भर्खरै :

अग्रजहरूको योगदानको सम्मान गर्दै भक्तपुर नगरपालिका जनताको सेवामा समर्पित भएर काम गर्दै छ’

अग्रजहरूको योगदानको सम्मान गर्दै भक्तपुर नगरपालिका जनताको सेवामा समर्पित भएर काम गर्दै छ’

नेपालभाषा साहित्य तःमुंज्याले ४५ वर्षदेखि निरन्तर भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशको समसामयिक र अन्तर्राष्ट्रिय राजनीतिबारे तथा अन्य विविध विषयका विज्ञहरूबाट जनतालाई प्रशिक्षित पनि गर्दै आएको छ । यो कामदार वर्गको साझा मञ्च भएकाले यहाँ जनताका पक्षमा साहित्यहरू वाचन हुन्छ, यही मञ्चबाट धेरै नयाँ नयाँ लेखक साहित्यकारहरू उत्पादन हुँदै छन् । आगामी दिनमा पनि लाखौँ करोडौँ जनताको हितमा कलम चलाउने प्रखर साहित्यकारहरू उत्पादन गर्न तःमुंज्यालाई सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने र सांस्कृतिक नगर घोषणा गरी देशकै सांस्कृतिक केन्द्र बनाउने योजना गर्नुभएको थियो ।
स्थानीय तहको हरेक निर्वाचनमा त्यही उद्देश्य पूरा गर्न निर्वाचन घोषणापत्र जारी गर्ने र निर्वाचित साथीहरूले त्यो घोषणापत्रअनुसार काम गर्दै आउनुभएको छ । बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, साँढे धपाउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, भारतले सुस्तामाथि गरेको भूमि अतिक्रमणको विरोधमा आन्दोलनलगायत हाम्रा अग्रजहरूले निरन्तर सङ्घर्षको परिणाम आजको भक्तपुर हो । अग्रजहरूले गर्नुभएको योगदानप्रतिको सम्मान गर्दै उहाँहरूले देख्नुभएको सफा र सुन्दर भक्तपुरको सपनालाई साकार पार्न भक्तपुर नगरपालिका जनताप्रति प्रतिबद्ध भएर काम गर्दै छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ(रोहित) ले आजभन्दा २४÷२५ वर्षअघि ‘एक घर एक स्नातक’ घोषणा गर्नुभएको थियो । त्यतिबेला त्यो असम्भव जस्तै देखिए पनि हाल आएर भने त्यो धेरै हदसम्म सफलताको नजिक पुगेको तथ्याङ्कले देखाउँछ । २०७८ सालको राष्ट्रिय जनगणनामा भक्तपुरको जनसङ्ख्या ७९,१३६ देखाइएको छ भने स्नातक ६,६०० जना र स्नातकोत्तर २,६९७ जना गरी कूल ९,३७६ जना स्नातक उत्तीर्ण देखाइएको छ । घरधुरी सङ्ख्या १८,९९७ उल्लेख भएको हुँदा राष्ट्रिय तथ्याङ्कले प्रति २ परिवार एक स्नातक रहेको पुष्टि गरेको छ । कक्षा ११ उत्तीर्ण ६,६१५ जना भएको र त्यो ५/६ वर्ष अघिको तथ्याङ्क भएकोले हालसम्म धेरैले स्नातक गरिसकेको अनुमान गर्न सकिन्छ । हरेक वर्ष स्नातकहरू सयौँको सङ्ख्यामा थपिँदै जाने भएकोले ‘एक घर एक स्नातक’ अभियानले पूर्णताको नजिक पुगेको अनुमान गर्न सकिन्छ । त्यो घोषणा नभएको भए आजको स्थिति सम्भव हुने थिएन भन्न सकिन्छ ।
शैक्षिक क्षेत्रलाई अगाडि बढाउन स्थापना भएका दुईवटा इन्जिनियरिङ कलेजहरू ख्वप इन्जिनियरिङ कलेजबाट हालसम्म भक्तपुर नगरका १,२४४ (छात्र ८४९ र छात्रा ३१५) र ख्वप कलेज अफ इन्जिनियरिङबाट ४८२ (छात्र ३,५६ र छात्रा १२६) गरी दुवै कलेजबाट गरी भक्तपुर नगरपालिकाका १,७२६ जना इन्जिनियर उत्पादन भइसकेका छन् । यस अवधिमा अन्य विभिन्न कलेजबाट सयौँको सङ्ख्यामा इन्जिनियरहरू उत्तीर्ण गरिसकेको अनुमान गर्न सकिन्छ । आजसम्मको अवधिमा विभिन्न कलेजबाट भक्तपुरका ३०० जना मात्र इन्जिनियर उत्तीर्ण गरेको राख्ने हो भने पनि भक्तपुरमा २००० भन्दा बढी विभिन्न विषयका इन्जिनियर भइसकेको देखिन्छ । यसले हिसाबले भक्तपुर नगरमा हरेक ९।१० परिवारमा एकजना इन्जिनियर भएको देखाउँछ ।
त्यस्तै ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट हालसम्म ५३७ जना नर्सिङ उत्तीर्ण गरिसकेका छन् भने त्यही सङ्ख्यामा देशका अन्य धेरै वटा कलेजहरूबाट नर्सहरू तयार भएको अनुमान गरेकै खण्डमा यहाँ करिब एक हजार नर्सहरू रहेको मान्न सकिन्छ । त्यो जनसङ्ख्याको आधार मान्ने हो भने यहाँ प्रति १८/१९ परिवार बराबर एक नर्स भइसकेकोे छ ।
एक घर एक स्नातक अभियानलाई पूरा गर्न भनपाले शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । हालसम्म ७५० जनाभन्दा बढी विद्यार्थीलाई रु. ५ लाखको दरले ऋण स्वीकृति गरी करिब १७ करोड ऋण प्रवाह भइसकेको र ३ करोड ५० लाख जति फिर्ता पनि भइसकेको छ । अझै १३/१४ करोड रुपैयाँ ऋण विद्यार्थीमा रहेको र यो वर्ष थप १०० जनाभन्दा बढीलाई ऋण दिने प्रक्रियामा छौँ । त्यसैगरी भनपाबाट सञ्चालित ७ वटा शैक्षिक संस्थाहरूमा वार्षिक रु. ४ करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था गरी गरिब तथा जेहनदार विद्यार्थीहरूलाई अध्ययनको अवसर प्रदान गर्दै छौँ । त्यसैगरी राजनीतिशास्त्र, इतिहास, भूगोल, नेपालभाषा, अर्थशास्त्र, दर्शन शास्त्रलगायत पढ्ने विद्यार्थीहरूलाई उच्च शिक्षामा छात्रवृत्ति दिने नीतिले २५० भन्दा बढी विद्यार्थीले सुविधा लिइरहेका छन् ।
भक्तपुर नगरमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू ३६,५०० भन्दा बढी छन् । नयाँ पुस्तालाई भक्तपुरका कला संस्कृति र सम्पदाको महत्वबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम लागु गरिएको छ । सरकारी विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिको लागि आर्थिक सहयोग, भौतिक निर्माणको लागि अनुदान तथा विद्यालय अनुगमनतर्फ पनि व्यवस्था गर्दै आएका छौँ ।
ख्वप विश्वविद्यालय स्थापना गर्न बारम्बार जोड दिँदै आएका छौँ । तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले नगरपालिकालाई विश्वविद्यालय सञ्चालनको अधिकार नभएको बताएर विश्वविद्यालय विधेयक अगाडि बढाउन चाहेनन् । त्यसपछि शिक्षामन्त्री बनेका रघुजी पन्तले पनि त्यही कुरालाई दोहो¥याए र विधेयक अगाडि बढ्न सकेन ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरूबाट २४।२५ वर्षमा ४५ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाए । ती सबै शैक्षिक संस्थाहरूलाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालन गर्ने हाम्रो उद्देश्य हो । मेडिकल कलेज सञ्चालन गर्न शिक्षण अस्पताल निर्माणको लागि भनपा वडा नं.सल्लाघारीस्थित १०८ रोपनी जग्गा माग गरेका थियौँ । तर सरकार कहिल्यै त्यसप्रति सकारात्मक रहेन । जनताले १०४ वर्षको राणाशासन, ३० वर्षे पञ्चायती शासन र २०४६ सालपछिको बहुदलको नाउँमा नेका र एमालेकोे सरकारबिच कुनै भिन्नता देखेनन् । ती सबै सरकारहरू जनविरोधी, निरङ्कुश र तानाशाही सरकारहरू नै साबित भए ।
जनतालाई सरल र सहज स्वास्थ्य पहुँचका लागि ख्वप अस्पताल र वडा वडाका स्वास्थ्य केन्द्रको निर्माण गर्ने कार्य पनि निरन्तर जारी छ । कुनै पनि नागरिक विना उपचार मर्न नपरोस् भन्ने भावनाले काम गर्दै छौँ । गरिबलाई निःशुल्क उपचार, अक्सिजन र रगत निःशुल्क वितरण र घरदैलो नर्सिङ जस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गर्दै छौँ ।
आ.व. २०८१/८२ को एक वर्षमा ख्वप अस्पतालले ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ बिरामीको सेवा गर्यो भने नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त व्यवस्थापनमा सञ्चालिन ख्वप तिलगङ्गा आँखा अस्पतालले एक वर्षमा ३० हजार ५६० जना आँखा बिरामीको सेवा गर्यो । त्यस्तै ख्वप अस्पतालले एक वर्षमा २०२३ वटा साना ठुला शल्यक्रिया गर्यो भने ख्वप तिलगङ्गाले १०३७ वटा साना ठुला शल्यक्रिया ग¥यो । गत आ.व. मा जनतालाई १४ हजार ३८७ वटा अक्सिजन सिलिण्डर वितरण गरियो । त्यस्तै चालू आ.व. मा साउन र भदौमा ख्वप अस्पतालले ५७ हजार ५१६ जना र ख्वप तिलगगाले ६ हजार १०८ जना बिरामीको सेवा गर्यो ।
वडा वडामा सञ्चालित स्वास्थ्य केन्द्रहरू सल्लाघारी, ब्यासी, भगवतीस्थान, बेखाल र दत्तात्रय समेतबाट गत वर्ष ४९ हजार ४७२ जनालाई र चालु आ.व. को दुई महिनामा ९ हजार ७४७ लाई स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन् । त्यसैगरी घरदैलो नर्समार्फत गत वर्ष ७७ हजार २८१ जनालाई र साउन—भदौ महिनामा १३ हजार ७९७ जनालाई सामान्य स्वास्थ्य सेवा प्रदान गरेको यहाँ प्रस्ट पार्न चाहन्छौँ ।
ख्वप अस्पतालमा आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न अबको २÷३ महिनापछि सिटी स्क्यान सेवा विस्तार गर्दै छौँ भने थप नयाँ ल्याप्रोस्कोपी उपकरण पनि केही महिनापछि जोड्दै छौँ ।
नगरभित्र रहेका भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रबाट पनि उत्कृष्ट सेवा प्रदान गरिरहेका छन् । अहिले भक्तपुर स्वास्थ्य उपचार सेवामा देशकै उत्कृष्ट ठाउँ बन्दै छ ।
त्यसो त सम्पदा संरक्षणमा पनि भक्तपुर अग्रपङ्क्तिमा छ । कुनै विदेशीको सहयोगविना २०७२ सालको भूकम्पपछि तहसनहस भएका १६९ वटा सम्पदाहरू नगरपालिकाले पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ । तीमध्ये मन्दिर ३८ वटा, पाटी ६६ वटा, द्योछेँ १० वटा, ध्वाका ४ वटा, पोखरी १२ वटा, सत्तल ९ वटा, ढुङ्गेधारा र अन्य १२ वटा रहेका छन् । थन्थु दरबार, इखालाछी मठ, पाहाँ छेँ, हाडा छेँलगायत डेढ दर्जनभन्दा बढी सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्घार भइरहेका छन् ।
मूर्त र अमूर्त सम्पदा संरक्षणको लागि भक्तपुर महोत्सव, सम्पदा पदयात्रा, गाईजात्रामा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम, सांस्कृतिक गुरु सम्मान कार्यक्रमलगायत गर्दै भक्तपुर नगरपालिकाले सांस्कृतिक गतिविधिमार्फत भक्तपुरलाई विश्वसामु परिचित गराउँदै आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रूपमा विकास गर्दै छ ।
नगरको सरसफाइ, खानेपानीको व्यवस्थापक, युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर बनाउनेमा जोड दिँदै आएका छौँ भने भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना पनि गर्दै आएका छौँ ।
अन्त्यमा, भर्खर जेन जीको आन्दोलनबाट सरकार परिवर्तन भएको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको लागि त्यो आन्दोलन भएको भनिएको छ । तर देशको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत धेरै प्रशासानिक भवनहरू जलाइएका छन् । नेपालका संरचनाहरू ध्वस्त बनाएर नेपालमाथि शासन गर्न चाहने विदेशीहरूको हात रहेको हुन सक्ने अनुमान धेरैले गर्दै छन् ।
नेपाल मजदुर किसान पार्टीले निरन्तर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै आएको छ । देशको अबको अस्थिर अवस्थामा विदेशी हस्तक्षेप हुन सक्ने प्रति सचेत रहँदै वैदेशिक हस्तक्षेपविरुद्धको आन्दोलनलाई थप सशक्त पार्नु आवश्यक छ ।
(पैतालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन असोज १८ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *