भर्खरै :

कसले के बोले, के के सत्य हुन् ?

कसले के बोले, के के सत्य हुन् ?

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्कीको सरकारलाई ‘हाहुबाट बनेको सरकार’ बताएपछि सुशीला सरकारका गृहमन्त्रीले जवाफ दिए – पटक पटक प्रधानमन्त्री भएका ओलीले यो सरकारको विरूद्ध मुद्दा लडेको खोइ त ? अदालतप्रति विश्वास छैन ।
गृहमन्त्रीलाई ‘बाबु’ भन्ने, पुलिसका आईजीपीहरूलाई ‘बाबु’ भन्ने, सेनापतिका सुझावहरू नमान्ने, उहाँ ‘सुपर ह्युमान’ हो ? उहाँलाई औकातमा ल्याइदिनुपर्ने भयो ?
उहाँकै सिफारिसमा जन्मेको सरकार होइन र यो ? उहाँको मूर्खताले सबैलाई दिइएको अवसरबाट वञ्चित गर्ने ?
पूर्वप्रधानमन्त्री ओलीले अन्तरिम सरकारलाई जवाफ दिए– अवैध ढङ्गले अचानक पलाएका अन्तरिम सरकारका धाक धक्कु, धम्की, आफ्नो काम छोडेर अरूतिरका तमासा यी कुराहरूसँग किञ्चित बिचलित हुँदैनौँ ।

xxx

आफू कामचलाउ प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रपतिलाई के लेखेर दिए ? सार्वजनिक भएको छैन । राष्ट्रपति पौडेलले भदौ २७ गते सुशीला कार्की, मोरङलाई प्रधानमन्त्री नियुक्ति गरे बेलाको प्रेस वक्तव्यमा स्पष्टसँग ‘प्रधानमन्त्रीको सिफारिस र सम्मत्ति’ मा भनी उल्लेख गरेका छन् ।
माओवादीका पुष्पकमल दाहालले पनि थपे, “कामचलाउ प्रधानमन्त्री ओलीले पठाएको चिठी हेरेको र सुशीला कार्कीको सरकार हाहुमा बनेको भनिएको झूटा हो ।”
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि राष्ट्रपति पौडेल सेनाको सुरक्षामा रहेका ओलीलाई भेट्न पुगेको के सत्य हो ? यसबारे राष्ट्रपति पौडेलले स्पष्ट गर्नु जरूरी छैन र ?
यतिबेला प्रश्न उठिरहेको छ – ओलीको ठाउँमा सुशीलालाई प्रधानमन्त्री बनाउन यति धेरै युवाहरूको हत्या हुनुपर्ने र सार्वजनिक भवनहरूमा आगलागी गरिनु जरूरी छ र ? यसबारे ओली, दाहाल र वर्तमान सरकारले जनतालाई स्पष्टसँग बताउनु पर्दैन र ?
सुशीला कार्कीको अन्तरिम सरकारले ब्लक भएर बसेको आर्थिक अपराधका मुद्दा सुचारू गर्ने बताएपछि माओवादी अध्यक्ष दाहालले आफ्ना दुई कार्यकर्ता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई प्रम कार्कीलाई भेट्न पठाएर सम्पत्ति शुद्धीकरणमा छानबिन रोक्न दबाब दिएको सार्वजनिक भयो ।
यो अस्थिरता र सङ्कटको लागि नेका, एमाले, माओवादी, रास्वपा, मधेसी दल, राप्रपालगायत सरकारमा गएका दल र नेताहरू जिम्मेवार हुनु पर्दैन र ? भदौ २३ अघि सरकारमा गएका दलहरूले आफ्नो कमजोरी स्वीकार गर्नुपर्दैन ?

xxx

दुईतिहाइको सरकारका प्रधानमन्त्री भएका ओली देश सम्हाल्न नसकेपछि सेनाको हेलिकप्टर चढेर भाग्नु परेको हुँदा एमालेको केन्द्रीय समितिको बैठकमा ओलीले एमाले अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पनि उठिरहेको छ । नेपाली जनताले सरकारमा गएका दल र तिनका नेता–मन्त्रीहरूलाई क्रमशः चिन्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *