भर्खरै :

सीमा अतिक्रमणविरुद्ध कोण सभा

सीमा अतिक्रमणविरुद्ध कोण सभा

दैलेख, ११ असोज । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिको आयोजनामा आठबिस नगरपालिकाको वडा नं ४ बाख्रेकोट बजारमा देशका विभिन्न भागसहित दार्चुला जिल्लाको भारत चीन सीमास्थित लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले लामो समयदेखि नेपाली सिमानामा अड्डा जमाई बसेको विरोधमा कोणसभा भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले गत भदौ २३ र २४ गतेको घटना घट्नुमा नेपाली काङ्ग्रेस, एमाले र माओवादी नै जिम्मेवार भएको उल्लेख गर्दै महत्वपूर्ण भौतिक संरचनामा आगजनी र तोडफोडमा विदेशी तत्व संलग्न भएको हुनसक्ने बताउनुभयो ।
उहाँले जनताले सिटामोल नपाएर मर्नुपर्ने अवस्था र बस्नको लागि ओत लाग्ने ठाउँको अभाव भइरहेको बेला देशको सार्वजनिक सम्पत्तिमा मस्ती गर्नेहरूले जनताको आवश्यकता कहिल्यै नबुझेकाले जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बखतबहादुर थापाले भारतीय विस्तारवादले नेपालका ७१ ठाउँमा सीमा अतिक्रमण गरेको र कालापानीमा सन् १९६२ बाट भारतीय सेना तैनाथ गरिरहेको छ भन्नुभयो । देशविरोधी र जनविरोधीहरू साथै व्यक्तिगत सम्पत्तिको मालिक बन्न खोज्नेहरू सच्चा कम्युनिस्टको बदनाम गर्न आएका नक्कली कम्युनिस्टहरूले असल काम नगर्ने उहाँले बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य मानबहादुर सिजापति र आठबिस नगर समिति सचिव नवीन सिजापतिले पनि भारतीय सीमा अतिक्रमणविरुद्ध बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *