भर्खरै :

परियति सद्धम पालक प्रवेश तृतीय वर्ष (तह ६) द्वितीय पत्र पुस्तक पढ्दा

परियति सद्धम पालक प्रवेश तृतीय वर्ष (तह ६) द्वितीय पत्र पुस्तक पढ्दा

अखिल नेपाल भिक्षु महासङ्घले नेपाल बौद्ध परियति शिक्षा सञ्चालन गरिरहेको छ । ‘परियति सद्धम पालक’ को प्रवेश तृतीय वर्ष (तह ६) को द्वितीय पत्रको लागि यो पाठ्यपुस्तक तयार गरिएको हो । नेपाल बौद्ध परियति शिक्षा समितिको निर्देशनअनुसार ‘परियति सद्धम पालक’ को प्रवेश तृतीय वर्ष (तह ६) द्वितीय पत्रको यो पाठ्यपुस्तकमा प्रथम खण्डमा ‘धम्मपद’, द्वितीय खण्डमा ‘धम्मपदअट्ठ कथा’ र तृतीय खण्डमा ‘स्मरणीय बौद्ध व्यक्तित्वहरू’ को चर्चा छ ।
प्रथम खण्डको ‘बालवग्गो’ मा मूर्ख वर्ग, पण्डित वर्ग र अर्हत् वर्गको सन्देशमूलक उक्तिहरूको चर्चा गरिएको छ । मूर्ख वर्गमा आफूभन्दा गुणी मानिसको सङ्गत गर्न र आफूभन्दा दुर्गुणीको सङ्गत कहिल्यै नगर भनिएको छ । मूर्खहरूले आफैलाई शत्रु बनाएर पाप कर्म गर्ने, त्यही पाप कर्मले कटुफल पाउने, पापको फल भोगेपछि मात्र दुखित ठान्ने र मूर्खले आफ्नो मूर्खताको कारण आफ्नो भविष्यलाई बिगार्ने प्रसङ्ग मूर्ख वर्गमा उल्लेख गरिएको छ । पण्डित वर्गमा असभ्य स्वभाव छोड्नुपर्ने, दोष देखाइदिने व्यक्तिलाई मित्र ठान्नुपर्ने, पापी र अधमसँग सङ्गत नगर्न र असल धर्म ग्रहण गर्न जोड दिइएको छ । अर्हत् वर्गमा राम्रोसँग जानीबुझी मुक्त भइसकेका अर्हत् पुरुषको मन, वचन तथा कर्म शान्त हुन्छ भनिएको छ ।
द्वितीय खण्डमा ‘धम्मपदअट्ठ कथा’ को विषय राखिएको छ । यसमा अप्रमाद वर्गअन्तर्गतका कथाहरूमा श्यामावती, कुम्भघोषक, चूलपन्थक, मूर्ख क्रिडा, महाकश्यप महास्थविर रहेका छन् भने चित्त वर्गअन्तर्गत मेघिय स्थविर, सङ्घरक्षित स्थविर, चित्त हत्थ स्थविर, नन्द गोपालक र सोरेयरबारे वर्णन गरिएको छ । पुस्तकमा धुलोलाई मात्र होइन मैलोलाई सफा गरी भिक्षुहरू निर्मल बुद्ध शासनमा बस्ने कुरा उल्लेख गरिएको छ । बुद्धिमानले संयम र चित्त दमन गरी अप्रमादी (अमृतको बाटो) भएर बाढीले पनि हुत्याउन नसक्ने टापु समान आफूलाई बनाउनुपर्ने प्रसङ्ग उठाइएको छ । मूर्खहरू प्रमादी (मृत्युको बाटो) हुन्छन् र पण्डितहरू सेठले धन रक्षा गरेझैँ अप्रमादलाई रक्षा गर्छन् । चित्तको वशमा बस्नु हुन्न । यो चित्त लघु परिवर्तन भएकोले त्यसलाई आफ्नो वशमा राख्न सक्नुपर्छ भन्ने बुद्धको मान्यता हो । माछालाई पानीबाट जमिनमा राख्दा जसरी छटपटिन्छ त्यसरी नै मारको जालबाट छुटाउँदा चित्त छटपटाउँछ । टाढाटाढासम्म पुग्न सक्ने, एक्लै हिँड्ने, बिनाशरीर गुफामा बस्ने चित्तलाई वशमा राख्न सक्ने व्यक्ति मारको बन्धनबाट मुक्त हुने प्रसङ्ग पनि पुस्तकमा वर्णन गरिएको छ ।
‘चित्त हत्थ स्थविर’ शीर्षकमा चित्त स्थिर नभएको, सद्धर्म नजान्ने र अल्प श्रद्धा हुने व्यक्तिलाई पूर्णरूपले प्रज्ञा ज्ञान प्राप्त नहुने कुरा वर्णित छ । ‘नन्द गोपालक’ भन्ने पाठमा शत्रुले शत्रुलाई जति हानि पु¥याउन सक्छ त्योभन्दा बढ्ता हानि कुमार्गमा लागेको चित्तले पु¥याउँछ भनिएको छ । ‘सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्दछ, त्यति उपकार बाबुआमा र कुटुम्बले समेत गर्न सक्दैनन्’ भनिएको छ ।
प्रथम खण्ड ‘धम्मपद’ र द्वितीय खण्ड ‘धम्मपदअट्ठ कथा’ विषयको अनुवाद आचार्य भिक्षु अमृतानन्दले गरेका हुन् । तृतीय खण्डमा स्मरणीय बौद्ध व्यक्तित्वहरूको सङ्क्षिप्त चर्चा गरिएको छ । यसका लेखक रत्नसुन्दर शाक्य हुन् ।
पुस्तकमा बौद्ध व्यक्तित्वहरूअन्तर्गत भिक्षु प्रज्ञानन्द महास्थविर, धर्मालोक महास्थविर, शाक्यानन्द महास्थविर, अमृतानन्द महास्थविर, बुद्धघोष महास्थविर, सुदर्शन महास्थविर, ज्ञानपूर्णिक महास्थविर, ऋषि महाप्रज्ञा र उपासक भाजुरत्न साहुको चर्चा गरिएको छ ।
भिक्षु प्रज्ञानन्द महास्थविर (वि.सं. १९५७–२०४९) विशेषगरी काठमाडौँ उपत्यकामा स्थविरवाद बुद्ध धर्म पुनरुत्थान गर्न अग्रसर थिए । उनले ज्योतिषी विद्या, आयुर्वेदिक, झारफुक (वैद्य कार्य) सम्बन्धी ज्ञान हासिल गरेका थिए । ६ वर्ष ल्हासामा बिताउँदा उनलाई स्थानीयहरू ‘हासां ग्याबु’ (सदा मुस्कुराउने) भनी चिन्थे । श्रामणेर कर्मशील नै नेपालमा स्थविरवाद बुद्ध धर्म पुनरुत्थानका पहिलो बौद्ध श्रमण थियो । प्रज्ञानन्द महास्थविरले ‘श्रामणेर कर्मशील’ प्राप्त गरेका थिए । जुद्ध शमशेरको सरकारले २००१ साउन १५ (३० जुलाई १९४४) मा उनीलगायत ८ जना स्थविरवादी एवम् श्रमणेरहरूलाई देश निष्कासन सजाय दिएको थियो । उनीहरूलाई विहार–विहारमा बुद्ध पूजा गर्न नपाउने, उपासक उपसिकाहरूलाई धर्माेपदेश गर्न नपाउने र गृहस्थीहरूलाई प्रवजित नगराउने सर्त नमानेपछि सो सजाय दिइएको हो । देश निष्कासनपछि उनीहरू रक्सौल पुगे । पछि कालिम्पोङ गए । पछि दार्जिलिङ गए । कुशी नगर पुगेका प्रज्ञानन्द पछि भिक्षु अमृतानन्दको प्रयासबाट कान्तिपुरमा २००३ वैशाख ५ गते आएका थिए । उनले देशका विभिन्न विहारमा पुगी धर्म प्रचार गरे । उनले चीनको राजधानी पेइचिङमा भएको एसियाली बौद्ध सम्मेलनमा भाग लिएका थिए । उनले पोखराको अन्तु डाँडामा विश्व शान्ति स्तूप निर्माणार्थ बुद्ध मूति स्थापना गरे । जीवनभर धर्म प्रचारको यात्रामा लागेका उनी अन्ततः २०४९ फागुन २८ गते ९४ वर्षमा जीवन यात्रा अन्त गरे ।
पुस्तकमा समाज सुधारक भिक्षु धर्मालोक महास्थविर (वि.सं. १९४७–२०२४) को पनि सङ्क्षिप्त चर्चा छ । धर्मालोक धर्म सेनापतिको रूपमा भूमिका निभाएका व्यक्तिमा परिचित थिए । उनी चन्द्रमणि महास्थविरको आचार्यत्वमा प्रवजित भई ‘श्रामणेर धर्मालोक’ भएका थिए । जुद्ध शमशेरको शासन कालमा उनलाई दरबारिया षड्यन्त्रकारीहरूले अनेकौँ भए नभएका कुरा गरेर दुःख दिइएको थियो । उनीमाथि राजद्रोहको कुरा फैलाइयो भनी आरोप लागेको थियो । उनले जवाफमा भनेका थिए, “हाम्रो धर्म त चोरी नगर्ने हो, झूटो नबोल्ने हो; जाँडरक्सी नखाने हो; रण्डीबाजी नगर्ने हो; हिंसा नगर्ने हो ।” त्यसपछि यो भिक्षु साधु हो भनी छुट दिइएको प्रसङ्ग पुस्तकमा छ । तिब्बत हुँदै हङकङसम्म पुगेका धर्मालोकले ‘बुद्धचर्या’ ग्रन्थको आधारमा ‘बुद्ध गुण’ पुस्तिका लेखे । २०१३ (१९५६) मा भएको ‘चतुर्थ विश्व बौद्ध सम्मेलन’ मा उनले सहयोग गरेका थिए । हरेक क्षेत्रमा अमूल्य योगदान गरेका उनले २०२४ असोज १८ (५ अक्टोबर १९६७) मा आनन्दकुटी विहारमा संसार छोडे ।
भिक्षु शाक्यानन्द महास्थविर (१९६६–२०५४) को जन्म भोजपुरको टक्सारमा भएको थियो । उनले सन् १९६० मा विशिष्ट बौद्ध विद्वान्हरूको लेख सङ्कन गरी ‘बुद्धको देन’ पुस्तक प्रकाशन गरेका थिए । बर्मामा केही वर्ष बिताएर भारतको कलकत्ता हुँदै श्रीलङ्का पुगेका उनी तृतीय विश्व बौद्ध सम्मेलन, नेपालको चतुर्थ बौद्ध सम्मेलन, अखिल नेपाल भिक्षु महासङ्घ आदिमा पनि संलग्न थिए । २०५३ चैत १०
(२३ मार्च, १९९७) मा नेपालमा सद्धर्मको प्रचारप्रसार गरेबापत ‘अग्गमहासद्धम्मज्योतिकधज’ उपाधि पाएका उनी ८८ वर्षको उमेरमा २०५४ कार्तिक ८ गते बिते ।
यसरी नै पुस्तकमा आचार्य भिक्षु अमृतानन्द महास्थविर (१९७५–२०४७) को पनि योगदानको चर्चा गरिएको छ । पाल्पा तानसेनको भीमसेन टोलमा जन्मेका उनी विभिन्न विहारमा पुगी प्रवचनमार्फत बुद्धको ज्ञान छर्न पछि परेनन् । भिक्षु अमृतानन्दको प्रेरणाबाट राजा त्रिभुवनले वि.सं. २००८ वैशाख पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा गरेका थिए । प्रथम विश्व बौद्ध सम्मेलनमा सरिक उनी ३१ डिसेम्बर १९५६ मा रोम प्रस्थान गरेका थिए । थाइल्यान्डको राजधानी बैङ्ककमा पञ्चम विश्व बौद्ध सम्मेलन (सन् १९५८) मा उनी सरिक भएका थिए । चीन, भियतनाम, मङ्गोलिया, रुस, पोल्यान्ड, चेकोस्लाभाकिया, हङ्गेरी, बुल्गेरिया, अस्ट्रेलिया, इरान, पूर्वजर्मनी, इजिप्ट आदि देशका विभिन्न धर्म सम्मेलनमा सरिक भएका उनी मङ्गोलिया, जापान, दक्षिण कोरियामा पनि पुगेका थिए । उनले ‘नेपाल शासन शोभण श्री धर्मरक्षित वंशालंकार, गार्डेन, गोरखा दक्षिणबाहु, साहित्य चक्रवर्ती, विद्यावारिधि, त्रिपिटक विशारद शासन जोतक आदि उपाधि पाएका थिए । थुप्रै लेख रचेका उनी २०४७ भदौ ५ गते बितेका थिए ।
बुद्धघोष महास्थविर (वि.सं. १९७८–२०६८) थँ हिटीको झ्वा बहाःमा जन्मेका थिए । बुद्ध धर्मको गहन अध्ययन गरेका उनले कैयौँ कृति तथा लेखको सम्पादन गरेका थिए । १७ जुलाई १९९९ मा बर्मा सरकारले उनलाई बुद्ध शासनको प्रचार गरेबापत ‘अग्गमहासद्धम्मजोतिकधज’ उपाधि प्रदान गरेको थियो । उनको मृत्यु २०६८ असोज ७ गते भएको थियो ।
सुदर्शन महास्थविर (१९९१–२०५९) ले बुद्ध धर्मको विविध पक्ष धार्मिक, साहित्यिक, सांस्कृतिक र पुरातात्विक पक्षबारे प्रचार गरे । उनले नेपालभाषाका नाटक तयार गरे । ‘अम्बपाली’ कृति नेपालभाषाको एमए कोर्समा समावेश गरिएको थियो । उनका प्रकाशित नाटकहरूमा ‘राष्ट्रपाल’, ‘बिम्बिसार’, ‘आशङ्का’, ‘सुप्रिया’, ‘प्रतिशोध’ र ‘पटाचारा’ रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएका उनी ‘धर्माेदय’ मासिकका सहायक सम्पादक थिए । उनको मृत्यु २०५९ साउन ५ गते भएको थियो ।
भिक्षु ज्ञानपूर्णिक महास्थविर (१९९६–२०७७) को तानसेनमा जन्म भएको थियो । उनले १९६२ मा बर्माबाट ‘शासनधज धम्माचरिय’ उपाधि पाएका थिए । संस्कृत भाषा एवम् साहित्यमा स्नातक गरेका उनले ‘तथागतमा ल्हापांगु उपदेश’, ‘थम्ह म्हयाय्’, ‘धम्मचक्कपवतन सुत्त’ आदि कृति लेखे । उनको योगदानको कदर गर्दै बर्माको धार्मिक मन्त्रालयले भिक्षु शाक्यानन्द महास्थविर, अनिरुद्ध महास्थविर, बुद्धघोष महास्थविर, ज्ञानपूर्णिक महास्थविरको उपाधि प्रदान गरेको थियो । नेपालका छैटौँ सङ्घनायक भएका उनको २०७६ वैशाख १ गते निधन भयो ।
बौद्ध ऋषि महाप्रज्ञा (वि.सं. १९५८–२०१५) को जन्म काठमाडौँको न्हूघल टोलमा भएको थियो । उनीमाथि नेपालबाट निर्वासित गरिएका व्यक्ति नेपाल आगमन गरेको, हिन्दू कुलका व्यक्ति भिक्षु भएर बुद्ध धर्म प्रचार गरेको र अदालतमा जाहेर नगरिकन बुद्धमूर्ति निर्माण गरी नगर परिक्रमा गरेको आरोप लागेको थियो । भोजपुरको जिल्ला हाकिमले सो आरोप लगाएका थिए । उनको दर्जनौँ कृति प्रकाशित भएको थियो । उनको मृत्यु २०१५ चैत ९ गते भएको थियो ।
उपासक भाजुरत्न साहु (१९४०–२०१३) को जन्म काठमाडौँको केल टोलमा भएको थियो । उनले चन्द्रशमशेर राणाबाट देश निकालिएका भिक्षुहरूलाई दैनिक गुजाराका निम्ति सहयोग गरेका थिए । उनको दुइटा चाहना थियो, देश विदेशका भिक्षुहरूलाई भोजन दान दिनु र ‘कर्ममा लामा’ को पुनः एकचोटि दर्शन गर्नु । उनको पनि बौद्ध प्रचार अभियानमा महत्वपूर्ण योगदान थियो ।
बुद्धको वचनसङ्ग्रहको ग्रन्थ धम्मपदको ज्ञान हासिल गर्न, बौद्ध इतिहासमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको जीवनी अध्ययन गर्ने प्रेरणा दिन यो पुस्तक तयार गरिएको हो । विद्यार्थीले धम्मपद ग्रन्थभित्र रहेको बाल वर्ग, पण्डित वर्ग, अरहन्त वर्ग अध्ययन गरेर बुद्धले देशना गरेका ज्ञान, धम्मपदअट्ठ कथाबाट धम्मपदको अर्थ र कथा तथा नेपालका बौद्ध व्यक्तित्वहरूको बुद्ध धर्म संरक्षण तथा संवद्र्धन गर्नको लागि पु¥याइएको योगदानबारे ज्ञान पाउने छन् ।
पुस्तक प्रकाशन गर्ने अखिल नेपाल भिक्षु महासङ्घलाई साधुवाद ¤ बौद्ध ज्ञान नभएका व्यक्तिलाई पुस्तकमा रहेको पालि शब्दको अर्थ नबुझ्नु स्वाभाविक हो । गा¥हो शब्दको सट्टा बुझिने शब्द या अभ्यासमा शब्दको अर्थ दिइएको भए अझ जाती हुन्थ्यो । आदरार्थी कहीँ सामान्य आदर र कहीँ उच्च आदर नभएको भए राम्रो हुन्थ्यो । ‘भगवान्’ शब्दको सट्टा अर्कै शब्द चयन हुनुपर्ने हो कि ¤ बौद्ध विद्वान्हरूले देश देशान्तरमा पुगी धर्म देशनासँगै के कस्ता ज्ञान छरे त्यो कुरा उल्लेख भए सुनमा सुगन्ध हुने थियो । यो विज्ञान र प्रविधिको युगमा अन्धविश्वासको ज्ञान नछर्दा समय सान्दर्भिक हुनेछ ! प्रार्थना गर्दा या पुण्य प्राप्त भए छोरा र नगरे छोरी जन्मिने कुरा विज्ञानले स्वीकार्दैन । परियति शिक्षा दिने काम सराहनीय छ । पाठ्यक्रम या पाठ्यपुस्तक नै तयार गरेर देश–विदेशमा भएको बौद्धिक ज्ञान, सन्देश र व्यक्तित्वहरूको जानकारी दिने प्रयास राम्रो हो । प्रधानसम्पादक भिक्षु धर्मगुप्त महास्थविर र सम्पादक मण्डलमा रहेर सहयोग गरेका भिक्षु बोधिज्ञानलगायत अन्य महास्थविरहरूलाई पनि सधन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *