पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
जेनेभा, ७ कार्तिक (एएफपी) । हमास र इजरायलबिच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भन्नुभयो, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन । स्थिति अझै भयावह छ ।”
“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबिच अक्टोबर १० देखि युद्धविराम लागु भए पनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उहाँले भन्नुभयो ।
इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।
सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टिन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूसँग भन्नुभयो ।
“यी सबै मृत्युहरू रोक्न सकिने थिए,” डब्ल्यूएचओको मानवीय र विपद् कार्यका लागि एकाइ प्रमुख टेरेसा जकारियाले भन्नुभयो ।
“गाजामा छ लाखभन्दा बढी मानिसहरूले हाल ‘खाद्य असुरक्षाको विनाशकारी स्तर’ को सामना गरिरहेका छन्,” उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताले प्रतिदिन ६०० ट्रकहरू खाद्यान्नलगायत अति आवश्यकीय सामग्री लिएर प्रवेश गर्ने प्रावधान गरेको भए पनि अहिले दैनिक २०० देखि ३०० ट्रकहरू मात्र प्रवेश गरिरहेका छन् ।
“व्यावसायिक ट्रकहरूको ठुलो सङ्ख्या गाजामा भित्रिएको छ तर यस क्षेत्रका धेरै मानिसहरूसँग सामान किन्न कुनै स्रोत छैन,” उहाँले भन्नुभयो ।
“यसले लाभार्थीको आकार घटाउँछ,” उहाँले भन्नुभयो ।
पन्ध्र हजार व्यक्ति उपचारको पर्खाइमा
डब्ल्यूएचओ प्रमुखले उल्लङ्घनका बाबजुद युद्धविराम कायम रहेको तथ्यको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्कटको निदान धेरै टाढा छ र आवश्यकताहरू अझै धेरै छन् ।”
“सहायताको प्रवाह बढेको छ यद्यपि यो अझै आवश्यकताको एक अंश मात्र हो,” उहाँले थप्नुभयो ।
हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्य आपत्कालीन घटना व्यवस्थापक नबिल तब्बालले युद्धविरामपछि ८९ जनाको मृत्यु भएको र ३१७ जना घाइते भएको जानकारी दिनुभयो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि प्यालेस्टिन क्षेत्रमा इजरायलको दुईवर्षे युद्धको क्रममा गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।
टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर खर्च हुने चेतावनी दिनुभएको छ ।
टेड्रोसले भन्नुभयो, “गाजामा पूर्ण रूपमा काम गर्ने अस्पतालहरू छैनन् । गाजामा भएका ३६ मध्ये १४ वटा अस्पतालबाट पूर्ण क्षमतामा नभए पनि उपचार कार्य भइरहेको छ । त्यहाँ अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ ।”
डब्ल्युएचओका अनुसार गाजामा एक लाख ७० हजारभन्दा बढी मानिसहरू घाइते भएका छन् भने योमध्ये पाँच हजारभन्दा बढी अङ्गभङ्ग भएका र तीन हजार ६०० मानिसहरू गम्भीर रूपमा जलेको अवस्थामा छन् ।
उहाँले भन्नुभयो, “युद्धविराम लागु भएदेखि नै डब्लुएचओले थप स्वास्थ्य सामग्री अस्पतालहरूमा पठाउँदै आएको छ, थप आपत्कालीन मेडिकल टोली तैनाथ गरिरहेको छ र स्वास्थ्य उद्धार बढाउन प्रयास गरिरहेको छ ।”
विश्व स्वास्थ्य सङ्गठनले बुधबार ४१ बिरामी र १४५ साथीलाई उद्धार गर्न सहजीकरण गरेको थियो ।
उहाँले भन्नुभयो, “गाजा बाहिर लगेर उपचारको आवश्यकता भएका अझै १५ हजार बिरामीहरू छन् र तीमध्ये चार हजार बिरामी बालबालिका रहेका छन् ।”
टेड्रोसले गाजाबाट विशेष हेरचाहका लागि बिरामीहरू लैजान थप देशहरूलाई आग्रह गर्नुभयो । उहाँले इजरायललाई ‘इजिप्टमा थप बिरामीहरूको उपचार गर्न अनुमति दिन र सहायताको मात्रा बढाउन सक्षम बनाउन सबै सीमा नाकाहरू खोल्न अनुमति दिन आग्रह गर्नुभयोे ।
“विशेषगरी केही बिरामीहरूको लागि चिकित्सा सामग्रीको निकासीमा ढिलाइ हुनुले उनीहरूले उपचारको प्रतीक्षा गर्दा गर्दै मृत्यु हुनसक्ने अवस्था आउन सक्छ,” उहाँले चेतावनी दिनुभयो ।
Leave a Reply