कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २६ असोज । जेन्युइन सेकेन्डरी स्कूलले ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘बौद्ध शिक्षा र दर्शन’ विषयक दुईदिने सेमिनार कार्यक्रम असोज २६ गते समापन भएको छ ।
कार्यक्रममा शिक्षाविद् सिद्धिरत्न शाक्यले बुद्ध जन्मेको देश नेपालले बौद्ध शिक्षालाई प्राथमिकता नदिएकोमा दुखेसो व्यक्त गर्नुभयो । उहाँले एउटा विद्यालयको प्रयासमा गौतम बुद्धको शिक्षा र दर्शनबारे गहकिलो कार्यक्रम आयोजना गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन (असोज २५ गते) बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. त्रिरत्न मानन्धर, बौद्ध अध्येता रत्नसुन्दर शाक्य र पत्रकार वसन्त महर्जनले कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले क्रमशः बुद्ध शिक्षा र सुशासन, बौद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (राहुल सांकृत्यायन) एवं बुद्ध शिक्षा र मानव अधिकार शीर्षकमा बोल्नुभएको थियो ।
कार्यक्रमको अन्तिम दिन त्रिभुवन विश्वविद्यालयका डा. पुष्परत्न शाक्यले बुद्ध धर्म र सम्बन्धित कला र वास्तुकला विषयमा चर्चा गर्नुभयो । उहाँले बौद्धकालीन बहाबही संस्कृति र काठमाडौँ उपत्यकामा तिनको आधुनिक स्वरुपबारे बोल्नुभयो । सेमिनारमा ‘बुद्ध धर्ममा लैङ्गिक समानता’ विषयमा कार्यक्रम प्रस्तुत गर्दै डा. सबिता धाख्वाले बुद्धले २५०० वर्ष अगाडि नै महिला आन्दोलनलाई समानताको विचार प्रस्तुत गर्नुभएको बताउनुभयो ।
‘बौद्ध नेवार परम्परागत चित्रकला’ विषयक कार्यक्रम प्रस्तुत गर्दै डा. जुनु बासुकलाले नेवाः परम्पराको ऐतिहासिक विवेचना गर्नुभयो ।
‘बुद्ध शिक्षा र मनको विज्ञान’ शीर्षकमा कार्यक्रम राख्दै पत्रकार घनश्याम खड्काले भौतिक सम्पन्नता हासिल गर्दै गइरहेको पश्चिमा समाज मानसिक रूपमा रोगी भएपछि प्रति पश्चिमा समाजमा बुद्ध शिक्षाको महत्व बढिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा पुरुषोत्तमलोचन श्रेष्ठ, डा. तारालाल श्रेष्ठ, शिक्षिका सुनिता गाइसी, साहित्यकार अभय श्रेष्ठ, कवि हरिहर तिमिल्सिनालगायत व्यक्तित्वले आ–आफ्ना अनुभव तथा जिज्ञासा राख्नुभएको थियो । विद्यालयको ३० औँ वार्षिकोत्सव समारोह मूल समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply