भर्खरै :

देशमा व्यवस्थै बदल्नु आवश्यक

देशमा व्यवस्थै बदल्नु आवश्यक

जेन–जी आन्दोलनको विषयमा सरकारको ध्यान नपुगेको हो । सरकारले समयमै विवेक पु¥याएर निर्णय गर्न नसक्दा देशको अरबौँ बराबरको धन सम्पत्ति क्षति भयो; नेताहरूको घर जल्यो । सामाजिक सञ्जालमा अवरोध नपु¥याइएको भए या समयमै निर्णय फिर्ता लिइएको भए देश र नेताहरूको सम्पत्तिमा क्षति हुने थिएन; नेताहरू भाग्नुपर्ने स्थिति आउने थिएन । सरकार छोड्नुपर्ने थिएन । जेन–जी आन्दोलनको कारण ७६ जनाको ज्यान गयो । जनताको मागलाई समयमै सम्बोधन गर्नुपर्ने रहेछ भन्ने कुरा जेन–जी आन्दोलनले पाठ सिकाएको छ ।
जेन–जी आन्दोलन निम्तिनुको कारण सरकारको बेवास्ता पनि हो । शासकहरू जिम्मेवार भएका भए जेन–जी आन्दोलनले उग्र रूप लिने थिएन; न त जेन–जी आन्दोलनमा घुसपैठ हुने अवसर नै पाउने थियो । जेन–जी आन्दोलन अघि नै सुरक्षा निकायले आन्दोलनमा अनियन्त्रित हुनेतर्फ प्रम ओलीलाई खबरदारी गरेको समाचार पनि छापामा आयो । आन्दोलनमा घुसपैठ हुनसक्नेतर्फ पनि प्रहरी प्रशासनले खबरदारी गरेको थियो । असोज २९ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘जेन–जी विद्रोहअघि नै ओलीलाई ब्रिफिङ’ शीर्षकको समाचार छापियो । यसलाई सरकारले हचुवाको रूपमा लियो । परिणाम देश जल्यो† अनाहकमा अरबौँ खरबौँ बराबरको सम्पत्ति नोक्सान भयो ।
सरकारले जनताको समस्या सुन्नुपथ्र्याे† सुनेर माग पूरा गर्नुपथ्र्याे । शासकहरू अभिमानी भए; शासकहरूमा हुङ्कार बढ्यो । कसैले केही गर्न सक्दैन भन्ने अभिमानीको फल झन्डै बहुमत प्राप्त सरकारले भोग्नुप¥यो । केपी ओलीको सरकार कसैले पनि कहिल्यै सरकार ढाल्न सक्दैन भनी दाबी गथ्र्याे । सरकारको त्यही हुङ्कार र अभिमानकै कारण देशकै सबभन्दा शक्तिशाली सरकारले सत्ता छोड्नुप¥यो । जेन–जीको आन्दोलन राजनीतिक आन्दोलन पनि होइन । सरकार ढाल्ने आन्दोलनको उद्देश्य पनि होइन । तर, सरकारको कठोर निर्णय, कठोर बोलीले सत्ता छोड्नुप¥यो । शासकहरूले आफ्नो दललाई जतिसुकै ठुला ठाने पनि सत्ताच्युत भएपछि उनीहरू नुन आएको कुखराझैँ भए । अहिले पनि उनीहरूले शिर ठाडो पार्न सकेका छैनन् ।
सत्ताच्युत हुनु र घर–भवन जल्नु एउटा घटना मात्र होइन । दुई दिनको आन्दोलनले सरकार ढलेको, देशभरका प्रहरी कार्यालय र देशकै महत्वपूर्ण भवनहरू जलेको घटनालाई इतिहासले बिर्सने छैन । यो इतिहासमै छाप पर्ने घटना हो । शक्तिको अहङ्कारले शक्तिकै कारण सरकार ढल्यो । जेन–जीको आन्दोलनअघि नै आन्दोलनबारे सूचना पाएको हो भने सरकार संवेदनशील हुनुपर्ने हो; कहाँ के हुन लागेको छ भन्ने कुराको खोजीनीति गर्नुपर्ने हो । राज्यको सुरक्षा निकायले समयमै सूचना दिएपछि के सरकारले विचार गर्नुपर्दैन ? सरकार समयमै गम्भीर नहुँदा र सही निर्णय गर्न नसक्दा अहिलेको स्थिति आयो ।
सवाल जेन–जी आन्दोलनको मात्र होइन जेन–जी आन्दोलनमा घुसपैठको प्रश्न पनि छ । यस्तै घुसपैठ गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलनमा पनि भएको थियो । त्यसबेला पनि सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी भएको थियो । दुईजनाको मृत्यु भएको थियो । घुसपैठ हुने कुरा पटक–पटक सरकारको नेतृत्व गरेका, राजनीतिक इतिहास बोकेका शासक दलका नेताहरूले कसरी भेउ पाउन सकेनन् ? राजनीति गर्नु या शासन गर्नु भनेको सिंहासनमा बस्नुमात्र होइन; ऐøयासी जीवन बिताउनुमात्र होइन । सरकार टिकाउने नाउँमा उनीहरूले असमान सन्धि सम्झौता गरेर देशविरोधी काम गरे । सरकारको नेतृत्व गर्ने नाउँमा अपवित्र गठबन्धन र भागबन्डा गरेपछि परिणाम गलत आउनु स्वाभाविक हो ।
शासकहरू देशभक्त बन्न सकेनन् । व्यक्तिगत र दलगत स्वार्थले देश सङ्कटमा प¥यो । सरकार देश र जनताको लागि होइन दल, नेता, मन्त्री तथा सांसदहरूको निम्ति बन्न पुग्यो । इमानदारीपूर्वक देश र जनताको सेवा होइन; राजनीतिलाई कमाउने धन्दा बनाइयो । के के गरेर कमाइएको करोडौँ, अरबौँ रकम बराबरको भवन र सम्पत्ति तीन चार घण्टाको आगोले सखाप भयो । आन्दोलनमा स्वदेशी र विदेशीहरूको घुसपैठ भयो । यसमा सरकारको ध्यान गएन या ध्यान गए पनि सतही ढङ्गले हे¥यो । विदेशीहरूको चलखेलतर्फ शासकहरूको ध्यान गएन । विदेशी शक्ति राष्ट्रहरूको उठबसमा बस्दा देशको स्थिति के हुन्छ भन्ने कुरा आन्दोलनले देखायो । शासकहरूलाई ‘हामी बाहेक’ को छ ? कसले सरकारको नेतृत्व फेर्छ भन्ने अहङ्कारले दुई ठुला दल नेका र एमाले जनतामाझ उदाङ्गिए । व्यवस्था नबदलिकन सरकार परिवर्तनले मात्र केही हुने होइन । अन्तरिम सरकारले त झन् कुनै परिवर्तन गर्न सक्दैन । देशको घटनाक्रमले यहीँ देखाएको छ । अबको कुनै पनि सरकार विदेशीको इसारामा होइन, कसैको घुसपैठमा होइन जनताकै खुट्टामा उभेर राजनीति गर्नुपर्छ; सरकार चलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *