पद, पैसा र प्रमाण
- आश्विन ११, २०८२
मध्यपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले विदेशी पैसाबाट सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट नेपाली जनता सचेत रहनुपर्ने बताउनुभयो ।
२७ औँ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिद्वारा मध्यपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एनजीओ र आइएनजीओहरू साम्राज्यवादी देशहरूका आर्थिक हतियार भएको हुँदा उनीहरूले आर्थिक सहयोगको नाममा ससाना र कमजोर देशहरूको राजनीतिमा हस्तक्षेप गर्ने बताउनुभयो ।
भदौ २३ र २४ गते भएको आन्दोलन र ध्वंसात्मक गतिविधिबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “यस्तो खालको आन्दोलन र ध्वंसात्मक गतिविधि एक दुई दिनको तयारीले सम्भव हुँदैन । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आफ्नो स्वार्थअनुसार कार्य गराउन वर्षौँदेखि तयारी गरिरहेका हुन्छन् ।”
नेपाली मन भएका मानिसहरूले सिंहदरबार, सर्वोच्च अदालत, अख्तियारजस्ता राज्यका महत्वपूर्ण प्रशासनिक केन्द्रमा आगो लगाउन सक्दैनन् । नेपालको सुरक्षा अङ्गलाई ध्वस्त पारी आर्थिक रूपमा नेपाल कब्जा गर्न चाहने तत्वहरूले नै यस्ता कार्य गरेका हुनसक्छन् ।
युगोस्लाभिया र सोभियत सङ्घ विभाजनमा पनि एनजीओ र आईएनजीओहरूको ठुलो भूमिका थियो । नेपालका वर्तमान मन्त्रीहरूको पृष्ठभूमिले पनि त्यही देखाइरहेको छ । यस्तो अवस्थामा प्रत्यक्ष रूपमा विदेशी हस्तक्षेप बढ्न सक्छ, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले चुनावमा पैसा बाँड्दै कार्यकर्ताहरूलाई पद, पैसा र शक्ति नै राजनीति भनेर सिकाउने र संस्कार दिने शासक पार्टीहरूको कारण देशमा समस्या आएको हो भन्नुभयो ।
नयाँ पुस्ताको आक्रोश र विद्रोह स्वाभाविक भएको बताउँदै उहाँले देशलाई ध्वस्त पारेर नेपालमाथि आफ्नो स्वार्थपूर्ति गर्ने तत्वहरूबारे बुझ्न जरुरी छ भन्नुभयो ।
विविध भाषा साहित्य समाजका सल्लाहकार सूर्यराम श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रले जनताको हित गर्न नसक्ने भएकोले समाजवादी गणतन्त्र स्थापना आवश्यक छ भन्नुभयो ।
उहाँले पठन संस्कृति विकासको निम्ति विविध भाषा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै देशभक्तिपूर्ण साहित्यहरू लेख्न युवा पुस्ता तयार हुनुपर्ने बताउनुभयो ।
२७ औँ विविध भाषा आयोजक समितिका संयोजक विजय प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा तुलसीकृष्ण प्रजापति र राजकुमार प्रजापतिले पनि शुभकामना दिनुभयो ।
यो वर्षको विविध भाषा साहित्य सम्मेलन कार्तिक ५ गते मध्यपुरथिमि नगरपालिका वडा नं ५ तुलाननीमा हुने आयोजक समितिले जनाएको छ ।
उक्त दिन बिहान भिन्तुना ¥याली, दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि आयोजक समितिले अनुरोध गरेको छ ।
Leave a Reply