भर्खरै :

प्रेरणादायी चीनको उच्च गतिको रेलवे क्रान्ति

  • आश्विन २९, २०८२
  • डेभिड डोडवेल
  • विचार
प्रेरणादायी चीनको उच्च गतिको रेलवे क्रान्ति

आजभन्दा दुई सय वर्षपहिले सेप्टेम्बर २७ मा पहिलो यात्रुवाहक रेल चलेको थियो । त्यस दिन सयौँ यात्रुले उत्तरपूर्वी इङ्ग्ल्यान्डको कोइलाखानी सहर सिल्डनबाट डार्लिङ्टन हुँदै स्टकटन बन्दरगाहसम्म २६ माइल यात्रा गरेका थिए । जर्ज स्टिफनसनले बनाएको बाफबाट चल्ने ‘लोकोसन नम्बर १’ नामक रेलको गति २४ किलोमिटर प्रतिघण्टा थियो । पछिल्लो दुई सय वर्षको अवधिमा रेलसेवामा धेरै विकास भइसकेको छ । आज, हरेक वर्ष संसारभर २० अर्ब टिकट काटिन्छ भने करिब ६ अर्ब टन माल ढुवानी हुने गर्छ ।
रेलसेवाको कुरा गर्दा विश्वमा सबैभन्दा ठुलो प्रगति चीनको रेल प्रणालीमा देखिन्छ । निश्चित रूपमा सुरुमा जापानको सिन्कानसेन रेलसेवाले रेलयात्रालाई गति, बिलासिता र विश्वसनीयताको पर्यायवाची बनाउने काम ग¥यो । तर, पछिल्लो समय चीनको रेलसेवामा आएको क्रान्ति विशिष्ट छ र अद्वितीय देखिन्छ । चीनमा देखिएको परिवर्तन १७ वर्षभित्रै भएको हो । चीनको पहिलो उच्च गति (हाई–स्पिड) को रेलमार्ग सन् २००८ मा ११७ किलोमिटर लम्बाइको पेइचिङ–टियानजिनबिचको लाइनबाट सुरु भएको थियो । यी दुई सहरबिचको यात्रा अवधि अहिले ३० मिनेट मात्र छ ।
चीनको यात्रुकेन्द्रित रेलसेवाले घरेलु पर्यटनलाई नै रुपान्तरण गरिदिएको छ । गत वर्ष झण्डै चार अर्ब टिकट काटिएको थियो । जबकि, यही अवधिमा विश्वको सबैभन्दा ठुलो अमेरिकी रेल प्रणालीमा जम्मा तीन करोड ३० टिकट काटिए । मुख्यतः सामान ढुवानीमा समर्पित भएकोले यति न्यून यात्रुले सेवा लिएको हुनसक्छ ।
चीनको तीव्रगतिको रेल क्रान्तिमा सरकारले सयौँ अर्ब अमेरिकी डलर खर्च गरेको छ । रेलको ठुलो सञ्जालको रेलसेवाले चीनको घरेलु हवाई यात्रा घटाउनुको सट्टा पुनः आकार दिइरहेको ‘सिरियम एसेन्ड कन्सल्टेन्सी’ का विश्लेषक स्कट झाओको ठम्याइ छ । अनुसन्धानले चीनमा ८०० किलोमिटरभन्दा कम दूरीको यात्रामा उच्च गतिको रेलको प्रभुत्व रहेको र अन्तर्राष्ट्रिय उडानका अतिरिक्त ८०० किलोमिटरभन्दा लामो दूरीको यात्रामा भने वायुसेवाकै प्रभुत्व रहेको देखाउँछ ।
चीनको उच्च गतिको रेल सस्तो मात्र छैन, यसले धेरै समय बचत गर्छ । परामर्शदाताका अनुसार चिनियाँ रेलवे स्टेसनहरू सामान्यतया नियमित यात्रुको घरबाट १०–१५ किलोमिटर टाढा हुन्छन् । जबकि, विमानस्थलहरू औसत २५–४० किलोमिटर टाढा हुन्छन् । विमानस्थलमा उच्च सुरक्षाले विमान चढ्ने र ओर्लने प्रक्रियालाई ढिलो बनाउँछ, जुन झन्झट रेलमा देखिँदैन ।
चीनमा रेलयात्राको रेकर्ड पनि निकै राम्रो देखिन्छ । जस्तो, सबै देशमा जस्तो विमानको उड्ने समयतालिका निश्चित हुँदैन । उडानहरू प्रायः खराब मौसमले प्रभावित हुने गर्छन् । यसले गर्दा उडान पटक–पटक ‘डिले’ हँुदा उडान अवधिभन्दा लामो समय विमानस्थलमै पर्खाइमा बित्ने गर्छ । उत्तरी चीनको अस्थिर मौसम रहेको क्षेत्रमा यो झन् बढी हुने गर्छ । तर, विमानमा भन्दा बढी समय लाग्ने भए पनि समयमै छुट्ने भएकोले व्यवहारमा भने रेल यात्रा बढी समयनिष्ठ हुने गर्छ । विशेषतः प्रमुख सहरहरू जोड्ने रेल छुट्ने र आगमनको समय थप सटिक देखिन्छ ।
चीनमा उच्च गति रेलसेवामा भएको क्रान्ति अन्य देशको तुलनामा के कुराले भिन्न छ त ? रेल सञ्जाल देशका सयौँ प्रमुख सहरसम्म पु¥याइएकोले निश्चित रूपमा यसको विस्तार व्यापक छ । चीनमा १० लाखभन्दा बढी जनसङ्ख्या भएका कम्तीमा ६५ सहर छन् । जबकि, यो सङ्ख्या जापानमा १३, संयुक्त राज्य अमेरिकामा ११, फ्रान्समा ६, बेलायतमा चार र स्पेनमा दुई सहर छन् । यसबाहेक, चीनको विशाल १.४ अर्ब जनसङ्ख्या सम्पन्नशाली बन्दै गएकाले तिनमा सुविधासम्पन्न यात्राको चाहना बढ्दै गएको छ ।
चीन उच्च गतिको रेल सञ्जालको लम्बाइको हिसाबमा विश्वमै पहिलो स्थानमा छ, जहाँ कुल रेलमार्गको लम्बाइ ४८ हजार किलोमिटर पुगिसकेको छ । दोस्रो स्थानमा रहेको स्पेनको उच्च गतिको रेल सञ्जाल धेरै पछाडि अर्थात् करिब तीन हजार ९९३ किलोमिटर छ । त्यसपछि जापान र फ्रान्सले रेलमार्गको लम्बाइ क्रमशः तीन हजार १४७ किलोमिटर र दुई हजार ७६० किलोमिटर छन् । सन् २००७ देखि निर्माण सुरु भएको बेलायतको एचएस १ रेलमार्ग १०९ किलोमिटरको लम्बाइमा पुगेर अड्किएको छ । अमेरिकामा यात्राका लागि अझै कार र हवाई यात्रा नै लोकप्रिय हुँदा त्यहाँको रेलसेवा माल ढुवानीमै केन्द्रित छ । त्यसैले, त्यहाँ मानिसले एम्ट्¥याक रेलभन्दा बरु ‘ग्रेहाउन्ड बससेवा’ कै चर्चा बढी सुनेका हुन्छन् । जहाँसम्म भारतको कुरा छ, त्यहाँ ६८ हजार किलोमिटरको पुरानो खालको सुस्त गतिको रेल सञ्जाल छ । भर्खरै जनसङ्ख्यामा चीनलाई उछिनेको भारतमा १ करोडभन्दा बढी मानिस भएको सहर कम्तीमा ४० वटा छन् । अहिले नै भारतमा प्रतिवर्ष आठ अर्ब टिकट काटिन्छ । भारतमा उच्च–गतिको रेल सञ्जालका लागि उपयुक्त ठुलो जनसङ्ख्या छ । सरकारले यस दिशामा काम सुरु गरेको भए पनि लगानीको अभावले प्रगति आंशिक रूपमा सुस्त छ ।
त्यसैले, हालसम्म चीन उच्चगतिको रेल सञ्जाल विकासमा एक्लै उभिएको देखिन्छ । सस्तो दरमा देशव्यापी यात्राको अवसर प्रदान गर्नुको अतिरिक्त यसले ठुलो वातावरणीय लाभ पनि ल्याएको छ । हवाई र सडक यातायातमा कार्बन उत्सर्जन हुने वाहनको बाहुल्य रहेको समयमा उच्च–गतिको रेलमार्ग भने बिजुलीले चल्ने गर्छन् । यसले एक विशिष्ट हरित लाभांश प्रदान गरेको छ । यस्तो सेवामा चीन अरूबाट निकै अगाडि रहेर एक्लो उभिनु सुखद कुरा हो ।
(डोडवेल ‘स्ट्रेटेजिक एक्सेस’ नामक व्यापार नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध कन्सल्टेन्सीका सिइओ हुन् ।)
साउथ चाइना मर्निङ पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *