भर्खरै :

पार्टी एकताको हल्ला समीकरण परिवर्तनसम्म पुग्ने त होइन ?

निर्वाचनको साझा घोषणापत्रमा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषय पनि राखेका थिए । निर्वाचन नतिजामा झण्डै दुईतिहाइ स्थान प्राप्त गरेपछि ती दुवै पार्टीले सरकार गठन अगाडि पार्टी एकता हुने हल्ला गरे । पछि नेपालको कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन अप्रिल २२ तद्नुसार २०७५ वैशाख ९ गते पार्टी एकता हुने हल्ला मच्चाइयो । बीचमा प्रधानमन्त्री केपी ओलीको चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण तय भयो । त्यसबेला प्रम ओली भारत जानुअघि पार्टी एकता हुने हल्ला चल्यो । अहिले एमाले निरङ्कुश भएको हुँदा पार्टी एकता नै नहुने हल्ला आयो ।
एमाले र माओवादी केन्द्रको एकता भए पनि देश र जनताको हित हुने कुनै लक्षण छैन । दुवै पार्टीले सरकारको पाँच पटक नेतृत्व गरे । एमाले र माओवादी केन्द्रको सरकार नेका र पञ्चायतको सरकारभन्दा फरक थिएन र छैन । प्रचण्डले पार्टी एकताको लागि समान हैसियत मागेको पनि हल्ला भयो । माओवादीमा एमालेले निल्ने डर छ । एमालेले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै लिएर माओवादी केन्द्रलाई नामेत पार्ने हल्ला पनि थियो । यसकारण प्रचण्डले आफ्नो व्यवस्थापन अर्थात् पार्टी अध्यक्ष नै ताक्दैछन् तर एमालेले प्रचण्डलाई पार्टी अध्यक्ष दिने सम्भावना छैन ।
प्रधानमन्त्री केपी ओलीले भारत जानुअघि पार्टी एकता होइन ४० जना सचिव सरूवा गरे । सरकारको सहयोगी माओवादीसँग एमालेले सचिव सरूवाबारे कुनै परामर्श नगरेका र माओवादी (केन्द्र) का मन्त्रीहरू प्रचण्डकहाँ उजुरी दिन गएको पनि बाहिर आयो । माओवादी सार्वजनिक भएर नेका सभापति गिरिजाको सरकारमा मन्त्री खान गएकाहरूले पनि सेनाको बढुवालाई लिएर असन्तुष्टि पोखेका थिए । झण्डै एक महिना मन्त्रालयमा नगएका माओवादी मन्त्रीहरू त्यसबेला फत्रक्क गलेर मन्त्रालयमा गएका थिए । यसपटक माओवादी मन्त्रीहरूले प्रम ओलीसामु बोल्न सकेनन् र प्रचण्डकहाँ गुनासो पोख्न पुगे । प्रधानमन्त्रीय व्यवस्थामा मन्त्रीहरूले प्रमसँग मतभेद देखाउनुभन्दा राजीनामा दिनु उपयुक्त हुन्छ ।
प्रचण्डले आफ्ना मन्त्रीहरूलाई पार्टी एकताको मुखमा मिलाएर जानुपर्नै बताए पनि प्रचण्ड स्वयं पार्टी एकताप्रति विश्वस्त छैनन् । प्रचण्डले ओली नेतृत्वको अघिल्लो सरकारलाई लात मारेर नेकाको सहयोगमा प्रधानमन्त्री बनेको ओलीले बिर्सेका छैनन् । राजपा र फोरम दुवै सरकारमा समावेश भए माओवादी केन्द्र (ले पाएका मन्त्रीहरू विस्थापनसमेत हुनेछ । स्थिति बिग्रँदै गए सरकारको समीकरण परिवर्तन हुने हल्ला पनि छ ।
चैत्र ३० गतेको मजदुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *