भर्खरै :

भेनेजुयलाको कम्युन अभियान

भेनेजुयलाको कम्युन अभियान

(एन्जेल प्रादो एल माइजल कम्युनका सदस्य हुन् । सन् २०२४ यता उनी निकोलस मादुरोका कम्युनमन्त्री छन् । प्रादो कम्युनार्ड सङ्घका संस्थापक पनि हुन् । यो भेनेजुयलाभरि छरिएका कम्युनहरूको साझा सङ्गठन हो । सन् २०२२ र २०२४ बिच उनी सिमोन प्लानास नगरका मेयर थिए । यही नगरमा छ एल माइजल कम्युन ।
सिरा पास्कोल मार्किना लोकप्रिय शिक्षाकर्मी हुन् । उनी काराकसको प्लुरिभरसिदादस्थित एल पानाल कम्युनमा शैक्षिक अगुवाइ गर्छिन् । उनी कम्युनेली प्रजातन्त्र सञ्जालकी सदस्य पनि हुन् । यो अन्तर्वार्ता भेनेजुयलाको राजधानी काराकसमा गत मार्च महिनामा लिइएको थियो ।
कम्युनहरूको एकता प्रख्यात नेता ह्युगो चाभेजको विचार ‘चाभिज्मो’ को अभिन्न अङ्ग थियो । प्रस्तुत अन्तर्वार्तामा पेद्रोले भेनेजुयलाका ती कम्युनमा देखिएका चुनौतीहरू केलाएका छन् । उनी ती कम्युनको विषय भेनेजुयलाको संविधानमा समाविष्ट गर्न चाहन्छन् । उनी कम्युनलाई समुदायका तत्कालीन आवश्यकताहरूको व्यवहारिक समाधान गरिने स्थान मान्छन् । अर्कोतिर कम्युनलाई उनी राष्ट्रिय मुक्ति र समाजवादी निर्माणको रणनीति परियोजना बताउँछन् ।)

सिरा पास्कोल मार्किना : मूल प्रश्नबाटै सुरु गरौँ है – भेनेजुयलाको कम्युन भनेको के हो ?
एन्जेल प्रादो : सुरुमा म तपाईँका पाठकहरूप्रति आभारी छ । भेनेजुयलामा भइरहेको राजनीतिक रूपान्तरण बुझ्न खोज्नुभयो । समाजवादको निर्माण गर्ने दिशामा कम्युनले पु¥याइरहेको योगदानमा रुचि लिनुभयो । हाम्रा कम्युनहरू कमान्डेन्ट (ह्युगो) चाभेजले देखाउनुभएकै बाटोमा अघि बढ्दै छन् ।
कम्युन भनेको निश्चित क्षेत्रमा फैलिएको भुइँ तहको सङ्गठन हो । त्यहाँ निश्चित राजनीतिक संरचनामा रहेर स्वशासन गरिन्छ । त्यो राजनीतिक संरचनाले स्थानीय स्रोतसाधनको परिचालन गर्ने नियमन गर्ने काम गर्छ र आफ्ना उत्पादनका साधनहरूको व्यवस्थापन आफै गर्छ ।
कम्युनमा धेरै तहका जनसङ्गठन हुन्छन् । कम्युनेली संसद्, कम्युनेली बैङ्क र अर्थतन्त्रदेखि खेलकुदसम्म हेर्ने विभिन्न समिति हुन्छन् । कम्युनको जगमा कम्युनेली परिषद्हरू हुन्छन् । यी परिषद् नै सङ्गठनका सबैभन्दा तल्ला एकाइ हुन् ।
सभाको तमाम प्रक्रिया नै कम्युनको मनमुटु हो । यो नै हाम्रा सङ्घसङ्गठनको जीवन र प्राण हो । सभा नै निर्णय लिने कम्युनको उच्चतम निकाय हो । कम्युनले ओगट्ने क्षेत्रभित्र पर्ने जोकोही सभामा सहभागी हुन, बोल्न, माग राख्न, प्रश्न उठाउन, मतदान गर्न र प्रक्रियाको पर्यवेक्षक बन्न सक्छ । कम्युनसँग सम्बन्धित सबै मुद्दामा सभाको निर्णय नै अन्तिम हुन्छ ।
कम्युनले आफ्नो कम्युन चिन्ह र पहिचानमा बडो जोड दिन्छ । साथै, समुदायका समस्याहरू हल गर्नका लागि कम्युनले सहअस्तित्वको मूल्यमान्यता स्थापित गर्छ र योजना निर्माण गर्छ । यिनै प्रक्रियाले कम्युनको जीवनलाई आकार दिन्छन् । बिस्तारै यिनले पहिचान र सहकार्यका आधारमा अलग्गै सामूहिक भावनालाई मलजल गर्छन् । यसलाई हामी ‘कम्युनको भावना’ भन्छौँ ।

सिरा पास्कोल मार्किना : चाभेजको भनाइ अनुसार कम्युनले उत्पादनको नयाँ सामाजिक सम्बन्ध पनि प्रवद्र्धन गर्नुपर्छ । हैन ?
एन्जेल प्रादो : हो, कम्युन आफ्नो क्षेत्र र पहिचानमा केन्द्रित रहन्छ । तर, सँगै आर्थिक सङ्गठनमा पनि केन्द्रित रहन्छ । यसले जनताको सामूहिक शक्तिलाई सँगै ल्याउँछ र विभिन्न समस्या सल्टाउन तिनलाई परिचालित गर्छ । यसरी कम्युनले भौतिक जीवनस्तर सुधार्छ । अर्थात कम्युनले स्वशासित आर्थिक प्रक्रिया पैदा गर्छ । योजना निर्माण र सामुदायिक श्रमशक्तिको प्रयोग गरी कम्युनले जनताको वा कम्युनेली अर्थतन्त्रको निर्माण गर्छ । कम्युनको अर्थतन्त्रलाई हामीले यही नाउँ दिएका छौँ । जनतालाई सेवा, खाना र अन्य मालसामान चाहिन्छ । यसमध्ये धेरै चीज कम्युनले आफै उत्पादन गर्छ । यी सबैको कुँजी हो कम्युनेली योजना निर्माण ।
कम्युनहरूमा सम्पत्ति र स्वामित्वको विषयमा पनि बरोबर बहस चलिरहेको छ । सामूहिक कम्युनेली सम्पत्तिदेखि सार्वजनिक, पारिवारिक र निजी सम्पत्तिबारे चिन्तनमनन भइरहेको छ । आफ्नो इलाकाको प्रभुत्व आफ्नै हातमा राख्न कम्युनले कम्युनेली र सामूहिक स्वामित्वलाई लक्ष्य बनाउँछ । तर, यो लक्ष्य पूरा भइसकेको छैन । काम चल्दै छ । यसकारण पनि उत्पादनका साधनमाथि नियन्त्रण जमाउने सङ्घर्ष जारी छ । कम्युनहरूमा उत्पादक शक्ति विकास गर्न चाहिने भूमि, उद्योगधन्दा र सम्पूर्ण स्रोतसाधन हातमा लिने सङ्घर्ष चल्दै छ । कम्युनले पैदा गर्ने अतिरिक्त उपजलाई कसरी वितरण र पुनःलगानी गर्ने भन्ने विषयमा अर्को बहस हुँदै छ । समाजमा गरिने लगानी र उत्पादनमा गरिने पुनःलगानीबिच सन्तुलन ल्याउन जरुरी छ ।

सिरा पास्कोल मार्किना : देशमा अहिले अमेरिकी नाकाबन्दी छ । यस्तो बेला सबैभन्दा सबल कम्युनहरूले आआफ्ना समुदायका तत्कालका आवश्यकतालाई सम्बोधन गर्न मिहिनेत गर्दै छन् । धेरै ठाउँमा कम्युनहरू नाकाबन्दीको असर कम गर्नमाअत्यन्त सफल भएका छन् ।
एन्जेल प्रादो : कम्युनको हकमा कम्युनेली जीवनलाई आकार दिने मूल्यमान्यता तथा सिद्धान्त पहिचान गर्न आवश्यक छ । जनताले कम्युनलाई सबैभन्दा नजिकको सरकार मान्छन् । आफ्ना समस्याहरू हल गर्न सबैभन्दा पहिले तिनले यही निकायको ढोका ढक्ढक्याउँछन् ।
यो कुरा हामीले (कोभिड) महामारीको बेला स्पष्ट महसुस ग¥यौँ । सङ्गठित समुदायहरूले स्थानीय स्वास्थ्यकर्मीहरूसँग काँधमा काँध मिलाएर काम गरे । मोटरसाइकलबाट घरघरै सामान पु¥याउन तिनले स्वयंसेवकको काम गरे । तिनले जनतालाई औषधी प्राप्त गर्नमा सघाए, खोप अभियान चलाए र कसैलाई पनि स्वास्थ्यसेवाबाट वञ्चित हुन दिएनन् । कम्युनका निर्वाचित प्रवक्ताहरूले यसमा अहम भूमिका खेले । आआफ्ना कम्युनहरूमा जनताको सच्चा रेखदेख गरे, जनसेवामा अगुवाइ गरे । कम्युनले एउटा संरचना दिलायो । सङ्कटको बेला सहायताका लागि कम्युनका अगुवाहरूलाई गुहार्न सकिन्छ भन्ने जनतालाई थाहा थियो ।
देशमा नाकाबन्दी, महामारी र आर्थिक सङ्कट छ । तैपनि, भेनेजुयलामा भुइँतहको सङ्गठन एउटा पनि जिल्ला छैन । धेरै स्थानमा स्वशासित कम्युनहरू छन् । यी कम्युनले योजना बनाउँछन् र जनताबिच हातेमालो बढाउने कार्यक्रम सञ्चालन गर्छन् । कम्युनहरूले आफ्नो समुदायबारे विस्तृत तथ्यतथ्याङ्क र जानकारी राख्छन् । यसले गर्दा जनताका आवश्यकता बुझ्न र तिनलाई सम्बोधन गर्न सजिलो हुन्छ ।

सिरा पास्कोल मार्किना : आज कम्युन अन्दोलन र बोलिभारियाली सरकारबिच ऊर्जाशील मिलाप छ । पाँच वर्षअघि तनाव र अन्तर्विरोध थियो । यो मिलापको कारण के हो ?
एन्जेल प्रादो : कमान्डेन्ट चाभेजको निधनपछि चाभिज्मो विचारमा विरोध बढ्यो । यति मात्र होइन । राष्ट्रिय पुँजीपति वर्ग र अमेरिकी साम्राज्यवादको सम्बन्धमा अन्तर्विरोध चर्कियो । यसकारण, आफ्नो सार्वभौमसत्ता दाबी गर्ने मुलुकहरू निरन्तर खतरामा पर्दै आएका छन् ।
सिरियामा हालसालै त्यही भयो । भेनेजुयलाका जनताको लागि त्यो एउटा चेतावनी बन्यो । किनभने, हाम्रा जनता पनि धेरै त साम्राज्यवादविरोधी छन् । यो ऐतिहासिक क्षणमा एकता आवश्यक छ । चाभिज्मो विचार विविधतापूर्ण छ । अर्जेन्टिनाको पेरोनिज्मो जस्तो । यसका अनेक विचारधारात्मक हाँगाबिँगा छन् । भेनेजुयलामा आफूलाई चाभिस्ता भन्ने तर समुदायमा जरा नभएको र भुइँतहले नमानेको कुनै राजनीतिज्ञले साम्राज्यवादविरुद्ध राष्ट्रिय लडाइँमा योगदान गरेको छैन । जनताले यसको लेखाजोखा राखेका छन् ।
प्रगतिशील र साम्राज्यवादविरोधी सरकार उल्ट्याए के हुन्छ भन्ने जगजाहेर छ । नरसंहार, दमनचक्र र विध्वंस सुरु हुन्छ । यसकारण, एकता अनिवार्य छ । आन्तरिक बहस–विवाद जहिल्यै हुनेछ । जनअभियानकै रूपमा हामी कम्युनलाई बलियो पार्न डटेर सङ्घर्ष गरिरहेका छौँ । जनता अझ बढी सङ्गठित र जुझारु हुन् भन्ने कामना छ । कम्युनमा जनताको स्वशासन अझ बढी मुखर होस् भन्ने ध्येय छ ।
आज सरकारका नेता र कम्युन आन्दोलनबिच बलियो ऊर्जाशील मिलाप छ । सरकार कम्युनहरूलाई मान्यता दिन र सघाउन तत्पर छ । हामीकहाँ पनि सुधारवादी र अवसरवादीहरू नभएका होइनन् । तिनले कम्युनमा विश्वास गर्दैनन् । चाभिज्मोको कार्यकर्ता पंक्तिमा बसेर तिनीहरू जनताको एकता भाँड्न खोज्छन् । तर, हाम्रो साम्राज्यवादविरोधी सङ्घर्षले हामीलाई एकताबद्ध पार्छ । यसरी विश्वभरि साम्राज्यवादको प्रतिकार गरिरहेका मुलुक र जनताका लागि हामीले उदाहरण पेश गरेका छौँ ।

सिरा पास्कोल मार्किना : नाकाबन्दी र सङ्कटको सबैभन्दा अप्ठ्यारो अवधिमा कम्युनहरू झन् बलिया भए । तैपनि, धेरै मानिसले आफ्नो समस्याको सामूहिकभन्दा पनि निजी समाधान खोजे नि । स्थिति आज पनि उस्तै छ । कम्युन अभियानसँग जोडिन नसक्नेहरूलाई समेट्ने सही उपाय के होला ?
एन्जेल प्रादो : युद्धमा कोही न कोही त मर्छ नै । भेनेजुयलामा हामीले आर्थिक युद्धको सामना गर्दै छौँ । झन्डै एक दशक लामो हो यो युद्ध । भेनेजुयलाका जनताको मनोबल गिराउन, समाजलाई छिन्नभिन्न पार्न र जीविकोपार्जनका लागिजनतालाई निजी दाउपेचतिर धकेल्न यो युद्धलाई नृशंस पारिएको छ । वास्तवमा कतिपय मानिस सामूहिक क्रियाकलापबाट बाहिरिए । तिनले आफ्ना र घर परिवारका तात्कालिक आवश्यकता पूरा गर्नमा मात्र ध्यान दिइरहे । भुइँतहका सामाजिक क्रियाकलापबाट हात झिके । यो हातझिकाइ अस्थायी हो ।
तर, सङ्घर्षमा डट्नेहरूको सङ्ख्या ठुलो रह्यो । जति दुःखकष्ट भए पनि प्रत्येक जिल्ला र प्रत्येक गाउँसमुदायमा एउटा क्रान्तिकारी टोली सक्रिय भइरह्यो । तिनीहरूअडिग, प्रतिरोधी, नेतृत्वदायी रहे । तिनले जनसङ्गठनहरूको दियालो बालिराखे ।
यसकारण, आज भेनेजुयलाको क्रान्तिले पुनः गति लिएको छ । सन् २०१६–२०२१ का अप्ठ्यारा वर्षहरू बितिसकेका छन् । देशले नयाँ आर्थिक क्षमता विकास गरेको छ । कहिलेकसो कडा नीतिनिर्णय पनि गरिन्छ । हामीमध्ये कतिपयले प्रश्न पनि उठायौँ । तर, नौलो आर्थिक क्षमताले देशलाई गृहयुद्धबाट जोगायो । अमेरिकी हस्तक्षेप हुन दिएन ।
यो प्रतिरोधले हामीलाई बलियो बनाएको छ । घाउ र खत छन् । तर, नैतिक र राजनीतिक रूपमा हामी अझ बढी जुझारु भएका छौँ । भुइँ तहमा लाखौँ नेता छन् । धेरै त महिला छन् । तिनले समुदायको प्रतिरक्षा गर्नु नै अगुवाइको उच्चतम स्वरूप हो भनी साबित गरेका छन् ।
कठोरतम वर्षहरूमा उदाएका कम्युनहरूझन् बढी सुदृढ छन् । भुइँतहको अर्थतन्त्रमा तिनको पकड छ । तिनले राजनीतिक शिक्षालाई मलजल गरेका छन् र युवा पुस्तालाई सङ्गठित पारेका छन् ।

सिरा पास्कोल मार्किना : सरकार र कम्युनहरूबिच निकट सहकार्यको राम्रो नमुना सन् २०२४ को मे महिनामा देखियो । सरकार र जनताबिच भएको सरसल्लाह र संवाद लोकप्रिय भयो । यसबारे केही खुलाइदिनुहुन्छ कि ? यो परामर्श प्रक्रियामार्फत कसरी कम्युनहरूलाई शक्ति सुम्पियो ?
एन्जेल प्रादो : जनपरामर्श प्रक्रिया निकै महत्वपूर्ण छ । यतिबेला सरकार र कम्युनहरूबिच यो प्रक्रिया महत्वपूर्ण सेतु बनेको छ । सुरुमा देशैभरि कम्युन र तदर्थ कम्युनहरूमा सभा डाकिन्छ । यी सभामा जनता बहसमा उत्रिन्छन् र तिनले सबैभन्दा तड्कारा समस्यालाई प्राथमिकतामा राख्छन् । त्यसपछि देशैभरि मतदानको प्रक्रिया चल्छ । सभाले आवश्यक ठह¥याएका आयोजनाबाट प्रत्येक कम्युनका सदस्यहरूले एउटालाई छनोट गर्छन् ।
मतदानपछि प्रत्येक कम्युन वा तदर्थ कम्युनलाई बजेट छुट्याइन्छ । यसपछि ती आयोजना पूरा गर्ने जिम्मेवारी तिनै कम्युन वा तदर्थ कम्युनको हुन्छ । अहिलेलाई बजेट सीमित छ । (प्रत्येक जनपरामर्शको बजेट १० हजार डलर छ ।) तर, राष्ट्रपतिले नगरपालिका र क्षेत्रीय सरकारले पनि कम्युनका आयोजनालाई खर्च दिनुपर्ने बताउनुभएको छ ।
यसरी प्रत्येक आयोजना सामुदायिक योजना निर्माणको प्रक्रियाबाट जन्मिन्छ । योजना बनाउनु समुदायको आन्तरिक मामिला हो । जनताले यो नौलो अभ्यास आत्मसात गरेका छन् । कम्युनका गतिविधिबाट हात झिकेका धेरैजना पछि कम्युनमा फर्केका पनि छन् । तिनले कम्युनेली परिषद् तथा कम्युनमा पुतः आस्था जताएका छन् । आज कम्युनले कसरी सामूहिक समस्याको हल निकाल्छ भनी जोकोहीले थाहा पाउन सक्छ ।
परिणाम हाम्रो आँखैसामु छ । कम्युनेली संरचनामाथिको विश्वास पुनःस्थापित भएको छ । वर्षदिन भयो । तीन–तीन महिनामा जनपरामर्श हुन्छ । जनपरामर्शमा जनसहभागिता झन्भन्दा झन् बढ्दो छ । जनताले यो विधिमाथि विश्वास गरेका छन् ।
जनपरामर्श श्रमजीवी जनताको भावनाअनुरूप छ । यो प्रक्रियाले समुदायलाई सशक्त बनाउँछ र कम्युनप्रति तिनको लगाव सुदृढ पार्छ । कमान्डेन्ट चाभेजको भिजनलाई यथार्थ बनाउन कम्युनहरूलाई अझ सबल बनाउनु नै आजको हाम्रो अभिभारा हो । जनताले आफ्नो शासन आफै चलाऊन् र आउँदो महान् परिवर्तनको नेतृत्व गरुन् भन्ने चाहनुहुन्थ्यो चाभेज । स्वास्थ्य सेवा र शैक्षिक पूर्वाधार पुनः स्थापित गर्न† सार्वजनिक इलाका जगेर्ना गर्न† आयोजनाको योजना निर्माण, व्यवस्थापन, कार्यान्वयन तथा परिवेक्षणको जिम्मा सङ्गठित जनताले लिनुपर्छ ।
छोटकरीमा भन्नुपर्दा जनपरामर्शले जनतालाई सशक्त पार्छ र सिकाइको अनुभव दिन्छ । समुदायहरूले गल्तीकमजोरी हटाउन कडा परिश्रम गर्दै छन् । प्राप्त स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गर्दै छन् । कर्मचारीतन्त्र र भ्रष्टाचारविरोधी लडाइँ चल्छ र चलिरहन्छ । तर, कोष चलाउन र जोगाउन जनताले नै मिलेर काम गर्नु ती विकृतिको उपयुक्त औषधी हो ।
हामीले जनपरामर्शको मद्दतले भेनेजुयली प्रजातन्त्रमा जनताको वास्तविक सहभागिता सुनिश्चित गर्दै छौँ । सङ्गठित जनताले कुनै पनि राज्य निकायले भन्दा बढी उपलब्धि हासिल गर्न सक्छ भनी प्रमाणित गर्दै छौँ ।

सिरा पास्कोल मार्किना : यो वर्ष संवैधानिक सुधार गर्ने योजना छ । राष्ट्रिय विधान संशोधनमा कम्युनले मुख्य भूमिका पाउनुपर्छ भन्ने कतिपयको तर्क छ । बोलिभारियाली संविधानमा कम्युनको प्रावधान समावेश गर्दा राज्यसँग कम्युनको सम्बन्धलाई कसरी परिभाषित गर्ने भन्ने प्रश्न छ । यो सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
एन्जेल प्रादो : सन् १९९९ को बोलिभारियाली संविधान बनाउने क्रममा भेनेजुयली जनताले सहभागितामूलक प्रजातन्त्रतर्फ एक महत्वपूर्ण पाइला चाले । त्यो संविधानले जनतालाई विभिन्न तरिकाले सङ्गठित हुन वैधानिक रूपरेखा दिलायो । जनता उद्योग, विश्वविद्यालय र सङ्घसंस्थाका साथै भूगोलका हिसाबले सङ्गठित हुन पाउने भए । यो निकै ठुलो उपलब्धि थियो । सन् २००७ मा संवैधानिक सुधार गर्न सकिएन । नत्र त्यो बेला नै संविधानमा प्रस्ट भाषामा कम्युन र भुइँतहका सङ्घसङ्गठनलाई समावेश गरिने थियो ।
सन् २०१२ मा ‘चालकमाथि प्रहार’ नाउँको ठुलो बहस चल्यो । कमान्डेन्ट चाभेजले आफ्नै मन्त्रीहरूलाई चुनौती दिनुभयो । तिनलाई उहाँले सोध्नुभयो, “कहाँ छ कम्युन ?” आज भेनेजुयली जनताको जवाफ हाजिर छ, “यहाँ छ कम्युन । हाम्रो इलाकामा । हाम्रो कम्युन सङ्गठित, क्रियाशील र सङ्घर्षरत छ ।”
हामी संविधानमा कम्युनबारे स्पष्ट किटान होस् भन्ने चाहन्छौँ । अहिलेलाई यो नै हाम्रो सबैभन्दा ठुलो चुनौती हो । थप वैधता र विश्वास हासिल गर्न कम्युनहरू र कम्युन मन्त्रालय दुवैतिर हामीले कडा मिहिनेत गर्दै छौँ । संविधानका दफाहरूमा कम्युनलाई समावेश गराउन अझ बढी जनमत चाहिन्छ । हाम्रो प्रयास यसमै छ ।
बहस कम्युनको मान्यतामा मात्र सीमित छैन । कम्युनलाई संविधानमा समावेश गर्दैमा मात्र केही हुन्न । हामी कम्युनलाई भेनेजुयला राज्यसँग कसरी जोड्ने भनेर पनि सोच्दै छौँ । आज सरकारले कम्युनलाई भुइँतहको सङ्गठनको मान्यता दिएको छ । तर, हामीले यसलाई राज्यका अन्य निकाय र संरचनाको बराबरीमा लैजानुपर्छ ।
हाम्रो नारा छ, “कम्युन वा केही छैन ¤” यो नारा अहिले यथार्थमा परिणत भइसकेको छ । आज गाउँ–सहर दुवैतिर कम्युनहरू सबैभन्दा दृश्यमान र तड्कारा साङ्गठनिक संरचना हुन् । यो यथार्थ महत्वपूर्ण हुँदाहुँदै पनि हामी जनसत्ताको यो ज्वलन्त अभिव्यक्तिलाई संवैधानिक रूप दिन चाहन्छौँ । सरकार वा क्रान्तिलाई पूर्ण समर्थन नगर्नेहरूले समेत कम्युनको वैधतालाई स्वीकार गर्छन् । किन ? किनभने, सङ्गठित समुदायले आफ्ना समस्याहरू हल गरिरहेको तिनीहरू प्रत्यक्ष देख्दै छन् ।
बहुसङ्ख्यक भेनेजुयली जनता श्रमजीवी समुदायहरूमा आबद्ध छन् । तिनलाई आफ्ना आवश्यकता पूरा गर्न राज्यको मद्दत चाहिन्छ । नगरपालिकालगायत विभिन्न प्रान्त सरकारसँग बजेट प्राप्त गर्ने संवैधानिक अधिकार छ । कम्युनहरूले पनि यस्तै अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग छ । कुनै मेयर, गभर्नर वा मन्त्री विशेषको राजनीतिक इच्छाशक्तिको निगाहमा नभई संविधानमै यो अधिकार सुनिश्चित हुनुपर्छ । भेनेजुयला राज्यले कम्युनहरूलाई बजेट सुनिश्चित गर्ने दायित्व संविधानमै किटान हुनुपर्छ ।
संविधानबारे हाम्रो बहस भर्खर सुरु हुँदै छ । तर, यो वर्ष हामी एउटा टुङ्गोमा पुग्नेछौँ । संविधानमा ‘कम्युन’ शब्द समावेश हुनुपर्छ र यसले मान्यता पाउनुपर्छ भन्ने लक्ष्यमा हामीबिच फराकिलो सहमति बनिसकेको छ । तर, राज्यसँग कम्युनहरूको सम्बन्ध परिभाषित गर्नु र बजेटमाथि पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।

सिरा पास्कोल मार्किना : चाभेज, कम्युन र समाजवादको सम्बन्धबारे सारमा केही बताउनुहुन्छ कि ?
एन्जेल प्रादो : साम्राज्यवादी शक्तिहरूले भेनेजुयलालाई सयौँ वर्ष लुटिरहे । तीन दशकयता भेनेजुयला ती शक्तिविरुद्ध निर्णायक सङ्घर्ष गर्दै छ । कमान्डेन्ट चाभेजले स्पष्ट शब्दमा भन्नुभएको थियो, “यो स्वाभिमान र वास्तविक मुक्तिको निम्ति उभिने समय हो† स्वाधीनता र स्वशासनको झन्डा उचाल्ने समय हो ।”
साम्राज्यवादी आक्रमणको त्रासबिच हामी हाम्रो राजनीतिक मोडलमा रुढीवादी बन्नुहुँदैन । तिनको प्रजातन्त्रको झूटो मोडलको नक्कल गर्नुहुँदैन हामीले । अहिले अफ्रिकाको साहेल क्षेत्रमा पर्ने धेरै देशले बहुराष्ट्रिय कम्पनीहरू र नवउपनिवेशवादी संरचनाविरुद्ध विद्रोह गरे । तिनले साम्राज्यवादका सैनिक अखडाहरू हटाए र सार्वभौमसत्ता हासिल गर्ने दिशामा पाइला चाले । तिनको सङ्घर्षले हामीलाई उत्प्रेरित गर्छ । चाभेजको मर्म पनि त्यही थियो । उहाँले देशको सार्वभौमसत्ताका लागि ठुलो लडाइँ लड्नुभएको थियो ।
चाभेजले सुरु गर्नुभएको लडाइँ हामीले जारी राख्नुपर्छ । उहाँले थाल्नुभएको सङ्घर्ष अझ सघन र ध्रुवीकृत भएको छ । विकल्प स्पष्ट छ । कि त हामी समाजवादको निर्माण, रचनात्मक जनसहभागिता र मैत्रीपूर्ण प्रजातन्त्रतर्फ लाग्नुपर्छ† हाम्रा प्राकृतिक स्रोतसम्पदा जोगाउनुपर्छ । नत्र हामी तथाकथित प्रगतिशील सरकारयुक्त सुधारवादी राज्य बन्ने जोखिम रहन्छ । यस्तो सरकारले विद्यमान राज्य संरचनालाई रूपान्तरण गर्न सक्नेछैन । हामी बोलि भारियाली क्रान्ति र चाभेजले प्रस्ताव गर्नुभएको आफ्नै शैलीको मौलिक राजनीतिक मोडलमा नगए साम्राज्यवादले हामीलाई नष्ट गर्नेछ । तिनले हामीमाथि थोपरेको संरचनालाई भत्काउन सकेनौँ भने हामीले निर्माण गरेको सबथोक ध्वस्त पार्नेछन् तिनले ।
हामीले देखेकै हो । अर्जेन्टिनामा त्यही भएको थियो । अर्जेन्टिनाको प्रगतिशील सरकारले देशलाई आर्थिक विध्वंसबाट बाहिर निकाल्यो । तर, तिनले राजनीतिको जग बदल्न सकेनन् । तिनले पुरानो संविधान कायमै राखे । पुरानो प्रशासनिक संरचना जोगाइरहे । भुइँतहका सङ्गठनहरूमार्फत तिनले कहिल्यै जनतालाई सत्ता सुम्पेनन् । परिणाम, तिनलाई सत्ताच्यूत गरियो । दुःखको कुरा आज अन्तर्राष्ट्रिय मुद्राकोष र साम्राज्यवादी कर्पोरेसनहरूले अर्जेन्टिनामा लुटपाट मच्चाउँदै छन् । कुनै बेला अर्जेन्टिना ल्याटिन अमेरिकाकै धनी राष्ट्र थियो । साम्राज्यवादी लुटपाटका कारण आज यो देश गरिबीको दलदलमा पिल्सिँदै छ ।
भेनेजुयला राज्यलाई रूपान्तरण गर्न, नयाँ समाज निर्माण गर्न, वास्तविक प्रजातन्त्र रच्न र राष्ट्रिय स्वाधीनता जोगाउन प्रतिबद्ध छ । हामी समाजवादको निर्माण गर्न पनि प्रतिबद्ध छौँ । जनता नै यो दिशामा अघि बढ्दै छन् !

(स्रोत : मन्थ्ली रिभ्यू । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *