भर्खरै :

नेमकिपाको आधार मजदुर–किसान र कामदारवर्ग

नेमकिपाको आधार मजदुर–किसान र कामदारवर्ग

सुर्खेत, २९ असोज । नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिको बैठक बुधबार सुर्खेतमा सम्पन्न भयो ।
बैठकमा पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “सिंहदरबार पुगेका शासक दलका नेता र कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गरेनन् । ५–७ सय वर्ष पुरानो पुँजीवादी व्यवस्थाले मानव समाजको समस्या समाधान गर्न सकेन । यसकारण, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी व्यवस्था स्थापना हुनु जरुरी छ ।”
नेमकिपाविरूद्ध प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्नेतर्फ कार्यकर्ताहरू सचेत हुनु आवश्यक भएको चर्चा गर्दै उहाँले नेमकिपाको आधार मजदुर–किसान र कामदारवर्ग नै भएको स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपाले कामदारवर्गलाई राजनीतिकरूपले शिक्षित र सङ्गठित गर्ने कामलाई प्राथमिकता दिन्छ भने पुँजीवादी निर्वाचनमा भाग लिएर जनविरोधीहरूलाई उदाङ्ग्याउने र पराजित गर्ने काम गर्दछ । जनताबाट तिरेको करबाट बनेको बजेटलाई आफ्नो मनपरी गर्ने शासक दलहरूको नीतिलाई नेमकिपाले विरोध एवम् भत्र्सना गर्दछ ।”
उहाँले भन्नुभयो, “नेमकिपाले जिल्ला जिल्लामा प्रगतिशील साहित्यिक सम्मेलन र सांस्कृतिक कार्यक्रम गरेर सर्वसाधारण जनताको सांस्कृतिक र राजनीतिकस्तर माथि उठाउने कामलाई जोड दिएको छ ।”
बैठकमा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाही, तुल्सी खड्काले पार्टीको देनबारे चर्चा गर्नुभयो ।
पार्टीका सल्लाहकार नर्मा गुरुङले समाजवादी व्यवस्थाको निम्ति नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश समितिका संयोजक सरोजराज गोसाईको सभापतित्वमा भएको सो बैठकमा प्रदेशका अन्य सदस्यहरूले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *