भर्खरै :

माडागास्करमा जेन–जी क्रान्ति देखाएर सैन्य विद्रोह

माडागास्करमा जेन–जी क्रान्ति देखाएर सैन्य विद्रोह

माडागास्करमा हप्तौँसम्म चलेको ‘जेन–जी’ प्रदर्शनपछि एक एलिट सैन्य एकाइले सैन्य कु ग¥यो । राष्ट्रपति एन्ड्र राजोलिना रातारात देश छाडेर भाग्न बाध्य भए । राष्ट्रपतिले देश छाडेको केही घण्टापछि नै संसद्ले उनलाई महाभियोग लगाएर हटाएको छ । राजोलिनाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संसद् विघटन गर्ने निर्णय गरेको घोषणा गरेको बताएपछि मङ्गलबार दिउँसो उनीविरुद्ध महाभियोगको मतदान भएको थियो ।
‘मैले संविधानअनुसार राष्ट्रिय सभा विघटन गर्ने निर्णय गरेको छु,’ राजोलिनाले मङ्गलबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै भएका थिए, ‘देशको शान्ति व्यवस्था पुनस्र्थापित गर्न र लोकतन्त्रलाई बलियो बनाउन यस्तो विकल्प आवश्यक परेको हो । जनताको मत सुनिनुपर्छ । युवालाई मार्गप्रशस्त गरौँ ।’
उसो त मेडागास्कर राजनीतिक सङ्कट र विद्रोहको लामो इतिहास बोकेको देश हो । हाल राजोलिनाको बहिर्गमनमा धेरैले सन् २००९ मा भएको विरोध प्रदर्शनको पुनरावृत्तिको झल्को देखेका छन् । त्यसै विद्रोहपछि सेनाले कु गरेर तत्कालीन राजधानीका मेयर राजोलिनालाई राष्ट्रपति चुनेको थियो । यद्यपि, उनले सत्ता सम्हालेपछि उनकै सरकार भ्रष्टाचारमा डुबेको र अर्थतन्त्र व्यवस्थापनमा कमजोर भएको आरोप लाग्ने गर्छ । त्यसै अव्यवस्थापनका कारण बिजुली र पानीको आपूर्ति अनियमित भएको विरोधमा सुरु भएको विरोध प्रदर्शन अहिले माडागास्करले वर्षौंमा सामना गरेको सबैभन्दा गम्भीर सङ्कटमा परिणत भएको छ ।
‘क्याप–स्याट’ भनेर चिनिने एलिट सैन्य एकाइले सरकारी प्रसारण संस्था कब्जा गरेपछि राजोलिनाले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भिडियो सन्देश दिएका थिए । संसद्ले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया पूरा गरेपछि क्याप–स्याटले मङ्गलबार दिउँसो नै आफूले देशको ‘कमाण्ड सम्हालेको’ घोषणा गरेको थियो, जसलाई राजोलिनाले ‘असंवैधानिक’ भनेका छन् । स्थानीय मिडियाका अनुसार देशको सर्वोच्च अदालतले मङ्गलबार साँझ नै ‘क्याप–स्याट’ प्रमुख कर्नल माइकल रान्ड्रियानिरिनालाई देशका प्रमुखको रूपमा स्विकारेको छ ।
उता रान्ड्रियानिरिनाले भने अक्टोबर १२ देखि सुरु भएको घटनाक्रम ‘कु’ नभएको बताएका छन् । रान्ड्रियानिरिनाले अक्टोबर १४ मा आफूलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्नुलाई ‘मालागासी जनताको निरन्तर आह्वान’ पछिको कदम बताएका छन् । कु सुरु भएपछि राजोलिना माडागास्करको पूर्वऔपनिवेशिक शक्ति फ्रान्सको स्वामित्वमा रहेको सैन्य विमानमा देशबाट भागेको मिडिया बताइरहेका छन् । सामाजिक सञ्जालमार्फत राजोलिनाले फेरि सत्तामा फर्कने वाचा गरेका भए पनि त्यसको सम्भावना न्यून देखिन्छ ।
मेडागास्करमा विकसित पछिल्ला घटनाक्रमलाई दुई प्रवृत्तिका उदाहरणको रूपमा हेर्न सकिन्छ । पहिलो, यो विश्वव्यापी रूपमा जेन–जी विरोध प्रदर्शनको अर्को उदाहरण बनेको छ । गत महिना नेपालमा जेन–जी प्रदर्शनकारीले प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य पारेपछि त्यसले अन्यत्रका आन्दोलनलाई प्रेरित ग¥यो । नेपालको आन्दोलनको सिको गर्नेमा इन्डोनेसियापछि माडागास्कर बनेको छ । उसो त पछिल्लो दुई वर्षको अवधिमा केन्या, पेरु र बङ्गलादेशका युवा पनि सरकारविरुद्ध सडकमा उत्रिएका थिए । दोस्रो, माडागास्कर अफ्रिकामा चलिरहेको सैन्य कुको लहरको सिकार बनेको छ । माडागास्करको कु सन् २०२० को दशकको अफ्रिकामा भएकामध्ये दसौँ सफल सैन्य कु हो । अफ्रिकामा सन् २००० देखि २०२० मा जति सैन्य कु भएको थियो, त्यति पहिल्लो पाँच वर्षमै भइरहेको छ ।
हुन त प्रदर्शनमा उत्रिएका युवाले राजोलिनाको शासनका कमजोरी उजागर गरिदिएको भए पनि सत्ता ढाल्नमा बन्दुकधारीको मुख्य हात रह्यो । यस्तोमा अहिले मुख्य प्रश्न, अन्य अफ्रिकी देशभन्दा फरक रूपमा यहाँको सेनाले सत्ता छिटै छाड्छ कि छाड्दैन भन्ने हो । हालसम्म धेरै मालागासीले रान्ड्रियानिरिनालाई ‘शङ्काको लाभ’ दिइरहेको देखिन्छ । उनीहरूमा अहिलेसम्म २१ औँ शताब्दीका अन्य राजनीतिक सङ्कटमा जस्तै छिटै नागरिक शासन फर्किने विश्वास छ ।
यसअघि सन् २००२ मा निर्वाचन परिणाममा विवाद उठेपछि सेनाले वास्तविक विजेताको पक्ष लिएर देशलाई गृहयुद्धमा जानबाट रोकेको थियो । त्यसपछि फेरि सन् २००९ मा अहिलेजस्तै सरकारविरुद्ध विरोध प्रदर्शन उठेको समयमा क्याप–स्याटको नेतृत्वमा कु भएको थियो । सोही कुले अहिले भागेका राष्ट्रपति राजोलिनालाई शक्ति सुम्पिएको थियो । त्यतिबेला देशको राजधानीका मेयर रहेका राजोलिनाले त्यसयताका धेरै समय मेडागास्करले नेतृत्व गरे । विश्वमै उच्च गरिबी भएको देशमा पर्ने माडागास्करमा करिब ७० प्रतिशत जनता प्रतिदिन तीन डलरभन्दा कम आयमा बाँच्न विवश छन् । जब किसानो अभिजात वर्ग अत्यन्तै धनी छ ।
५१ वर्षीय कर्णलबारे धेरै कुरा बाहिर आएको छैन । सन् २००९ को कुका बेला उनी खासै प्रभावकारी थिएनन् । सन् २०२३ मा उनलाई विद्रोह प्रयासमा भूमिका निभाएको आरोपमा एक वर्षका लागि निलम्बित गरिएको थियो । उल्लेखनीय कुरा, उनी माडागास्करमा हालसम्म प्रभावशाली रहेको मेरिना जातीय समूहभन्दा बाहिरका देशको सबैभन्दा विपन्न दक्षिणी भेगका जनजातिका सदस्य हुन् । उनको जातिको जरा दक्षिणपूर्वी एसियासँग जोडिन्छ । मूल जातिभन्दा बाहिरबाट आएका पृष्ठभूमिले उनले विपन्नको मत जित्न सघाउनेछ भने सम्भ्रान्त वर्गलाई चिन्तित बनाउन सक्छ ।

– द इकोनोमिस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *