भर्खरै :

कर्मचारीहरू असल नागरिकको कर्तव्य निर्वाहमा सधैँ अग्रसर हुनुपर्ने

कर्मचारीहरू असल नागरिकको कर्तव्य निर्वाहमा सधैँ अग्रसर हुनुपर्ने

भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा सफाइ कर्मचारीहरूबिच दसैँको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू देशको जिम्मेवार नागरिक पनि भएको हुँदा असल नागरिकको कर्तव्य निर्वाह गर्न सधैँ अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सफाइ क्षेत्रका कर्मचारीहरू अरू कर्मचारीभन्दा धेरै खटिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले गरेका असल अभ्यासको स्वाभाविकरूपमा देशैभरि चर्चा एवं प्रशंसा भइरहेको बताउनुभयो ।
कम्युनिस्टहरूले निःस्वार्थ सेवा भावले काम गर्ने बताउँदै उहाँले जेनजी आन्दोलनको नाम दिएर नेपालमा विदेशी चलखेल बढिरहेकोतर्फ सचेत हुनुपर्ने बताउनभुयो ।
धरानका मेयरले भारतीय दूतावासको अनुमति लिएर मात्रै मन्त्री बन्न सक्ने भनेपछि आफूले मन्त्री नखाएको कुरा मिडियामा सार्वजनिक भइरहेको प्रसङ्ग जोड्दै उहाँले भाद्र २३ को घटनापछि नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप बढेको बताउनुभयो ।
कर्मचारीहरू कार्यालयभित्र मात्र नभई समाजका विविध गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “नगरको सरसफाइमा नगरपालिका एक्लैले केही गर्न सक्दैन† यसमा पनि जनताको साथ र सहयोग आवश्यक हुन्छ ।”
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले कर्मचारीहरूले थप जिम्मेवारी बहन गरी चाडपर्वमा नगरलाई सफा राख्न काम गर्नुपर्ने बताउनुभयो । भक्तपुर ऐतिहासिक र सांस्कृतिकरूपमा सम्पन्न नगर भएको चर्चा गर्दै उहाँले यहाँको शिक्षा, स्वास्थ्य, सरसफाइ आदि पनि देशकै लागि अनुकरणीय बनिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडा सदस्य एवम् वातावरण समितिका सदस्य विष्णुमाया कामीले दसैँ सभ्य र सुसंस्कृत ढङ्गले मनाउन शुभकामना दिनुभयो ।
कार्यक्रममा स्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवालले चाडपर्वमा अरू बेलाभन्दा धेरै फोहोर हुने हुँदा सफाइ कर्मचारीहरूको थप जिम्मेवारी रहने बताउँदै कर्मचारीको लगनशीलताले भक्तपुर नगर फोहर व्यवस्थापनमा अन्य नगरपालिकाले भन्दा पृथक पहिचान बनाउन सफल भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *