भर्खरै :

इतिहासमा गायव पारिएका महिलाका पक्षमा

इतिहासमा गायव पारिएका महिलाका पक्षमा

बेलायती इतिहासमा महिलाको योगदान हेर्न टम हल्यान्डका इतिहास ठेली हेर्नु पर्दैन । न त डोमिनिक स्यान्डब्रुकलाई नै पढिरहनु आवश्यक छ । खासमा महिलाको योगदान बुझ्नका लागि हरेक व्यक्तिले आफ्नी हजुरआमाका कुरा सुन्ने र तिनका डायरी हेरे पुग्ने इतिहासकार फिलिप्पा ग्रेगोरीले बताएकी छन् ।
नर्मल विमेन ः मेकिङ हिस्ट्री फर ९०० इयर्स तथा द विमेन अफ द कजिन्स वारजस्ता प्रख्यात इतिहासकी लेखिका तथा दुई दर्जन ऐतिहासिक उपन्यासकी लेखिका ग्रगोरीले साहित्य महोत्सव हे फेस्टिभलमा बोल्दै भनिन्, “तपाईँले आफ्नी हजुरआमाले विश्वयुद्धमा के भोगिन्, तपाईंकी आमाले महामन्दीका वर्षहरू के कसरी झेलिन्, कसरी अहिलेसम्म बाँच्न सफल भइन्, ती कथा नै वास्तवमा इतिहास हो ।”
उनले थपिन्, “ती अनुभव, तिनका कथाहरू प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धका बेला के गरे भन्ने कथाभन्दा रोचक हुन्छन् । त्यसैले हजुरआमालाई सोध्नुस्, उहाँले लेख्नुभएको डायरी उठाउनुस् र पढ्न थाल्नुस् । ती अनुभव, ती डायरी इतिहासको नजरमा सबैभन्दा महत्वपूर्ण कच्चा माल हुन् ।”
उनले आफूले लेखेका अनेकन् उपन्यास र इतिहासका पुस्तकभन्दा नर्मल विमेन ः ९०० इयर्स अफ मेकिङ हिस्ट्र किताबमाथि गर्व लाग्ने बताइन् । उनले प्रायः बेलायती ट्युडर शासनकालमाथि लेख्ने गरेकी छन् ।
नर्मल विमेनमा त्यस्ता महिलाका बारेमा खोजी गरिएको छ, जसका बारेमा मुख्यधाराका इतिहासकारहरूले कुनै भाउ दिएका थिएनन् । सो पुस्तकमा उनले कम जानिएका हाइवेविमेन, डाकु महिला, महिला सैनिक, अन्वेषक तथा आन्दोलनकारी महिलाहरूमाथि विस्तारमा चर्चा गरेकी छन् । त्यसमाथि निकै चर्चामा रहने हाइवेविमेनको सन्दर्भ निकै रोचक तरिकाले उठाएकी छन् ।
सन् १७ र १८ औँ शताब्दीताका बेलायतमा त्यस्ता महिलालाई हाइवेविमेन भनी चिनिन्थ्यो, जसले पुरुषको भेष धरेर आफूलाई नचिन्ने तुल्याई हाइवेमा डकैती गर्ने गर्थे । त्यो बेलाका कुख्यात हाइवेविमेनहरूमा लेडी क्याथरिन फेरेर्स, मेरी फ्रिथ (मोल कटपर्स) र सुसान हिग्सले त्यो बेला निकै ठुलो चर्चा बटुलेका थिए ।
नर्मल विमेन लेख्न उनलाई १० वर्ष लागेको थियो । १० वर्षे मिहिनेतपछि उनले बेलायती इतिहासमा गुमनाम पारिएका महिलाका बारेमा प्रामाणिकरूपमा जानकारी ल्याउन सफल भएकी थिइन् ।
यो पुस्तकका बारेमा लेख्ने प्रेरणा उनले एउटा अनुसन्धानको क्रममा पाएकी थिइन् । उनले अनुसन्धानको क्रममा ७० मिटर लामो कालिगढी गरिएको युद्धको छवि फेला पारेकी थिइन् । सन् १०६६ मा प्रख्यात राजा विलियम अफ नर्मान्डीले आक्रमण गरेको घटनालाई अङ्कित गरिएको थियो । उक्त कालिगढीमा ६३२ पुरुष, २०० घोडा, ५५ कुकुर र ५०० अन्य जनावरसँगै चराहरू पनि अङ्कित गरिएका थिए । अरु त अरु, त्यहाँ ९३ वटा विभिन्न आकार र रङका लिङ्गहरू पनि अङ्कित थिए ।
त्यत्रो विशाल चित्रमा जम्मा पाँच जना महिलाहरू थिए । तिनलाई सेनाले धम्क्याइरहेका वा झाङ्गलझुङ्गल पारेका देखिन्थे ।
“जब तपाईँले इतिहासमा कसैलाई पार्नु हुन्न वा तिनलाई ठाउँ दिनु हुन्न, त्यो बेला तिनको योगदान के थियो भन्ने बुझ्न निकै कठिन हुन्छ,” इतिहासकार ग्रेगोरीको भनाइ छ ।
अर्की इतिहासकार बेटानी ह्युजको आकलनअनुसार ऐतिहासिक रेकर्डमा महिलाबारे वा महिलाको योगदानबारे जम्मा ०.५ प्रतिशत मात्र अङ्कित गरिएको छ । जबकि सधैँभरि महिलाको जनसङ्ख्या कम्तीमा आधा हुने गरेको छ ।
यस्तो किन हुन्छ त ?
ग्रेगोरी भन्छिन्, “तपाईँलाई आश्चर्य लाग्ला, महिला इतिहासकार नभएका कारणले यस्तो हुन्छ । पुरुषहरूको नजरमा कहिल्यै पनि महिलाको योगदान पर्दैन । उनीहरूलाई महिलाका योगदान अन्यको तुलनामा कम नै लाग्छ ।”
उनले उदाहरणका रूपमा पछिल्लो समय लेख्दै गरेको र आउँदो महिना बजारमा आउन लागेको बोलिन ट्रेटर पुस्तकको उदाहरण दिइन् । उनी भन्छिन्, “जहिले पनि जेन बोलिनलाई एउटा अपराधी महिलाका रूपमा चित्रित गरिन्छ । उनी एन बोलिनकी भाउजू थिइन् । पछि उनले मृत्युदण्ड पनि पाइन् । एन र जेनबिचको दुश्मनीलाई लिएर जहिले पनि जेन खलनायिका बनाइने गरिन्छ । जबकि इतिहास खोतल्ने हो भने उनी खलनायिका होइनन् ।”
उनी खलनायिका हुनुको मुख्य कारण पुरुष इतिहासकारहरूले महिलाको कोणबाट सोच्न नसक्नु नै रहेको इतिहासकार ग्रेगोरीको भनाइ छ । त्यसका लागि उनले सारा पुरुष इतिहासकारका किताबलाई लात हानेर सुरुदेखि अनुसन्धान गरी यो पुस्तक तयार पारेको उनी बताउँछिन् । जब उनले सुरुदेखि अनुसन्धान थालिन्, उनी खलनायिका होइन, नायिका थिइन् भन्ने प्रमाणित हुन थालेपछि पुस्तक लेख्न थालेको उनी बताउँछिन् ।
– ‘द टाइम्स’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *