भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे बेपत्ता
- श्रावण ५, २०८३
भक्तपुर, १२ असोज । भ.न.पा. ४ वडा दुमलाचा युवा बचत समूहको आयोजनामा आइतबार शुभकामना आदान–प्रदान तथा रक्तचाप, मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले योजना छनोटका लागि वडावासीहरूबाट प्राप्त राय सुझावअनुसार सम्पदा निर्माणका कार्यहरू हुँदै आएको जानकारी दिँदै पोखरी, ढुङ्गेधारा, पाटी मर्मत, मङ्गलतीर्थ जाने बाटोको लागि १० लाख बजेटमा काम हुन लागेको र केटामरु घाचामा पुल निर्माण गर्न रु. १ करोड ३५ लाखको बजेट तर्जुमा भएको बताउनुभयो ।
फोहरमैला व्यवस्थापन गर्न जनताको करबाट जम्मा २ करोड मात्र उठ्ने भए तापनि नगरपालिकाले बर्सेनि १३ करोड खर्च गर्दै आएको उल्लेख गर्दै सम्पदा निर्माण गर्दा जनताको श्रमदानबाट लागतभन्दा कम खर्चमा सम्पन्न भएको, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक कर्जा उपलब्ध गराएको, ४ करोडको छात्रवृत्ति वितरण गरेको र अहिलेसम्ममा १७ करोडभन्दा बढी रकमको शैक्षिक ऋण दिइसकेको धारणा व्यक्त गर्नुभयो ।
पूर्वकार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले चाड पर्वको बेला रक्तचाप नाप्ने, स्वस्थ जाँच गर्ने काम सराहनीय भएको बताउँदै खानपिन, शारीरिक व्यायाम, सरसफाइमा ध्यान दिन सके स्वस्थ जीवन जिउन सक्ने भनाइ राख्नुभयो ।
स्थानीय हरिसुन्दर सुवालले पद, पैसा र सत्ताकेन्द्रित राजनीतिले जनताको सेवा गर्न नसक्ने बताउँदै सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको नयाँ पुस्ताको आन्दोलनमा खरबौँ बराबरको सम्पदा नष्ट भएको बताउँदै भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
दुमलाचा युवा समूहका संस्थापक अध्यक्ष राजेन्द्र माकले सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ संस्थाले काम गर्दै जाने बताउँदै युवा पुस्तालाई देश र जनताको निम्ति निःस्वार्थ सेवा गर्ने खालको राजनीति नसिकाउँदा देश नै नरहने स्थिति आएको धारणा राख्नुभयो ।
दुमलाचा युवा समूहका निवर्तमान अध्यक्ष पञ्चरत्न सैँजूले सिद्धान्तबिनाको राजनीति देश र समाजमा अराजक हुने बताउँदै शोषणरहित समाज स्थापनाको निम्ति काम गर्दै जानुपर्ने बताउनुभयो ।
युवा समूहका अध्यक्ष राधेश्याम सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव दीपक जाकिबन्जार र सदस्य पूर्णचन्द्र जाकिबन्जारले पनि बोल्नुभयो ।
Leave a Reply