यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘जनता म्वासा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासाथ भक्तपुरमा दुईदिने नेपालभाषा साहित्य सम्मेलन (तःमुंज्या) सम्पन्न भयो । शारदीय याममा हुने यस्ता साहित्य सम्मेलनले परम्परागत दसैँ–तिहारको माहोलमा छुट्टै रौनक थप्छ । सांस्कृतिक कार्यक्रमलाई चाडबाडजस्तै आयोजना गरी मनाउने यो परम्परा अत्यन्त प्रशंसनीय छ । प्राचीन कला नगरी भक्तपुरले विगत पैँतालिस वर्षदेखि साङ्गठित रूपमा यो बृहत् कार्यक्रम गर्दै आइरहेको छ । यो पङ्क्तिकारले विगत तीन वर्षदेखि त्यसको साक्षी हुने सौभाग्य पाएको छ ।
भक्तपुर धेरै कुरामा अनुपम छ । यहाँको गाईजात्रा, बिस्केटजात्रा, जुजु धौ, हाकुपटासी सबै अनुपम छन् । यहाँ गाईजात्रामा प्रहसन गरिने राष्ट्रिय – अन्तर्राष्ट्रिय विकृति तथा विसङ्गतिहरूको जीवन्त व्यङ्ग्यात्मक चित्रणमा विशेष कला छ । बिस्केटजात्रा विश्वकै ठुला जात्रामध्ये एक हुनुपर्छ । एक जर्मनीका संस्कृतिविद्ले भक्तपुरलाई संसारको महत्वपूर्ण खुला सङ्ग्रहालय भनेका थिए ।
विगत तीन दशकदेखि भक्तपुरले सरसफाइमा देखाएको नमुना अरू सहरका लागि पनि अनुकरणीय बनेको थियो । सन् १९९९ मा म काभ्रेबाट एसियाली विकास बैङ्कका प्रतिनिधिहरूसँग काठमाडौँ फर्कने क्रममा उनीहरूले भक्तपुर घुम्ने इच्छा प्रकट गरेका थिए । दरबार स्क्वायर, ऐतिहासिक सडक र गल्ली डुल्ने क्रममा उनीहरू यहाँको सरसफाइ देखेर चकित भएका थिए ।
२०३७ सालमा कलेज अध्ययनका क्रममा थुप्रै भक्तपुरे सहपाठीसँग भेटघाट भइरहन्थ्यो । उनीहरूबाट त्यहाँका टोल–टोलमा विभिन्न साहित्यिक प्रतियोगिताहरू भइरहने कुरा सुन्दा रमाइलो लाग्थ्यो । साँच्चै नै आधा शताब्दीदेखि त्यहाँ हुँदै आएका विभिन्न पुस्तकालय, गोष्ठी, कार्यक्रमले मुलुकमा अध्ययनशीलहरूको नगरीका रूपमा भक्तपुरले आफ्नो नाम दर्ज गरेको छ ।
अरू त अरू, निर्दलीय व्यवस्थाकालमा पनि भक्तपुर नगर पञ्चायतको ‘पञ्चायत’ नामक बुलेटिनमा माक्र्स, एङ्गेल्सका चिट्ठी, भाषण तथा लेनिनको जीवनी प्रकाशन गरिनु अनौठो साहसको विषय थियो । प्रजातन्त्रको पुनः स्थापना र गणतन्त्रको उदयपछि भक्तपुरले ‘बोल्नेहरूको सहर’ को उपमा पायो । अन्य दलका सांसदहरूलाई हाजिर गर्ने, भत्ता बुझ्ने, संसद्मा निदाउने र ‘हुन्छ’ ‘हुँदैन’ भन्ने बेलामात्र ब्युँझिने आरोप लागिरहेको बेला भक्तपुरे सांसदहरूले राष्ट्रमा संवेदनशील मुद्दामा आवाज उठाइरहेका देखिन्थे ।
विषय प्रवेश
मानव सभ्यता विकासको क्रममा लिपि, भाषा, संस्कृति, चाडपर्व, बाजा, रीतिरिवाज, कला, मठमन्दिर, विहार आदि सिर्जित भए । यी मुलुकका वास्तविक सम्पदा हुन् । यी सम्पदाले देशको सभ्यताको परिचय दिन्छ । राष्ट्रको कला, संस्कृति तथा सभ्यता विकासको स्तर त्यो देशको वास्तविक विकासको सूचक हो ।
सयौँ जातजाति, बहुभाषी, बहुसंस्कृतिको बसोबास भएको हाम्रो सानो मुलुकको अपार विविधता संसारमै अनुपम छ । सम्पदा पुर्खाको नासो हो । त्यसको उचित संरक्षण गर्नुपर्छ । यी थरीथरीका भाषा, संस्कृति देशको मात्र नभएर विश्व सम्पदाकै निधि हुन् ।
नेपाल र नेपालीको पहिचान नै हाम्रा सम्पदा हुन् । त्यसको संरक्षण हुनु नै ‘हामी’ हुनु हो । भाषा कुनै पनि राष्ट्रको पहिचान हो । संस्कृति हराए जाति पनि हराउँछ । हो, संस्कृतिबिना देश स्वाधीन बाँच्नै सक्दैन । त्यस्तै, साहित्य सभ्यताको चिह्न हो, जीवन अनुभवको सार हो, समाज रहनसहनको ऐना हो ।
देशको सभ्यताका विविध आयाममध्ये भक्तपुरको ‘नेपालभाषा साहित्य तःमुंज्या’ साहित्यिक र सांस्कृतिक प्रवाहको एक महत्वपूर्ण अवयव हो । दुई दिन दुई रात आयोजना हुने यस बृहत् भाषा साहित्य सम्मेलन दुई चरणमा सम्पन्न गरिन्छ । पहिलो दिवा सत्र बिहान ११ बजेदेखि साँझ सात बजेसम्म र दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ सात बजदेखि राति अबेरसम्म चल्ने गर्छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा नेपालभाषा साहित्य तःमुज्याको प्रचारार्थ नगरको केन्द्रीय भागमा सुन्दर सुकुन्दा ¥याली आयोजना हुन्छ । यसले कार्यक्रम सुरु हुने सन्देश फैलाउँछ ।
कार्यक्रमको दिवा सत्रमा विभिन्न नयाँ तथा पुराना साहित्यकारबाट आ–आफ्ना रचना वाचन हुन्छ भने बिच–बिचमा विविध विधाका विज्ञले आ–आफ्नो क्षेत्रको गुढज्ञान प्रस्तुत गर्ने गर्छन् । तिनको सानो मन्तव्यबाट स्रोताले छोटो समयमा विविध विषयगत कुराको चुरो सुन्न र मनन गर्न पाउँछन् ।
राजनीतिज्ञ, सम्पदाविद्, प्राध्यापकहरू, भाषाविद्, विविध विशेषज्ञ डाक्टरहरू, ज्योतिषशास्त्री, इतिहासकार, कानुनविद्, शिक्षाविद्, सीमाविद्, पुरातत्वविद्, सीमाअध्येता, कवि, कलाकार, साहित्यकार, चिकित्सक, संस्कृतिविद्, भूगोलविद्, जलस्रोतविद् तथा अन्य विज्ञहरूको जमघट तःमुंज्याको अनुपम विशिष्टता हो । तिनले जीवनभर आर्जन गरेका विविध क्षेत्रगत र विषयगत ज्ञान, अनुभव र विचार मन्तव्य यो सम्मेलनको गहना हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय मामला, भूराजनीति, कला, साहित्य, स्वास्थ्य, कूटनीति, अर्थराजनीति आदि क्षेत्रमा ख्यातिप्राप्त विद्वान्बाट हासिल यी ज्ञानहरूको बहस, मन्थन र सञ्चारले सम्मेलनलाई साहित्यिक सांस्कृतिकमात्र नभई बुद्धिजीवी र विज्ञहरूको डबली तुल्याएको छ ।
यी संवादका निष्कर्षहरूलाई दस्ताबेजीकरण गर्न सकियो भने मुलुकका योजनाविद्हरूका लागि उपयोगी पृष्ठपोषण हुनसक्छ । भिन्न विचार र राजनीतिक आस्था भएका व्यक्तित्वहरूको सहभागिता तःमुंज्याको अर्को मिठास हो । यो डबलीले प्रदान गरेको प्लेटफार्म सबै विचारधाराहरूका लागि साझा चौतारी बनेको छ ।
तःमुंज्याको दोस्रो महत्वपूर्ण पाटो यसको सांस्कृतिक पक्ष हो । सांस्कृतिक कार्यक्रमको मञ्चले धेरैभन्दा धेरै क्षेत्र र पक्षलाई समेटेको देखियो । सन्ध्याकालीन सत्रमा विभिन्न सांस्कृतिक समूह, वाद्यवादन, गायन टोली, टोल–टोलका पुचः, विद्यालयका क्लव आदिले गीत, हुला प्याखँ, नृत्य, सङ्गीत, नाटक मञ्चन गरे । यिनमा जिल्लाभरका महालक्ष्मी दथुचोता सांस्कृतिक समूह, आस्था सांस्कृतिक परिवार, सिम्प्लेक्स ब्यान्ड, हिमालयन ग्लोरी, बाँसुरी बाजा समूह, श्रमिक कला सदन, श्री नासः हैमा बाजा खल, किकम्पा सांस्कृतिक प्रतिष्ठान, क्रान्तिकारी सांस्कृतिक सङ्घ, लोकेश्वर साकोस र विभिन्न स्कूल कलेजका सांस्कृतिक टोलीको प्रस्तुति थियो ।
युरोपका प्रायः सहर केन्द्रका स्क्वायरहरूमा थिएटर हल हुन्छन् । यी नाट्यकेन्द्र, क्लासिकल नृत्यशालालाई त्यहाँ सभ्यताको प्रतीक मानिन्छ । सन् १८७६ मा प्योत्र इलिच त्चैकोव्स्कीद्वारा लिखित मस्कोको शास्त्रीय ‘द स्वान ब्यालेट’ आजपर्यन्त प्रदर्शन हुन्छ । भक्तपुरले दशकौँदेखि निरन्तरता दिइरहेको नृत्य, गीत, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटकहरूको प्रहसन त्यो उत्कृष्टताको नमुना हो । यो चानचुने आयोजना होइन ।
टीम स्पिरिट
तःमुंज्याको सबैभन्दा विशिष्ट भनेको यसको आयोजनाको टीम स्पिरिट हो । घर–घर, टोल–टोल, वडा–वडा, कारखानाहरूबाट गरिने आर्थिक सहयोग र स्वयम्सेवा सबैका लागि अनुकरणीय छ । गत वर्षको कार्यक्रमबाट फर्कने क्रममा गाडीका चालकबाट व्यक्त ‘तःमुंज्यालाई सहयोग गर्न सबै जिल्लावासी आकाङ्क्षी हुने गर्छन्’ भन्ने कुराले एकदम उत्साहित बनाएको थियो । चन्दा उठाउने क्रममा कथंकदाचित कुनै घर छुट्न गएको खण्डमा बरु ‘यसपालि के भएर नआएका होलान्’ भन्ने गुनासो स्थानीयमा रहन्छ रे भन्ने उनको कथन थियो ।
तःमुंज्या कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ४५ सदस्यीय मूल समिति र यसअन्तर्गत एक दर्जनभन्दा बढी उपसमितिहरू खट्ने गर्छन् । व्यापक तयारीका लागि गठन गरिने यी समितिले समाजको क्रियाशीलता अभिवृद्धि गर्ने मात्र होइन, सामूहिक गोलबद्धताको सन्देश पनि दिन्छ । हरेक वर्ष प्रत्येक वडाले यो कार्यक्रम पालैपालो आयोजन गर्ने गर्छन् । यसरी छुट्टाछुट्टै कार्यक्रमको जिम्मा लिनुपर्दा हुने मैत्रीपूर्ण प्रतिस्पर्धाले एउटा सौहार्द वातावरणको सिर्जना र प्रत्येकको क्षमता अभिवृद्धि गर्छ । तःमुंज्या सभ्य र भव्य बनाउन स्थानीय जनताले रातदिन नभनी गरेको सहयोग र दिएको साथ साँच्चिकै अनुकरणीय छ ।
तःमुंज्याको प्रदर्शन मञ्च भक्तपुरे कलाकौशल, पहिचान, भेषभूषाले सजाइन्छ । अतिथिहरूलाई भादगाउँने कालो टोपी, घरबुना खादाले स्वागत गरिन्छ । प्रत्येक सहभागीलाई चटामरी, योमरी, जुजुधौ आदि स्थानीय परिकारले रसपान गरिन्छ । आसनग्रहणदेखिका आतिथ्य गरिने कार्यशैलीले अतिथि मक्ख हुन्छन् ।
आजकल कुनै साहित्यिक सांस्कृतिक कार्यक्रम आयोजना गर्न ठुला प्रायोजकको मेला देखाइन्छ, मानिलिऊँ कार्यक्रमका आयोजक नै विज्ञापनदाता हुन् । कुनै अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा त विदेशी राष्ट्रका अमूक संस्थाहरूले प्रायोजन गरेको भेटिन्छ तर तःमुंज्याको भाषा, साहित्य, संस्कृति सम्मेलनमा त्यो दृश्य भेटिएन, न मञ्चमा, न अखबार र टीभीहरूमा ।
सम्मान तथा पुरस्कार
साहित्य, कला, संस्कृतिमा जीवनभर साधनारत हस्तीहरू, सम्पदा अभियन्ता, अग्रज किसान कार्यकर्ता, लोककवि, बाजा गुरु, गायक एवं सङ्गीतकार आदिलाई उनीहरूको योगदानका लागि सम्मानित गर्ने परम्परा तःमुंज्याको गहना हो । यस क्रममा नयाँ पुस्तक लोकार्पण गर्ने परम्परा पनि छ । यस्ता क्रियाकलापले सकारात्मक सन्देश प्रवाह गर्छ ।
भर्खर मात्र मुलुकले ठुलो अनिष्ट भोग्नुप¥यो । देशका राष्ट्रिय प्रतीक, प्रशासनिक केन्द्र र संस्थागत धरोहरमा आगो लगाइयो । यो आगजनीको खरानीले सन्नाटा छाएको बेला देशमा अनेकन अस्थिरता, डर र अपसंस्कृतिले राज गरिरहेको वर्तमान अवस्थामा भक्तपुरले संस्कृतिको जगेर्ना गरिरहेको कार्य प्रशंसनीय छ ।
तःमुंज्याको सबैभन्दा राम्रो पक्ष यसले सदिऔँदेखि विकसित सभ्यताका निसानीहरूलाई युवा पिँढीलाई पुस्तान्तरण गरेको छ । नयाँ पुस्ताले पुर्खाको संस्कृति परम्परा बिर्सँदै गएको भनिएको सन्दर्भमा अब यो बरु ललितपुरलगायतका नगरमा समेत विस्तार हुँदै छ । यहाँ हुने साहित्यिक एवं सास्कृतिक प्रतियोगिताहरूले नयाँ साहित्यकारलाई प्रोत्साहन गर्छ भने साहित्य, नाट्य, नृत्य आदि कला र अभियन्ताहरूलाई निखार्ने अवसर प्रदान गर्छ ।
नेपालभाषा साहित्य तःमुंज्या आफैँमा साहित्यिक सांस्कृतिक कार्यक्रममात्र होइन, अरूका लागि उदाहरणीय मञ्च पनि हो ।
– ‘नागरिक’ दैनिक, असोज २५, २०८२
Thanks to Majdoor patrika