भर्खरै :

बनेपामा न्हू दँको शुभकामना आदानप्रदान कार्यक्रम

बनेपामा न्हू दँको शुभकामना आदानप्रदान कार्यक्रम

काभ्रे, ५ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काभ्रेको आयोजनामा नेपाल संवत् ११४६ न्हू दँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार बनेपामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले साहित्यले नयाँ पुस्तामा जागरण र चेतना ल्याउने काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यमा पनि वर्गीय छाप हुने र उच्च वर्गले निम्न वर्गका सर्जकहरूलाई स्थान नदिने भएकोले निम्न वर्गको आफ्नै दबु (मञ्च) हुनु आवश्यक देखिएको हो । कुनै पनि भाषा प्रयोगमा नल्याए त्यो आफै लोप भएर जान्छ । हामी र हाम्रा सन्ततिले आफ्नो मातृभाषा बोल्न छोड्नुहुन्न ।”
पूर्वेली सभ्यताको प्रचारप्रसार र निरन्तरताको आवश्यकता औँल्याउँदै उहाँले ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्ने, परम्परागत बाजागाजा, दाफा भजनको संरक्षण गर्नुपर्ने अग्रजहरूले पछिको लागि भनेर आवश्यक वस्तु साँचेर राख्ने गरेको तर नयाँ पुस्तामा त्यस्तो आदत नदेखिएको भन्नुभयो ।
“आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ । आन्दोलन चर्किएर गएमा निर्वाचन नहुन पनि सक्छ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा निर्वाचनमा जानुको विकल्प छैन । एमालेले निर्वाचन हुन नसक्ने र निर्वाचन गरिहाले पनि भाग नलिने भनिरहेका छन् । यदि एमालेले निर्वाचनलाई बहिष्कार गरे उसैलाई घाटा हुन्छ,” उहाँको कथन थियो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले साहित्यको माध्यमबाट जनताको सांस्कृतिक स्तर उठाउनुपर्ने र विध्वंस गर्नु क्रान्ति नभएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधान, नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका सचिव ओमप्रसाद मानन्धर, सह–सचिव ज्ञानेन्द्र डंगोल, कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठ, सदस्य डा. हरिप्रसाद मानन्धरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *