भर्खरै :

ग्रेटा : हाम्रो युगकी साहसी बाला

  • कार्तिक १६, २०८२
  • चिन्मय
  • विचार
ग्रेटा : हाम्रो युगकी साहसी बाला

शरद् याम पनि बर्खा जस्तो छ । कालो बादलले डम्मै ढाकिएको छ काठमाडौँ । दसैँ–तिहार बाढी र पहिरोमय भयो यसपालि । काठमाडौँ–नारायणगढ सडकखण्डमा गाडीको ताँती लाग्यो । चार घण्टाको यात्रा गर्न कैयन् दिन लाग्यो । २१ औँ शताब्दीमा चीनले यातायातमा चमत्कार गरेको खबर आइरहँदा नेपाल भने टोनी हागनले झन्डै ८० वर्षअघि देखेको नेपालभन्दा त्यतिविधि अघि नबढेझैँ महसुस भयो । प्राकृतिक विपत्तिले गर्दा देशका विभिन्न स्थानमा भएका दुर्घटनाले अखबारका पाना भरियो ।
वैज्ञानिकहरूले भने – बर्खा पछिपछि सर्दै छ । कारण – जलवायु परिवर्तन ।
हावापानीमा गडबडी भइरहेको कुरा बुझ्न विज्ञानका ठेली पढ्नुपर्दैन । केही दिनअघि धान सुकाइरहेकी एक आमाले भन्नुभयो, “पहिलेपहिले जस्तो छैन उब्जनी, वर्षैपिच्छे भकारीमा धान घट्दै छ । पानी पर्ने बेला पानी परेन । अहिले काठमाडौँ डुबाउने गरी पानी प¥यो ।” लोकले बुझेको छ – कहीँ न कहीँ गडबडी छ ।

साहसी बाला ग्रेटा
सानो उमेरमै यो गडबडीको अन्दाज लगाइसकेकी थिइन् ग्रेटा थुनबर्गले । ग्रेटा अर्थात् यो धरालाई माया गर्ने हाम्रो युगकी सबैभन्दा साहसी बाला । सानै उमेरमा उनले जलवायु परिवर्तनले ल्याउने सङ्कटको विषयमा चिन्ता लिइन्, अध्ययन गरिन्, चिन्तन गरिन् । आजभोलि बालबालिकाहरू स्क्रिनमा झुन्डिए, असंवेदनशील भए, गैरजिम्मेवार भए भन्ने अभिभावकीय टाउको दुखाइ बढिरहेको बेला ग्रेटाले आफ्नो समयलाई बुझ्ने गरी अध्ययन र चिन्तन गरिन् ।
पृथ्वीमाथि आइपरेको विकराल सङ्कटको डिलमा उभिएर उनले आफूले जानेको समाधान दिन खोजिन् । वातावरणको पक्षमा सानो उमेरमै उनले स्टकहोम सहरको सरकारसामु धर्ना दिन थालिन् । पढ्ने–खेल्ने उमेरमा किन पृथ्वीको चिन्ता लिएको ? प्रबुद्ध बटुवाहरूका यस्ता प्रश्नमा उनको जवाफ हुन्थ्यो – पृथ्वीमा मान्छे नै नरहे स्थितिमा हामी पढेको के काम ? प्रश्नमा कुनै बालापन थिएन । यस्तै चोटिला प्रश्नले ग्रेटाले संसारभरिका नयाँ पुस्तालाई आफ्नो मुद्दामा गोलबन्द पारिन् । उनकै प्रेरणाले बेलायत, फ्रान्स, जर्मनी, अमेरिकाजस्ता देशमात्र होइन, टाढा न्युजील्यान्ड र अस्ट्रेलियामा समेत नयाँ चिचिलो पुस्ताले सडक ततायो ।
डोनाल्ड ट्रम्प, पुटिनजस्ता संसारका ठुला नेताले इल्लिबिल्ली पारे । उनलाई मजाकको विषय बनाए । तर, ग्रेटाले हिम्मत हारिनन् । उनले राष्ट्रसङ्घमा भाषण गरिन् । हाम्रो पुस्ताको लागि प्रकृति नै नराख्ने, हाम्रो भाग्यमाथि खेलवाड गर्ने दुस्साहस तिम्रो पुस्तालाई कसले दियो ? – बडो मार्मिक हाँक दिइन् उनले दुनियाँका ठेकेदारहरूलाई ।

कत्रो सङ्कट हो ?
पृथ्वीको प्रकृति अहिले गहिरो सङ्कटमा छ । मानव जाति अहिले महाविलोपन (मास एक्सटिङ्क्सन) को मुखमा छ । साढे चार अर्ब वर्षको पृथ्वीको इतिहासमा पटकपटक यस्तो स्थिति आएको थियो । तर, ती सबैको कारण प्राकृतिक थियो । ती महाविलोपनमा ७० देखि ९० प्रतिशतसम्म पृथ्वीका जीवजन्तु र वनस्पति लोप भएको वैज्ञानिक तथ्याङ्क छ ।
यसपालिको महाविलोपन अघिअघिको भन्दा एकदम फरक छ । पहिलो फरक – यो महाविलोपनको कारण प्राकृतिक नभई मनुष्यनिर्मित हो । त्यसैले, मानव जाति ‘होलोसिन’ बाट मनुष्यको युग ‘एन्थ्रोपोसिन’ मा प्रवेश गरिसकेकोमा अधिकांश वैज्ञानिक सहमत छन् ।
सन् १९५० यता सुरु भयो – महाछलाङ (ग्रेट एक्सलिरेसन) । दोस्रो विश्वयुद्धपछि पृथ्वीभरि नाफाको भोक र उपभोक्तावादले ठुलो फड्को मा¥यो । नाफाको असीम भोकले बहुराष्ट्रिय कम्पनीहरूले पृथ्वीका कुनाकाप्चा पुगी प्राकृतिक स्रोतसाधनको चरम दोहन गरे । उन्नत विज्ञान र प्रविधिको सहाराले ती कम्पनीले समुद्रको पिँधदेखि आकाशको पल्लो छेउसम्म प्रकृतिमा लुटपाट मच्चाए । पुँजीपतिहरूको धनसम्पत्ति बढाउन अति उत्पादन र अति उपभोगलाई अचाक्ली बढाइयो ।
यसले गर्दा कार्बन डाइअक्साइ, मिथेन र नाइट्रस अक्साइडको उत्सर्जन ह्वात्तै बढ्यो । तापक्रम वृद्धि भयो† ओजोन तह पातलिँदै गयो† समुद्रको पानी अम्ल बन्दै गयो† मानव बसोबासको लागि तीव्र वनफडानी भयो† समुद्री माछाको कारोबार बढ्यो† जैविक गुणस्तर खस्कियो । ‘महाछलाङ’ को प्रभाव सामाजिक–आर्थिक क्षेत्रमा पनि देखियो । विश्वको जनसङ्ख्या, विदेशी लगानी, कुल गार्हस्थ उत्पादन, सहरी जनसङ्ख्या, ऊर्जा खपत, विषादी प्रयोग, ठुला बाँधको निर्माण, खानेपानीको उपभोग, कागजको खपत, यातायातका साधन, सञ्चारको क्षेत्र र अन्तर्राष्ट्रिय पर्यटनमा ह्वात्तै बढ्यो ।
दोस्रो फरक – यसपालिको महाविलोपन अघिअघिको भन्दा १० हजार गुणा तीव्र छ ।
सन् २०२५ मा सार्वजनिक भएको पृथ्वी–प्रणालीको नक्साबाट सजिलै अनुमान लगाउन सकिन्छ । पृथ्वीमा मानव अस्तित्व सम्भव तुल्याउन वैज्ञानिकहरूले नौवटा लक्ष्मणरेखा तोकेका छन् । यसमा जलवायु परिवर्तन, पृथ्वीको जैविक अखण्डता, भूमि–प्रणाली, ताजा पानी, ओजोन तह, समुद्रको अम्लीकरण आदि पर्छन् । सन् २००९ मा यीमध्ये जम्मा तीन लक्ष्मणरेखा मात्र तोडेको स्थिति थियो भने १६ वर्षको अन्तरालमा सात लक्ष्मणरेखा तोडिएको अवस्था छ ।
महाविलोपनको स्थिति झन् कहालिलाग्दो छ । सन् २०१० को राष्ट्रसङ्घको प्रतिवेदनअनुसार दैनिक १५० देखि २०० को हाराहारीमा पृथ्वीबाट जीवजन्तु र वनस्पतिका प्रजाति लोप भइरहेका छन् । अहिलेसम्म ७ प्रतिशतभन्दा बढी प्रजाति लोप भइसकेका छन् । आज उपभोक्तावादले कस्तो विकराल रूप लिएको छ भने हामीलाई छिनछिनमा टिस्युपेपर चाहिन्छ । हास्यास्पद के छ भने पानी प्रचुर भएको देशमा ट्वाइलेट पेपरको प्रयोगलाई बढावा दिइन्छ । यी यावत विलासी सामग्रीको लागि प्रतिमिनेट ३० फूटबल मैदान बराबर वन फडानी हुन्छ । बहुराष्ट्रिय कम्पनी, रेलमार्ग र हवाई यातायात आदिले प्रतिवर्ष ४० अर्ब टन बराबर कार्बन डाइअक्साइड उत्सर्जन गर्दै छन् ।

ग्रेटाको पछिल्लो अडान
नेपालमा हाम्रा भाइबहिनीले जेनजी आन्दोलनले देश जलाइरहेको बेला ग्रेटा थुनबर्गको नाम प्यालेस्टिनमा इजरायलले चलाइरहेको जातिसंहारसँग जोडिएर आइरहेको थियो ।
यो शताब्दीदेखि नै इजरायलले प्यालेस्टिनमा नाकाबन्दी लगाउँदै आएको छ । यसलाई तोड्न र गाजावासीलाई आहार र लत्ताकपडालगायत राहतका सामग्री लिएर सन् २०१० देखि विश्वका केही साहसी युवाले प्रयास गर्दै आएका छन् । यो अभियानलाई ‘फ्रिडम फ्लोटिल्ला’ नाम दिइएको छ । ती जुझारी युवायुवतीले जहाजमा राहतका समग्री लिएर भूमध्यसागरको बाटो गाजा पुग्ने अनेकौँ प्रयास गरिरहे । हरेकपल्ट इजरायली सेनाले ती जहाजमाथि आक्रमण गरिरहे । यस्तो आक्रमणमा परेर केही अमेरिकी नागरिक पनि मारिएका छन् । तर, अमेरिकी सरकारले इजरायल सरकारको रत्तिभर आलोचना गरेन ।
यही मेसोमा यो वर्ष ग्रेटा थुनबर्ग पनि ‘फ्रिडम फ्लोटिल्ला’ चढेर गाजानजिक पुगिन् । इजरायली सेनाले उनीहरूमाथि आक्रमण ग¥यो र ग्रेटाको टोलीलाई थुनामा राख्यो । थुनामुक्त भएपछि ग्रेटा स्वीडेन गइन् । त्यहाँ उनले एउटा अन्तर्वार्ता दिइन् । इजरायली सेनाले थुनामा उनलाई दुव्र्यवहार गरेको रहेछ । थुनामा इजरायली अधिकारीहरूले उनलाई स्वीडेनी भाषामै पटकपटक ‘वेश्या’ भनी गाली गर्दा रहेछन् । पृथ्वीलाई नै अँगाल्ने ठुलो मन, बुद्धि र बल भएकी ग्रेटाको यो हविगत सभ्य भनाउँदो समाजप्रति ठूलो झाप्पड हो ।
फ्लोटिल्ला अभियानकै क्रममा ग्रेटाले एउटा प्रबुद्ध भनाइ राखेकी छिन् । आजका युवाहरूले मनमनमा उनको यो भनाइ कुँद्न जरुरी छ । उनले भनिन्, “सामाजिक न्यायबिना पर्यावरणीय न्याय सम्भव छैन ।” यही कारण आफूले गाजाको पक्ष लिएको र साम्राज्यवादको विरोध गरेको ग्रेटाले बताइन् । नेपालको नयाँ पुस्ताले यसबारे कति चिन्ता लिएको छ ? कति चिन्तन गरेको छ ? कति अध्ययन गरेको छ ? यो सङ्घर्षमा होमिन कति तयारी गरेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *