भर्खरै :

निःस्वार्थ रूपले सेवा नगरेको हुँदा आजको सङ्कट उत्पन्न

निःस्वार्थ रूपले सेवा नगरेको हुँदा आजको सङ्कट उत्पन्न

काठमाडौँ, १६ असोज । गएको भदौ २३ र २४ गते नयाँ पुस्ताका युवाहरूको सडक प्रदर्शनको माग सामाजिक सञ्जाल खुला गर्ने र भ्रष्टाचारशून्य सुशासन थियो । अमेरिकी कम्पनी ट्वीटरका मालिक इलन मस्कले भ्रष्टाचारी सरकार भएको देशमा आफ्नो कम्पनी दर्ता नगर्ने चेतावनी दिएका थिए । भदौ २३ गतेको सडक प्रदर्शनमा काठमाडौँमा १७ जना र सुनसरीमा २ जनाको मृत्यु भएपछि नेकाको समर्थनमा बनेको ओली सरकारले सामाजिक सञ्जाल खुला गरेको थियो । १९ जनाको ज्यान गएको हुँदा सडक प्रदर्शन भदौ २४ गते पनि चालु रह्यो ।
नयाँ पुस्ताका बीसभन्दा बढी समूह भएको सार्वजनिक भयो । नयाँ पुस्ताका अनुसार भदौ २३ र २४ गतेको सडक प्रदर्शनमा घुसपैठ भयो । परिणाम संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालतलगायत देशका कतिपय जिल्लामा सरकारी भवन खरानी भए । यसबारे वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले बताए – नयाँ पुस्ताको सडक प्रदर्शनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसमेत माग थपियो र सरकारी भवन जलाइयो । यसको अनुसन्धान हुनु जरुरी छ । प्रशासनिक लापरबाही भएको देखिन्छ ।
इन्द्र क्षेत्रीको रिलमा नयाँ पुस्ताको गोप्य बैठकबारे छोटो भिडियो सार्वजनिक भयो । सो बैठकमा सहभागी अधिकांशले अनुहारमा कालो कपडाले ढाकेका थिए । नयाँ पुस्ताका नेता दाबी गरेका सुदन गुरुङ हालका दिनमा प्रहरी सुरक्षा गाडीसहित हिँडिरहेको भिडियो पनि सार्वजनिक भइरहेको छ । यही बेला एक जना नयाँ पुस्ताकी छोरीले देश जलाएर राज गर्न तँछाडमछाड गर्दै लेण्डुपहरू बोलेको पनि सार्वजनिक भयो । अर्काे एक केटाले “माग पूरा नभए सुशीला भाग्ने अवस्था आउँछ” बोलेको भिडियो पनि सार्वजनिक भयो । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने अहिलेको नयाँ पुस्ताको मागको रूपमा सार्वजनिक भइरहेको छ ।
भदौ २४ गते राति सेनापतिसँगको छलफलको सिलसिलामा नेपाली सेनाको मुख्य कार्यालय अगाडि भेला भएका नयाँ पुस्ताबिच सुशीला र हर्क साम्पाङमा विभाजित हुँदा कुटाकुटसमेत भएको सार्वजनिक भएको थियो । भदौ २५ र २६ गतेको अवधिमा कुलमानले हर्क साम्पाङलाई सरकारमा नजाने, केही गर्न नसक्ने बताएको पनि सार्वजनिक भयो ।
एक पूर्वमन्त्रीले कुलमान घिसिङले लोडसेडिङ हटाएको होइन भने । यथार्थ घिसिङ एमसीसीका एक बाहक नै भएको सार्वजनिक भइरहेको छ ।
एमसीसीअनुसार नेपालले अमेरिकी नीति र कानुन पालना गर्नुपर्दछ । नयाँ पुस्ताको माग संविधान सिध्याउने होइन; सुशीलालाई सडकबाट प्रधानमन्त्री बनाउने काम भयो । यसको अनुसन्धान हुनुपर्ने वरिष्ठ पत्रकार दाहालको हो ।
नयाँ पुस्ताका मिराज ढुङ्गाना र प्रवेश दाहालको भनाइ बाहिर आइरहेको छ । भदौ २४ गतेपछि हप्ता दिनभन्दा बढी ती दुवैको मोबाइल बन्द भएको पनि सार्वजनिक भयो । एक घाइतेले असन्तुष्टबाट भ्रष्टाचारीलाई कारबाही गर्ने थलो संसद् भवन जलाएको तर सिंहदरबार र सर्वाेच्च अदालत भवन जलाउने लक्ष्य नभएको बताएका छन् ।
कतिपय मानिसहरू अन्तरिम संविधान बनाएर नयाँ पुस्ताको मागलाई सम्बोधन गर्नुपर्ने बताउँछन् । जनताका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुँदैमा देश र जनताको समस्या समाधान हुने होइन । जनताको समस्या समाधान गर्न उत्पादनका मुख्य मुख्य स्रोत र साधन राष्ट्रियकरण गर्नु जरुरी छ । नेपाली युवालाई देशभित्र रोजगारी दिनुपर्दछ भने व्यक्तित्व विकासमा समान अवसर दिनुपर्दछ ।
पैतीस वर्षयता सरकारमा गएका दल, प्रधानमन्त्री तथा मन्त्री भएकाहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा आजको यो सङ्कट देखिएको हो । नेपाली जनता सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *