भर्खरै :

वित्तीय बजारमा सहकारीको अवस्था र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऋणी र सदस्यहरूलाई जानकारी एवं छलफल

वित्तीय बजारमा सहकारीको अवस्था र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऋणी र सदस्यहरूलाई जानकारी एवं छलफल

भक्तपुर, १० जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा हालको वित्तीय बजारमा सहकारीको अवस्था र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऋणी र सदस्यहरूलाई जानकारी एवं छलफल कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेश साकोस नीति नियमको पालना गरी सञ्चालन हुँदै आएको चर्चा गर्दै अध्यादेशमार्फत सहकारी ऐन २०७४ मा भएका विभिन्न परिवर्तनबारे जानकारी दिनुभयो ।
उहाँले संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता भइसकेको जानकारी दिँदै ऋण उपभोग गर्न पाउनु सदस्यको अधिकार रहेको र समयमै ऋणको साँवा ब्याज भुक्तानी गर्नु सदस्यको दायित्व रहेको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं कार्यक्रम सहजकर्ता कृष्णगोविन्द लाखाजुले ऋण अधिकार होइन, सुविधा मात्र हो जुन समयमै चुक्ता गर्नुपर्ने बताउँदै ऋण स्वनिर्भर र सम्मानित जीवनका लागि हो भन्नुभयो ।
उहाँले भाखा नाघेको ऋणको कारण ऋण सुरक्षण कोषको व्यवस्था गर्नुपर्ने बताउँदै सो कोषको व्यवस्थाले संस्थाबाट वितरण हुने लाभांशमा प्रत्यक्ष असर गर्ने उल्लेख गर्नुभयो ।
उहाँले हाल वित्तीय बजारमा ३२ हजार ९५६ सहकारी संस्थाहरू रहेको जानकारी दिँदै देशको अर्थतन्त्रमा १६ प्रतिशत सहकारी क्षेत्रको योगदान रहेको उल्लेख गर्नुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं ऋण उपसमिति संयोजक रामचन्द्र दुमरुले ऋणी तथा सदस्यहरूलाई बजारको वित्तीय अवस्थाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै संस्थाको ऋण नीति र सुविधामा भएका संशोधनबारे जानकारी दिनुभयो ।
उहाँले संस्थामा उपलब्ध विभिन्न ऋण सुविधाहरूबारे जानकारी दिँदै सो सुविधाहरूको ऋण सीमाबारे चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *