भर्खरै :

जनस्वास्थ्यबारे केही छलफल

जनस्वास्थ्यबारे केही छलफल

अग्लो हिल जुत्ता अस्वस्थकर
चिकित्साविज्ञानको अध्ययनअनुसार घुँडाको दुखाइ र आर्थराइटिस् (अस्टोपोरोइसिस्सहित) को समस्या पुरुषको तुलनामा महिलालाई २ गुणाले ज्यादा हुन्छ । अधिकांश महिलाको जीवनशैली, हार्मोनल परिवर्तन या उतारचढाव, खानामा पोषण अपुग हुनु या खानपान नमिल्नु, उमेरअनुसारको स्ट्रेन्थ ट्रेनिङ या व्यायाम नहुनुलगायतका कारणले महिलामा यो समस्या ज्यादा देखिएको विश्लेषण छ ।
आधुनिक जीवनमा हिल जुत्ता पनि घुँडा र कम्मर दुखाइको कारण बनेको देखिन्छ । अग्लो हिलको नियमित प्रयोगले दीर्घकालमा मानिसको शारीरिक ढाँचा नै बदलिने विज्ञ चिकित्सकहरूको भनाइ छ । विशेषत : एयरलायन्समा काम गर्ने महिला अर्थात् एयरहोस्टेस्हरूका लागि बाक्लो मेकअप, फिटिङ स्कर्ट र अग्लो हिलको प्रयोग अनिवार्य गरिएको छ, यो अन्तर्राष्ट्रिय अभ्यास नै हो । कालान्तरमा यसले गम्भीर स्वास्थ्य समस्या निम्तिएको अध्ययन छ । यही कारण कतिले जागिर त्याग्छन् । विश्वमै यो समस्या देखापरेको बेला हालै, शानडोङ एयरलायन्सले आफ्नो नयाँ फ्लाइट अटेन्डेन्ट (हवाई सेवक) को पोशाक सार्वजनिक ग¥यो । क्रू सदस्यलाई पाइन्ट (trousers) वा घुँडासम्म लम्बिने स्कर्टमध्ये एउटा रोज्ने अनुमति दियो । जुत्ताका लागि अग्लो हिल (high heels) को सट्टा सम (flat) परेको सजिलो, नरम जुत्ता लगाउन सक्ने बनाइएको छ । यसले चिनियाँ एयरलायन्सहरूमा भइरहेको व्यापक परिवर्तन द¥साउँछ । एयरलायन्स क्षेत्रमा लामो समयदेखि प्रचलित सौन्दर्यप्रधान मान्यताविरुद्ध महिलाको आराम र सुरक्षामा जोड दिइएको यो अगुवाइ अनुकरणीय छ ।
धेरैको मनमा ‘फ्लाइट अटेन्डेन्ट’ शब्द आउँदा सधैँ चम्किलो पोशाक, हेबी मेकअप र अग्लो हिल जुत्ताको सम्झना हुन्छ । तर, अहिले कार्यस्थलको स्वास्थ्य, सहजता र सुविधाबारे चासो बढ्दो छ । त्यसकरण महिलाहरू अझ बढी व्यवहारिक पोशाकको माग गर्दैछन् । परम्परागत सौन्दर्य मापदण्डभन्दा कार्यक्षमता र स्वास्थ्यलाई प्राथमिकता दिनु नै व्यावहारिक परिवर्तन हुनसक्छ । एयरलायन्सका फ्लाइट अटेन्डेन्टहरूले यात्रुलाई सेवा मात्र दिँदैनन् बरु आपत्कालीन अवस्थामा व्यवस्थापन गर्ने र सबै यात्रुलाई सुरक्षित राख्ने जिम्मेवारी पनि लिन्छन् । फ्लाइट अटेन्डेन्ट जस्तै बालबालिकालाई पढाउने शिक्षक वा बैङ्कका महिला कर्मचारीहरूलाई पनि स्वास्थ्य र व्यावहारिक आवश्यकताअनुसारको उपयुक्त पोशाक व्यवस्था गर्न चीन प्रयास गर्दै छ । कार्यक्षेत्रमा विशेषगरी महिला कामदारलाई स्वस्थ र सहज पोशाकको व्यवस्था हरेक सहर र देशमा जरुरी छ । चिनियाँ प्रयासहरू नेपाली समाजको लागि निकै अनुकरणीय छन् ।
स्रोत — पेइचिङ रिभ्युको अगष्ट अङ्क

स्वास्थ्य नै धन हो
आधुनिक जीवनशैली र खानपानले मानिसको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदो छ । चीनको हुनान प्रान्तको खानपान प्रथाको कारण मानिसको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि राज्यबाटै पहल भएको जानकारी नेपाली समाजको निम्ति उपयोगी होला । मानिसको स्वास्थ्यमा नुन, चिनी, तेल र मैदाको अत्यधिक प्रयोगले प्रतिकूल असर पार्ने पोषणविद्हरूको भनाइ छ । हुनान प्रान्तले हालै जनताको आहारमा नुन, चिनी र तेलको प्रयोग घटाउने र हुनान परिकार (मसालेदार स्वादका लागि प्रसिद्ध) पकाउने नयाँ मापदण्ड प्रणाली तयार गर्ने उद्देश्यसहित तीनवर्षे कार्ययोजना स्वीकृत ग¥यो । यसअघि मार्च महिनामा कृषि तथा ग्रामीण मामिला मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयले संयुक्त रूपमा खाद्य तथा पोषण विकाससम्बन्धी (२०२५–३०) निर्देशिका प्रकाशित गरेको हो । निर्देशिकाले नुन, तेल र चिनीको सेवनलाई सीमित गर्ने या निकै कम गर्ने प्रस्ताव ग¥यो । खाद्य उपभोगलाई पोषणयुक्त बनाउने, रोग निवारण र स्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता दिने प्रस्ताव ग¥यो । यो सिङ्गो चीनका लागि मार्गदर्शक बनेको छ ।
औपचारिक तथ्याङ्कअनुसार चिनियाँ बासिन्दाहरूको दैनिक नुन सेवन सिफारिस गरिएको पाँच ग्रामको लगभग दोब्बर रहेछ र तेलको खपत पनि अत्यधिक छ । नुन र तेल बढी भएको आहारले उच्च रक्तचाप, मुटु तथा मस्तिष्कसम्बन्धी रोग, मोटोपना र मधुमेहजस्ता दीर्घकालीन रोग निम्त्याउन सक्छन् । नुन र तेलको सेवन घटाउनु प्रतिरोधात्मक उपचारका लागि किफायती उपाय हो जसले यी रोगहरूको जोखिमलाई प्रत्यक्ष न्यूनीकरण गर्न सक्छ ।
राष्ट्रिय स्वास्थ्य आयोग (NHC) को तथ्याङ्कअनुसार हाल चीनका ५१.२ प्रतिशत वयष्क तौल बढी भएका वा मोटा छन् । यदि कुनै प्रयास भएन भने २०३० सम्म चीनमा मोटोपनाको आँकडा जनसङ्ख्याको करिब ७० प्रतिशतसम्म पुग्ने प्रक्षेपण छ ।
खाद्य तथा पोषण विकाससम्बन्धी (२०२५–३०) निर्देशिकाले आहार बानी सुधार र खाद्य आपूर्ति गुणस्तर बढाउने प्रमुख लक्ष्य तय गरेको छ, पोषकतत्वले भरिपूर्ण खानेकुरातर्फ ध्यान दिन आग्रह गरेको छ । २०३० सम्ममा प्रतिव्यक्ति वार्षिक उपभोग लक्ष्य यसरी निर्धारण गरिएको छ — १४ किलो दलहन, ६९ किलो मासु, २३ किलो अण्डा, ४७ किलो दुग्धजन्य पदार्थ, २९ किलो समुद्री खानेकुरा, २७० किलो तरकारी, १३० फलफूल ।
मानव जीवन र स्वास्थ्यका लागि खाद्य र पोषण आधारभूत तत्व हुन् । २०१२ को १८ औँ CPC राष्ट्रिय महासभापछि चीनको समग्र कृषि उत्पादन क्षमता निरन्तर सुधारिएको छ, खाद्य खपत संरचना परिष्कृत छ र जनताको पोषण तथा स्वास्थ्य स्तर उल्लेखनीय रूपमा उकासिएको छ । तर, अझै उच्च गुणस्तरको खानेकुराको आपूर्ति र खपत अपर्याप्त छ, मानिसहरूको आहार बानी यथोचित छैन र ‘अत्यधिक पोषण’ तथा ‘अल्प पोषण’ दुवै समस्या एकसाथ विद्यमान छन् ।
जारी निर्देशिकाले प्रोटिन सेवनलाई विशेष प्राथमिकता दिएको छ, दैनिक कुल प्रोटिन सेवनको आधाभन्दा बढी भाग उच्च गुणस्तरीय प्रोटिनले हुनुपर्ने लक्ष्य तय गरेको छ । पोषणको हिसाबले उच्च गुणस्तरीय प्रोटिनका स्रोतहरूमा मासु, अण्डा, दुग्धजन्य पदार्थ, जलीय उत्पादन (माछा, झिँगा आदि) तथा सोयाबिन पर्दछन् । वयष्कका लागि दैनिक प्रोटिन सेवन शरीरको तौलको प्रतिकिलोमा करिब १ ग्राम हुनुपर्ने सिफारिस गरिएको छ भने ६५ वर्षभन्दा माथिका व्यक्तिका लागि करिब १.२ ग्राम हुनुपर्ने व्यवस्था छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (FAO) अनुसार, २०२१ मा चीनको प्रतिव्यक्ति दैनिक प्रोटिन आपूर्ति १२४.६१ ग्राम पुगेको छ, यसले अमेरिकालाई समेत उछिन्यो ।
निर्देशिकाले फाइबरयुक्त खानेकुराको आपूर्ति र खपत प्रवद्र्धन गर्ने कुरामा पनि जोड दिएको छ । आहारीय फाइबर शरीरले पचाउन नसक्ने कार्बोहाइड्रेट हो जसले ऊर्जा नदिए पनि पेट भर्ने महसुस गराउँछ, पाचन प्रणालीलाई सक्रिय राख्छ, मोटोपना र मधुमेहलाई रोकथाम तथा नियन्त्रण गर्छ । चिनियाँ पोषण समाजले निर्देशिकामार्फत दैनिक कम्तीमा ३००–५०० ग्राम तरकारी र २००–३५० ग्राम फलफूल सेवन गर्न सिफारिस गरेको छ । साथै जौ, कोदो, फापरजस्ता विविध अन्नको स्वाद र गुणस्तर सुधार गर्न र बाँसको मुना या तामा, समुद्री साग, खजुर र कन्ज्याक (konjac) जस्ता फाइबरयुक्त खाद्यको उपलब्धता बढाउन राज्यहरूलाई सुझाव दिएको छ ।
खानपानको समय खानपान जत्तिकै महत्वपूर्ण हुन्छ । दिनमा तीन पटक खाना खाने परम्परागत ढाँचा भए पनि बिहानको खाजा (breakfast) सेवन अब चिन्ताको विषय बन्दै छ । चिनियाँ पोषण समाजको तथ्याङ्कअनुसार अहिले १८.४ प्रतिशत मानिसहरूले कार्य व्यस्तताका कारण बिहानको खाजा छोड्छन् र यो सङ्ख्या साप्ताहिक २९.७ प्रतिशतसम्म बढ्छ । साथै बिहानको नास्तामा अन्न र आलुका परिकार ८९.४ प्रतिशत छन् जबकि दूध, सोयाबिन उत्पादन, फलफूल र तरकारी ५० प्रतिशतभन्दा कम मात्र खपत छ । यसले असन्तुलित आहार संरचना देखाउँछ । विशेषज्ञहरूले नियमित भोजनलाई सन्तुलित आहार र उत्तम पोषणका लागि अपरिहार्य मान्छन् । बिहानको खाजाले दैनिक ऊर्जा सेवनको २५–३० प्रतिशत हिस्सा दिनुपर्छ । नास्ता नखाँदा दिउँसो बढी खाने प्रवृत्ति हुन्छ जसले रगतमा चिनी नियन्त्रणलाई नकारात्मक असर पार्छ । बेलुकी झिसमिसेमै खाना खाएर हल्का हिँड्नुले पनि मानिसको शरिरमा चिनीको मात्र सन्तुलित हुने अध्ययन छ ।
सामाजिक वातावरणमा आएको परिवर्तन र जनजीवन शैलीले स्वस्थ आहारप्रति सचेतना बढाएको छ । जीवनको व्यस्तता र बढ्दो कामको दबाबका कारण धेरै मानिसहरू लामो समयसम्म कुर्सीमा बस्ने, शारीरिक व्यायाम नगर्ने र अनियमित खानपान गर्ने गर्छन् । घरमा पकाएर खाने बानी कम हुनु पनि स्वास्थ्यको लागि हानिकारक साबित भएको छ । फोम बक्स (polystyrene box) मा पाइने अर्थात् प्याकेट खाना, जङ्क खानामा प्रायः तेल, नुन र चिनीको मात्रा अत्यधिक हुन्छ । सहरीकरणले मानिसलाई विविधतापूर्ण खाने विकल्प दिएको भए पनि बढी प्रशोधित (processed) वा अस्वस्थ खानेकुराले प्राणघातक रोगसमेत निम्तिँदै छ । स्वास्थ्यका लागि प्रोटिन, फाइबर र सन्तुलित भोजनलाई प्राथमिकता दिनु जरुरी हुन्छ । यसका लागि चिनियाँ सरकार राज्यस्तरबाट पहल गर्दै छ ।
खाद्यान्न विदेशबाट आयात गरी, विषादीयुक्त खाद्य सामग्री उपभोग गर्न बाध्य नेपाली समाजका लागि चिनियाँ सरकारले जनताको स्वास्थ्यको लागि गरेका पहल सुन्दा अचम्म पनि लाग्ला । वास्तवमा जनताको स्वास्थ्यको चासो हरेक राज्यलाई हुनुपर्छ । राज्य उदासीन बनेको बेला स्वस्थ खानपानको संस्कृति समुदायबाटै बसाल्न जरुरी छ । चाडवाडको समयमा पनि मानिसले पोषणको अनुपात मिलाउन सके स्वास्थ्य समस्या कम देखापर्ला ।
स्रोत — पेइचिङ रिभ्यु, जून १२, अङ्क ६८
प्रस्तुति— सर्गश्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *