भर्खरै :

सादा जीवन उच्च विचार आजको आवश्यकता

सादा जीवन उच्च विचार आजको आवश्यकता

देशको राजनीतिक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हो । यो व्यवस्था समाजवादउन्मुख हुनुपर्छ भन्ने देशको संवैधानिक मान्यता हो । तर, देशको अर्थतन्त्र तथा शासन व्यवस्था समाजवादउन्मुख छैन । अहिले पनि समाजमा अन्याय, विभेद, शोषण र दमनबाट मुक्त छैन । समाजमा विकृति र विसङ्गति यथावत छ । कति उद्योगी, व्यापारी या व्यवसायीहरू दसैँलाई आयआर्जन गर्ने अभ्यासको मञ्च बनाउँछन् । दसैँको अवसरलाई आम्दानी गर्ने माध्यम बनाइन्छ । यो बेला कति व्यापारी, साहुमहाजनले कालोबजारी गर्ने, तस्करी गर्ने गरेको जनगुनासो नयाँ होइन । यही बेला गुणस्तरहीन, म्याद नाघेको सामान बढी बिक्री हुन्छ । दसैँको आडम्बर देखाएर बढीभन्दा बढी खर्च गर्ने प्रतिस्पर्धा पनि उपयुक्त होइन । समाजमा रहेका विकृति तथा दुष्कर्मको अन्त्यको सट्टा यही बेला फूर्सदको समय भनी जुवा तास खेल्ने, जाँड रक्सी खाएर हो–हल्ला गर्ने, झैझगडा गर्ने, शान्ति बिथोल्ने काम पनि दसैँको समयमा अधिक हुन्छ । बढ्दै गएको समाजको मूल्य र मान्यताविपरीतका कार्यहरूको अन्त्य गर्न हामी अघि बढ्नुपर्छ; हामीमा सत्मार्गमा हिँड्ने सद्बुद्धिको खाँचो छ ।
यो वर्गीय समाजमा हुने खानेको लागि आर्थिक रूपमा प्रत्येक दिन दसैँजस्तो हुन्छ, हुँदा खाने वर्गको निम्ति हरेक दिन अभावमा जीवन जिउनु परेको हुन्छ । नेपाली समाजमा ऋण दिएर दसैँ पर्व कटाउनेहरूको सङ्ख्या पनि विगतमा कमी छैन । गरिबको निम्ति दसैँ दशाजस्तै हुन्छ । अतः दसैलाई ऋण बोकाएर होइन मितव्ययी ढङ्गले मनाउनु उपयुक्त हुन्छ । दसैँ र तिहारमा धेरै खर्च गरेर वर्षैभरि ऋणको भार बोक्ने काम गर्नु उचित होइन । कति समाज र परिवारमा दातइ, साथीभाइको कारण नहुनेले पनि हुने परिवारले झैँ देखासिकी गर्दा समाजमा समस्या आएको देखिन्छ । कति परिवारका सदस्यहरू धेरै खर्च गरेर देखासिकी गरेपछि आफ्नो नाउँ रहने, मान बढ्ने विचार राख्छन् । उनीहरू यो दसैँमा यति उति खर्च भयो भनी गफ छोड्छन् । मानौँ धेरै खर्च गर्न सक्नु नै जीवनको उद्देश्य हो; त्यो नै इज्जत र प्रतिष्ठा हो । वास्तवमा सादा जीवन र उच्च विचार नै आजको आवश्यकता हो, सच्चा जीवनको परिचय हो ।
दसैँ भड्किलो र खर्चिलो नहोस् । मादक पदार्थ बढी सेवन गरेर हल्ला गर्नु दसैँ होइन । ऋण लिएर खर्च गर्दैमा मान, इज्जत बढ्ने होइन । देशमा कहिल्यै सङ्कट नहोस् । आर्थिक र राजनीतिक सङ्कटमा देश नफसोस् । देश ऋणमा नडुबोस् । देश झन्झन् परनिर्भर हुँदै नजाओस् । आन्दोलनको नाउँमा देशको सम्पत्तिमा तोडफोड र आगजनी गरेर देशलाई कङ्गाल बनाउने, गरिबको गरिब बनाउने काम कसैले नगरोस् । आन्दोलनमा हुने घुसपैठबाट सबै सचेत हुनुपर्छ । देशलाई असफल बनाउन प्रत्यक्ष या अप्रत्यक्ष रूपमा विदेशी शक्ति राष्ट्रहरू घुसिरहेका हुन्छन्; चालै नपाइकन भित्रभित्र काम गरिरहेका हुन्छन् । घुसपैठबाट भएको आन्दोलनले सफलता पायो भनी गर्व गर्नु या छाती फुलाउनु गलत हो । झूटको खेती गरेर, सिद्धान्त र विचार छलेर राजनीति गर्ने दलदेखि हामी जहिल्यै सावधान हुनुपर्छ । शासक दलका नेताहरूमा विवेक पलाओस् । मुलुकको स्थिति गएगुजे्रको होइन सृदृढ हुँदै जाओस्, विधि र विकासतर्फ अघि बढोस् ।
हरेक नागरिकको सम्पत्ति सुरक्षित हुनुपर्छ । अवैध सम्पत्ति जफत या राष्ट्रियकरण गर्नुपर्छ । अवैध सम्पत्ति राष्ट्रियकरण गरिएको भए कमसेकम देशको विकासमा उपयोग गर्न पाउँछ† उद्योगधन्दा खोलेर बेरोजगारीको समस्या समाधान गर्न सक्छ । हरेकले विगतको गल्ती र कमजोरीबाट पाठ सिक्नुपर्छ । देश बनाउने, देश जोगाउने र जनताको जीवन स्तर बढाउने काममा हाम्रो श्रम, समय र ज्ञान खर्चिनुपर्छ । दलगत र व्यक्तिगत स्वार्थमा अल्झेर देश बन्दैन; देशले विकास गर्न सक्दैन । यो दसैँको अवसरमा सबैमा देश र जनताको सेवा गर्ने बुद्धि पलाओस् । ‘मजदुर’ परिवार सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ । यस पत्रिकाका ग्राहक, पाठक, विज्ञापनदाता, लेखक, समालोचक, बुद्धिजीवी, पत्रिका वितरक, सहयोगी सबैमा हाम्रो शुभकामना छ । दसैँको समयमा ठुलठुला पत्रिकाहरू बन्द भए पनि ‘मजदुर’ दैनिक निरन्तर प्रकाशन भइरहनेछ । यहाँका विज्ञापन, लेख, रचना दिएर सहयोग भइरहने हाम्रो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *