दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सरकार किन मौन ?
- भाद्र ८, २०८३
तपाईँको लोकप्रिय दैनिकमार्फत हामी देको मिवा इतापाखे आवास योजनाका बासिन्दाहरूले अनुभव गरेको ‘विकास मोडल’ बारे केही चर्चा गछौँ ।
१. सडक होइन ‘मनसुनको जलमार्ग’
वडा अध्यक्षको ‘बहुमूल्य समय’ अभावले गर्दा, बर्खाको समयमा हाम्रो सडक नै ‘लहरै बग्ने जलमार्ग’ मा परिणत हुन्छ । खोलाको पानी सडकबाटै बग्दा, हालै पिच गरिएको सडक पनि क्षतिग्रस्त हुने र भत्किने सम्भावना बढेको छ । खोला किनारमा रहेका रुखहरू ढलेर पानीको बहावमा अवरोध सिर्जना हुने र बस्तीमा बाढीको जोखिम बढाउनेप्रति उहाँको उदासिनता साँच्चै सराहनीय छ ।
२. ढल होइन, ढलमल
ढलको समस्या त छँदै छ, त्यसमाथि उहाँले ढलको मेनहोलमा ढक्कनी नै नराखेर हामीलाई ‘जीवनको जोखिम’ प्रति सचेत गराउनुभएको छ । खुला मेनहोलहरू सवारी चलाउनेहरूका लागि ‘सावधानीपूर्वक पार गर्नुपर्ने चुनौती’ हुन् । ढक्कनी नहुँदा कसिङ्गर सजिलै ढलमा पुरिएर जाम हुने र पानी सडकमा आउने छ ।
३. बिजुली होइन, ‘आत्मनिर्भर अँध्यारो’
विद्युत प्राधिकरण र वडा कार्यालयबाट समाधानको आशा त्यागेपछि हामीले २०–३० वटा फलाम र बाँसका पोलहरू गाडेर करिब ४०० मि. दूरीबाट बिजुली बाल्ने अस्थायी र जोखिमपूर्ण प्रबन्ध गरेका छौँ । तर, हुरी–बतासमा यी कमजोर पोलहरू ढल्ने र तार चुँडिने सम्भावना हुन्छ । फलस्वरूप सडक बत्ती नभएर हाम्रो बस्ती चोरी–चकारीको ‘केन्द्रबिन्दु’ बनेको छ । वडा अध्यक्षले हामीलाई ‘सावधानीपूर्वक र सतर्क’ भएर जीवनयापन गर्न प्रेरित गर्नुभएको रहेछ ।
४. वडा कार्यालय समस्या सुन्ने शाखा !
वडा अध्यक्षको कार्यालयलाई हामी अब ‘समस्या समाधान केन्द्र’ को रूपमा होइन, मात्र समस्या सुनाउने केन्द्र’ को रूपमा चिन्छौँ । किनकि, पटक–पटक मौखिक र लिखित जानकारी गराउँदा पनि उहाँ समस्याको समाधानमा होइन, बरु ’विलक्षण मौनता’ धारण गर्नमा व्यस्त हुनुहुन्छ ।
सडकमा खाल्डा, खुला मेनहोल, हुरी बतासले ढल्ने बिजुलीका बाँसका पोल र बढ्दो चोरी–चकारीका घटनाहरूका कारण स्थानीय स्थानीय बासिन्दाहरूलाई दैनिक जीवनयापनमा मानसिक र शारीरिक तनाव भइरहेको छ । वडा अध्यक्षको यो ‘नयाँ मोडेल’ ले हामीलाई असुरक्षा र त्रासमा बाँच्न सिकाइरहेको छ । यो तनावको उपहारको लागि पनि हामी उहाँप्रति आभारी छौँ।
वडा अध्यक्षज्यू, तपाईंको ‘व्यवस्थापन शैली’ ले गर्दा हामीलाई असुविधा र असुरक्षा महसुस भएको छ ।
हामी वडा अध्यक्षलाई विनम्र अनुरोध गर्दछौँ कि उहाँले हामीलाई ‘यस्तो विशिष्ट सुविधा’ बाट चाँडोभन्दा चाँडो ‘मुक्त’ गरी सुरक्षित र सहज नागरिकको जीवन जिउने अवसर प्रदान गर्नुहुनेछ ।
– सत्य सुवाल तथा स्थानीय बासिन्दा
Leave a Reply