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सम्झन र गौरव गर्नलायक काम समर्पित भावका साथ गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले आशावादी दृष्टिकोण आवश्यक हुने चर्चा गर्दै राजनीतिको उद्देश्य सेवा र आमूल परिवर्तन हो भन्नुभयो ।
कुनै पनि घटनाको यथार्थ कुरा सतहमा आउन समय लाग्न सक्ने भएकोले हरेक घटनालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले भन्नुभयो, “आलोचनात्मक चेतको विकास महत्वपूर्ण हुन्छ र त्यसको निम्ति गहिरो अध्ययन, लामो सङ्घर्ष तथा अनुभव आवश्यक हुन्छ ।”
उहाँले आन्दोलन र सङ्गठनको लागि सिद्धान्त, उद्देश्य, नैतिकता र सफल नेतृत्व अत्यावश्क हुने धारणा राख्दै यी सबैको अभावमा हरेक आक्रोश या असन्तुष्टि व्यर्थ हुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य नहुने र भ्रष्टाचार शून्य व्यवस्थाको लागि समाजवादी व्यवस्था स्थापना नै एकमात्र विकल्प भएको उहाँले प्रस्ट पार्नुभयो ।
एमाले, काङ्ग्रेस, एमाओवादी पार्टीहरूले सरकारमा जाँदा गरेका भ्रष्टाचार, राज्यकोषको दोहन, भागबन्डा, पक्षपात, तस्कर तथा अपराधीहरूको संरक्षण, निर्वाचनमा पैसाको छेलोखेलो आदि कारणले नै भदौ २३ गतेको लागि बलियो आधार प्रदान गरेको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सीराम सुवालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सबैले अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा रोशन मचामसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply