साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – २
- आश्विन २०, २०८२
४५ औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न
भक्तपुर, १९ असोज । ‘जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ भक्तपुर नगरपालिका वडा नं २ स्थित नःपुखु परिसरमा भएको दुईदिने नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आइतबार राति सम्पन्न भयो ।
देशभक्त राजनीतिज्ञ, सीमाविद्, संस्कृतिविद्, इतिहासविद्, कानुनविद्, शिक्षाविद्, भाषाविद्, चिकित्सक, कलाकार, गायक, साहित्यकार, बुद्धिजीवी, राजनीतिक विश्लेषक तथा विभिन्न विज्ञसहित हजारौँको सहभागितामा सम्पन्न उक्त साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देशमा जेन जी आन्दोलन उठ्नु, त्यसमा देशी र विदेशी प्रतिक्रियावादीहरूको घुसपैठ हुनुमा २०४६ सालयता पटक–पटक सरकारको नेतृत्व गरेका नेकां, एमाले, माओवादीलगायत पुँजीवादी पार्टीहरू जिम्मेवार भएको बताउनुभयो ।
समाजिक सञ्जाल खुला हुनुपर्ने र देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने न्यायोचित माग राखी आन्दोलन गरेका नयाँ पुस्ताको आन्दोलन देशी विदेशी शक्तिहरूले अपहरण गरेको, योजनावद्धरूपमै देशका महत्वपूर्ण कार्यालय–भवनहरू आगजनी गरेको, देशव्यापीरूपमा आगजनी गरी आतङ्क सिर्जना गरेको र देशमा राजनीतिक अन्योल सिर्जना गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले कमजोर सरकार भएको अवस्थामा देशको सार्वभौमसत्तामाथि प्रहार हुनसक्ने र देश नै बाँकी नराख्ने विदेशी षड्यन्त्र समेत हुनसक्नेप्रति सम्पूर्ण देशभक्त नेपाली जनता सजग हुनुपर्नेमा जोड दिँदै जनताको खबरदारीले मात्र विदेशी षड्यन्त्र असफल हुने र देश जोगिन सक्ने बताउनुभयो ।
उहाँले एमाले–काङ्ग्रेसको सरकारले सङ्कटको बेलामा सेना, प्रहरी र कर्मचारीतन्त्र परिचालन गर्न नसक्नु ती पार्टी र नेताहरूको अलोकप्रियताको पराकाष्ठा भएको र यस्तो स्थिति निम्तिनुमा तिनीहरू सरकारमा रहेर जनताको सेवा गर्नुको साटो निरन्तर पदीय भागबन्डा गर्नु, कमिसनखोरी र भ्रष्टाचारमा लाग्नु प्रमुख कारक रहेको बताउनुभयो ।
सिंहदरवारमा आगो लगाउन सफल हुनुमा सेनाभित्रकै सदस्यहरूको संलग्नता हुनसक्ने आफ्नो तर्कलाई कतिपयले मन नपराएको तर सही छानबिन भएमा त्यो पुष्टि हुने उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले देश र जनताको निःस्वार्थ सेवाबाहेक नेमकिपाको अर्को कुनै उद्देश्य नभएकोमा जोड दिँदै हामी प्रधानमन्त्री र मन्त्री बन्नका लागि राजनीति गरिरहेका होइनौँ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले साहित्य बहुमत कामदार वर्गको हितको निम्ति हुनुपर्ने र त्यसले जनताको सेवा गर्नुपर्ने धारणा राख्दै शासक र शोषक वर्गको साहित्यले शोषण र उत्पीडनलाई पनि जनताको सेवा भनेर दुष्प्रचार गरिरहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्र र सिद्धान्तअनुसार सबै देश सार्वभौमिकताको हिसाबले बराबर भएकोले सबैमाथि समान ऐन कानुन लागु हुनुपर्ने भए पनि पश्चिमा साम्राज्यवादी र पुँजीवादी देशहरूले त्यसलाई व्यवहारमा मानिरहेका छैनन् भन्नुभयो ।
‘अमेरिका प्रथम’ नारा र नीतिले संयुक्त राष्ट्रसङ्घभन्दा अमेरिका ठुलो र महत्वपूर्ण मान्ने प्रस्ट पार्दै उहाँले अहिले राष्ट्र सङ्घलाई सबैभन्दा बढी असहयोग र अवरोध संरा अमेरिकाले नै गर्दै आएको छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “अमेरिकी र पश्चिमा शासकहरूकै साथ र सहयोगले इजरायलले प्यालेस्टिनी जनताको नरसंहार गरिरहेकोले विश्वकै न्यायप्रेमी जनताले नरसंहार र पश्चिमा देशको नीतिको विरोध गरिरहेको छ ।”
देशका युवा विदेश पठाउँदा युरोप र अमेरिका विकास भए पनि अफ्रिकी देशहरू विकासमा पछाडि परेजस्तै नेपाली युवा विदेश पठाउने नीति र कार्यले नेपाल विकासमा पछाडि परिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
वर्षौं बितिसक्दा पनि सरकारले भक्तपुर नपामार्फत सञ्चालन हुने ख्वप विश्वविद्यालय विधेयक अगाडि नबढाउनुमा नेका, एमाले र माओवादीहरूको भागबन्डा हुन नसक्ने भएर नै अड्केको खुलासा भएको सचिव सुवालले बताउनुभयो ।
बहुमतको दम्भ देखाएर अरू पार्टीलाई लखेट्न खोज्नेहरू आज आफै सकिएको अवस्थामा पुगेको चर्चा गर्दै उहाँले नेमकिपाले जो सुकै विदेशीलाई नेपालको नागरिकता दिन नहुने कुरा उठाउँदै आएको तर शासक दलहरूले त्यसलाई नसुन्दा आजको परिस्थिति आएको बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा स्थापनाकालदेखि सिद्धान्तमा अडिग रहेको चर्चा गर्दै नेमकिपाले पञ्चायतकालदेखि नै भेरी–कर्णालीका कामदार जनतालाई सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टको खोल ओढेकाहरूले कम्युनिस्ट सङ्गठन नष्ट गर्न खोजेको परिणाम आज उनीहरूकै घरमा आगो लागेको हो ।”
पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले कर्णालीका जनताको दुःखकष्टलाई शासक पार्टीहरूले दुहुनो गाई बनाएर आ–आफ्नो भुँडी भरेकै कारण जनताको दुःखकष्ट जहाँको तहीँ रहेको बताउनुभयो ।
नेमकिपाका नेता कार्यकर्ताहरूले राजनीति भनेको निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्ने हो भन्दा गिज्याएर हाँस्नेहरू आज जेन जी आन्दोलनको तारो बनेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य एवं ‘सहिद’ साप्ताहिकका सम्पादक नारायण महर्जनले साहित्य समाजको ऐना र राजनीतिको हतियार हो भन्ने मान्यता आज झन् झन् पुष्टि हुँदै छ भन्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि उठाउँदेै र सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले नयाँ पुस्ता सही सिद्धान्त र राजनीतिमा नलागेसम्म आमूल परिवर्तन सम्भव छैन भन्नुभयो ।
सो अवसरमा प्रगतिशील कवि रामप्रसाद ज्ञवालीले संस्कृतिलाई राष्ट्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै संस्कृतिलाई विश्व मानवसँग जोड्नुपर्छ भन्नुभयो ।
साहित्य, भाषा र कलाले समाज परिवर्तनमा सघाउने उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक परिवर्तन गर्नुपर्छ भन्नुभयो ।
कविता समाजको मनोरञ्जनको लागि होइन समाज परिवर्तनको लागि लेख्नुपर्ने स्पष्ट पार्दै कवि ज्ञवालीले निराशाले परिवर्तन ल्याउन नसकिने धारणा राख्दै ‘आशा’ शीर्षकको कविता वाचन गर्नुभयो ।
जर्मन ह्यास बेन्जामिनले भक्तपुर भ्रमण गरे आधा विश्व घुमेको सरह भएको स्मरण गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले भक्तपुरले कला, सम्पदा, संस्कृति संरक्षण गरेर उदाहरणीय काम गरिरहेको छ भन्नुभयो ।
भारतीय पक्षले देशको ७१ स्थानमा सीमा अतिक्रमण गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सुस्ता, कञ्चनपुर, ताप्लेजुङ र पशुपतिनगर आदि क्षेत्रमा पनि सीमा अतिक्रमण गरेको बताउनुभयो । भारतले नेपाललाई आफ्नो छत्रछायाँमा राख्ने दुस्प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले स्वाधीन राष्ट्रको आफ्नै सीमा हुन्छ भन्नुभयो ।
देशमा प्राप्त विभिन्न प्रमाणले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले नेपाली टोपीको सप्रमाण इतिहासबारे विश्लेषण गर्दै जनता भएको ठाउँमा राष्ट्र हुन्छ भन्नुभयो ।
नेपाली राष्ट्रिय टोपीको रूपमा रहेको कालो टोपीको आविष्कार उपत्यकाका आदिवासी नेवारहरूले गरेको स्पष्ट पार्दै उहाँले तानसेन–पाल्पा ढाका टोपीको लागि प्रचलित नेवार बस्ती हो भन्नुभयो ।
साहित्यकार हरिहर तिमिल्सिनाले भक्तपुर देशभक्तहरूको बसोबास भएको थलो हो† शासकहरूले हरेक आन्दोलनमा मिठो सपना बाँडे पनि पूरा नभएको उल्लेख गर्दै कविता वाचन गर्नुभयो ।
कवि अभय श्रेष्ठले इजरायलले प्यालेस्टिनी जनतालाई खाना, पानी, खाद्यान्न, औषधिसमेत वितरणमा बाधा हालेको उल्लेख गर्दै त्यसको विरोधमा इटालीमा २ लाखभन्दा बढी जनताले विरोध प्रदर्शन गरेको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालभाषा लिच्छवीकालभन्दा अघिदेखिको अभिलेखबाट प्रमाणित भएको उल्लेख गर्दै राष्ट्रिय अभिलेखालयमा पनि नेपालभाषा, कला, संस्कृति, सम्पदाको प्रमाण सुरक्षित भएको बताउनुभयो ।
स्थानीय तहबाटै सम्पदा र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर सम्पदा र संस्कृति संरक्षित उदाहरणीय जिल्ला हो भन्नुभयो ।
सीमा अध्येता रतन भण्डारीले सत्तासीन दलका नेताहरू विदेशीको उठबसमा रहेको चर्चा गर्दै भ्रमपूर्वक नेपालमा एमसीसी पारित गरेको सन्दर्भ उल्लेख गर्नुभयो ।
ठुला पार्टीका नेताहरू बजारमा राखेका खरिद बिक्री गर्ने सामानजस्तै भएको उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउन ठुला पार्टीले आफूलाई सुधार गर्नुपर्छ भन्नुभयो ।
त्यस्तै प्रा.डा. एवं लेखक जत्ताधर झाले तःमुंज्या एक कार्यक्रम मात्र होइन महोत्सव रहेको उल्लेख गर्दै यो मञ्च साहित्य, संस्कृति र समाजलाई समुन्नत बनाउने एवं अवसर पनि हो भन्नुभयो ।
रूसी सर्वहारावर्गका नेता लेनिनको योगदानबारे चर्चा गर्दै उहाँले रूसी भाषा र नेपाली भाषामा लेनिनबारे कविता वाचन गर्नुभयो ।
लेखक सूर्यप्रसाद लाक्वजुले नेपालभाषा साहित्य तःमुंज्या सबैको निम्ति उदाहरणीय र प्रेरणादायी भएको चर्चा गर्दै कुनै देशले विकासमा आर्थिक सहयोग गरेको आवरणमा उसले आक्रमण, हस्तक्षेण गरे पनि त्यसको विरोध गर्नुहुँदैन भन्ने भनाइ सही नहुने बनाउनुभयो ।
इजरायलले नेपालीलाई काम दिएको छ भनेर गाजापट्टीमा पानी र खाद्यान्नका निम्ति लाइनमा बसिरहेका बालबालिका र वृद्धावृद्धलाई मिसाइल आक्रमण गरेर हत्या गरे पनि विरोध नगर्नु अन्याय नै हुनेछ भन्दै उहाँले देशभक्तिपूर्ण कविता वाचन गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले देशमा राजनीतिक अन्योल छाइरहेको बेला साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरेर देशमा आशाका सञ्चार प्रवाह गरेर जनतालाई उत्प्रेरित गरेको विचार व्यक्त गर्नुभयो ।
सरकारी ढोकामा पुगेर पनि जनताले सेवा सुविधा नपाएकोमा दुखेसो पोख्दै उहाँले कर्मचारीतन्त्रप्रति तीखो वाण प्रहार गर्दै कर्मचारी जनताप्रति समर्पित हुनुपर्छ भन्नुभयो ।
नर्सिङ समाज नेपालका अध्यक्ष देविका दनेखूको सभापतित्वमा भएको सो समारोहमा आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले स्वागत मन्तव्य राख्नुभयो ।
कार्यक्रममा सत्यनारायण मानन्धरले साम्राज्यवादविरोधी गीत गाउनुभयो भने काभ्रेका सत्यनारायण श्रेष्ठ र कीर्तिपुरका सुवर्ण महर्जनले भ्रष्टाचारविरोधी र जनताको समस्याकेन्द्रित कविता वाचन गर्नुभयो ।
युवा कवि दामोदर सुवालद्वारा रचित स्वागत गीत राजेश हाडाको सङ्गीतमा रवि हाडा र लक्ष्मण पलिखेलले गाउनुभएको थियो ।
सम्मेलनमा साहित्यिक विधा कवितामा प्रथम सङ्गीता पञ्च, दोस्रो गङ्गाराम ज्याख्व, तेस्रो सत्यनारायण सुवाल र सान्त्वना लक्ष्मीप्रसाद कासुला र सुनिता गाइसी हुनुभयो भने कथामा श्रृया पहिजु प्रथम, एलके सुन्दर द्वितीय, सूर्यनारायण फाँजु तृतीय र निबन्धमा विशेष पुरस्कार केजी आचार्यले प्राप्त गर्नुभयो ।
सम्मेलनमा पुराना नयाँ साहित्यकारहरूले कथा, कविता र निबन्ध वाचन गर्नुभएको थियो । साहित्यमा पुरस्कृत साहित्यकारहरूलाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा नेपालभाषा साहित्य तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका सचिव राजन जति धन्यवाद मन्तव्य राख्नुभएको थियो भने आयोजक समितिका कोषाध्यक्ष प्रनेश बाटीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
साहित्य सम्मेलनपछि सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
Leave a Reply