भर्खरै :

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू

(पत्रकार समाज नेपालले प्रकाशित गरेको स्तालिनका अङ्गरक्षक ए. टी. रेबिनको संस्मरण पुस्तकको नेपाली रूपान्तरण ‘स्तालिनसँग’ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको भूमिका पाठकको अध्ययनको निम्ति प्रकाशित गरिएको छ । – सम्पादक)
स्तालिनको स्वाभाविक मृत्यु होइन, हत्या गरिसकेपछि पनि साम्राज्यवादीहरू र कम्युनिस्ट लुगामा पुँजीवादी संशोधनवादीहरूले सोभियत कम्युनिस्ट पार्टी र सरकारका नेताहरूलाई समेत कुटिल नीति प्रयोग गर्दै एक–एक गरेर मार्दै आपसमा भिडाए र पार्टीबाट निकाले । अन्ततः समाजवाद र कम्युनिस्ट पार्टीलाई विघटनपछि सोभियत सङ्घलाई नै विशृङ्खलित पारे । देखिने शत्रुहरूभन्दा लुकेका शत्रुहरू झन् डरलाग्दा हुन्छन् भन्ने भनाइ त्यसैकारण पुस्तौँपुस्तादेखि समाजमा प्रचलित हुँदै आएको छ ।
हरेक देशमा चाणक्यजस्ता कुटिल राजनीतिज्ञहरू हुन्छन्, कोही समाजवादको पक्षमा हुन्छन् भने कोही समाजवादको विरोधमा हुन्छन् । माओ त्सेतुङले भन्नुभएजस्तै “गोलीले जित्न नसकिने कम्युनिस्टहरूलाई चास्नी पोतेको गोलीले जित्छन् ।”
शत्रुको प्रशंसा, उपहार र आर्थिक सहयोग (घुस, छात्रवृत्ति, नातागोतालाई पुँजीवादी देशहरूका कम्पनीहरूका एजेन्ट बनाउँदै) बाट टाढा नरहने हो भने कुनै पनि देशका राजनीतिक दलका नेता र कार्यकर्ताहरू शत्रुका जाल र षड्यन्त्रबाट जोगिने छैनन् । आफ्नै देशका कर्मचारीतन्त्र र पार्टीका नेताहरूमार्फत पद र पैसाको जोहो गरेर एक–एक जना नेता र कार्यकर्ताहरूलाई हुर्मत लिँदै जनताको सामुन्ने पत्रु बनाई देशको राजनैतिक मञ्चबाट दूधको झिङ्गाजस्तै फालिनेछन् । देशको स्वतन्त्रता र सार्वभौमिकता नै समाप्त हुने खालका गतिविधि बढाइनेछन् ।
गोर्भाचोभको जीवनकै उद्देश्य ‘समाजवाद र कम्युनिस्ट पार्टीलाई विघटन गर्ने तथा सोभियत सङ्घलाई विशृङ्खलित पार्ने’ हो । घुस, पदलोलुपता र आलोचना–आत्मालोचना एवम् सैद्धान्तिक सङ्घर्षलाई पार्टीभित्र बरोबर चलाउँदै नगए कम्युनिस्ट पार्टी कम्युनिस्ट रहने छैन भन्ने उदाहरण सोभियत सङ्घको पतन र रुसमा पुँजीवादको पुनस्र्थापनापछि पूर्वी युरोपेली समाजवादी देशहरूको रङ्ग फेराइबाट प्रस्ट हुन्छ । स्वाभाविक रूपले र सरलताबाटै समाजवादको स्थापना हुन्छ भन्ने युरोपेली देशका कम्युनिस्ट दलहरू पनि सुक्दै गए । सङ्घर्षहीनताको परिणाम यस्तै हुन्छ ।
यसकारण, नेपालका प्रगतिशील नयाँ पुस्तालाई विभिन्न देशका उत्थान र पतनका विषयमा अध्ययन र अध्यापन गराउन स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनको ‘स्तालिनसँग’ भन्ने संस्मरण अत्यन्त महत्वपूर्ण संस्मरण हो । यसको अनुवाद गर्ने युवा साथीहरू धन्यवादका पात्र हुन् ।
नयाँ युवा साथीहरूलाई स्तालिन को हुनुहुन्थ्यो भन्नेबारे र उहाँको योगदानबारे स–साना ऐतिहासिक घटनाहरू बताउने उद्देश्यले स्तालिनका महत्वपूर्ण घटनाहरूलाई छोटोमा उल्लेख गरिएको हो ।
त्यस्तै, सोभियत सङ्घको समाजवादी क्रान्ति र समाजवादको रक्षाको निम्ति सङ्घर्ष गर्ने नायक र खलनायकहरूको पनि स–साना परिचय राख्नु सान्दर्भिक देख्छु ।

स्तालिन एक पार्टी कार्यकर्ताको रूपमा
रुसको दक्षिण–पश्चिम भागको ककेसियामा सन् १८७९ अर्थात् १४२ वर्ष पहिले जन्मनुभएका स्तालिनको बालक बेलाको नाम शोशो थियो । एक गरिब किसान परिवारमा जन्मनुभएका स्तालिनको सानैमा बुबाको देहान्त भयो र आमाबाट हुर्काइनुभयो । १५ वर्षको उमेरमा उहाँलाई एक धार्मिक विद्यालयमा भर्ना गरियो ।
तिफलिस त्यसबेला जर्जियाको राजधानी थियो । त्यहाँ रेल पुग्यो, कल–कारखानाहरू पनि खुले, स्कूल–कलेजहरू पनि स्थापना भए । मजदुर सङ्गठनहरू पनि बिस्तारै स्थापना भए । गुप्तरूपले माक्र्सवादी अध्ययन गोष्ठीहरू सक्रिय भए, समाजवाद चाहने क्रान्तिकारी मजदुर सङ्गठनहरू पनि भित्र–भित्र काम गर्न थाले । शोशो पनि त्यस्ता माक्र्सवादी अध्ययन गोष्ठीमा सामेल हुनुभयो, मेहनती विद्यार्थी हुँदा माक्र्स–एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ देखि ‘पुँजी’ भन्ने पुस्तकसमेत अध्ययन गर्न थाल्नुभयो ।
शोशोको गतिविधि र पाठ्यसामग्रीबाट राजा जारको गुप्त प्रहरी उहाँको कोठामा पुग्यो । त्यसबेलासम्म उहाँ मजदुरहरूको एक युवा शिक्षकको रूपमा परिचित भइसक्नुभएको थियो । साथीहरूसँग मिलेर उहाँले ‘सङ्घर्ष’ भन्ने एक पत्रिका प्रकाशित गर्नुभयो । सन् १९०२ मा उहाँ पहिलो पटक २३ वर्षको उमेरमा पक्राउ पर्नुभयो । त्यसपछि उहाँ बारम्बार पक्राउ पर्नुभयो र कालापानी भन्ने साइबेरियाका गाउँ र दुर्गम क्षेत्रमा निर्वासनमा पठाइनुभयो । निर्वासनबाट पनि उहाँ बरोबर फुत्किरहनुहुन्थ्यो र आफ्नो कर्मक्षेत्र मजदुर सङ्घर्षमा पुग्नुहुन्थ्यो ।
स्तालिनले ‘सर्वहारा सङ्घर्षका अग्रदूत’ नामका समाचारपत्र र आफ्नै सम्पादनमा प्रकाशित ‘सर्वहारा सङ्घर्ष’ मा पनि विभिन्न सैद्धान्तिक रचनाहरू लेख्नुहुन्थ्यो । सन् १९०५ को ९ जनवरीको आइतबारको दिन आफ्नो मागलाई लिएर ग्यापोन भन्ने एक धार्मिक नेताको अगुवाइमा दरबारमा प्रदर्शन गर्न गएका निःशस्त्र हजारौँ जनतामाथि राजा जारको शासनले गोली काण्ड गराएको थियो ।
सन् १९०५ डिसेम्बर महिनामा रुसी बोल्शेविकहरूको पहिलो राष्ट्रिय सम्मेलन फिनल्यान्डमा भयो । त्यहीँ स्तालिनले लेनिनसँग भेट गर्नुभएको थियो । सम्मेलनको निम्ति राजनैतिक दस्ताबेजको खेस्रा लेनिन र स्तालिन मिलेर गर्नुभयो ।
१९०६ अप्रिल महिनामा पार्टीको चौँथो महाअधिवेशन स्वीडेनको राजधानी स्टकहोममा भएको थियो । स्तालिनले लेनिनसँग मिलेर मेन्सेविकहरूको फितलो नीतिको खण्डन गर्दै भन्नुभयो, “पार्टीभित्रको मुख्य विवाद सर्वहारावर्गको प्रभुत्व हो वा प्रजातन्त्रवादी पुँजीपति वर्गको हो भन्ने प्रश्नमा हो ।”
सन् १९१२ जनवरी महिनामा प्रागमा बोल्शेविक पार्टीको छैटौँ सम्मेलन भयो र जारको दमनचक्रबाट पार्टीलाई जोगाउन सम्मेलनको बैठकले कानुनी र गैरकानुनी सङ्घर्ष गर्ने निर्णय ग¥यो तथा मेन्सेविकहरूलाई पार्टीबाट निकाला ग¥यो । मेन्सेविकहरू (अल्पमत) भई पराजित भएको र बहुमत भएका ‘रुसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी’ लाई बोल्शेविक नाम राखियो । देशभित्र व्यावहारिक काम गर्न स्तालिनको नेतृत्वमा एक केन्द्रीय समिति बनाइयो ।
सन् १९१२ मा चौँथो संसद् (ड्यूमा) को निर्वाचन भएको थियो । त्यस निर्वाचनमा ६ जना ‘बोल्शेविक’ मजदुर प्रतिनिधिले १० लाख मत प्राप्त गरेका थिए भने ७ जना मेन्सेविक प्रतिनिधिले मात्र २ लाख मत पाएका थिए । त्यस संसदीय निर्वाचनको निर्देशन स्तालिनले गर्नुभएको थियो । तर, त्यस बोल्शेविक प्रतिनिधिहरूमध्ये मेलिनोभ्स्की नामको एकजना सरकारी गुप्तचर थियो । उसले सच्चा र सक्रिय कार्यकर्ताहरू पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको विषय धेरैपछि मात्र पार्टीलाई थाहा भयो ।
फेबु्रअरी १९१३ मा पोल्यान्डको काक्रो भन्ने सहरमा पार्टीको केन्द्रीय समितिको बैठक भएको थियो, त्यस बैठकमा संसद्का जनप्रतिनिधिहरूले पनि भाग लिएका थिए । त्यसैबेला लेनिन र स्तालिनले पार्टीको गम्भीर विषयमा छलफल गर्ने अवसर पाउनुभएको थियो ।

स्तालिन, प्रहरी, जेल र कालापानी
२५ मार्च १९०१ मा स्तालिन २२ वर्षका युवा हुनुहुन्थ्यो । प्रहरी उहाँको कोठामा पुग्यो । पहिलोचोटि उहाँ पक्राउबाट बच्नुभयो र भूमिगत भई पूर्णकालीन कार्यकर्ता बन्नुभयो । बाकु क्षेत्र सर्वहारावर्गको गतिविधिको एक केन्द्र बन्यो ।
२ अप्रिल १९०२ बाटुम सहरका ठाउँ–ठाउँमा ‘मुख्य व्यक्ति’ समात्न प्रहरीले छापा मार्दै गर्दा स्तालिन २३ वर्षको उमेरमा पहिलो पटक पक्राउ पर्नुभयो र बाटुम जेलमा थुनिनुभयो । जेलमा पनि आफ्नो राजनैतिक गतिविधिका कारण उहाँ बरोबर जेल सरुवामा पर्नुभयो ।
सन् १९०३ मा स्तालिनलाई पुर्वी साइबेरियाको इर्खुटस्क प्रान्तमा ३ वर्षको निम्ति कालापानीमा पठाइयो ।
५ जनवरी १९०४ मा उहाँ पार्टी सङ्गठनको विकासको निम्ति कालापानीबाट बेपत्ता हुनुभयो । २ वर्षको जेलपछि पुनः ककेसियाको बाटुम र तिफलिसमा सक्रिय हुनुभयो ।
२५ मई १९०८ मा उहाँ पुनः पक्रिनुभयो र आठ महिना जेलमा थुनिनुभयो । त्यसपछि उहाँ भोलाग्दा प्रान्तमा दुई वर्षको निम्ति निर्वासनमा पठाइनुभयो ।
२४ जून १९०९ मा निर्वासनबाट उहाँ गायब भई बाकुमै भूमिगतरूपले सक्रिय हुनुभयो । त्यसबेला उहाँ २९ वर्षको युवा हुनुहुन्थ्यो ।
२३ मार्च १९१० मा स्तालिन फेरि पक्राउ पर्नुभयो र ६ महिना जेलमा थुनिनुभयो । आफ्नो अध्ययन र सङ्गठनको काम चालु राख्नुको कारण उहाँलाई पाँच वर्षको निम्ति कालापानीको निर्वासनमा पठाइयो ।
लेनिनले पार्टीभित्रको गन्जागोलबारे स्तालिनलाई पत्र पठाउनुभयो र ६ सेप्टेम्बर १९११ मा कालापानीबाट गायब भई अर्को मजदुर सङ्घर्षको नगर सेन्ट पिटर्सवर्ग पुग्नुभयो ।
९ सेप्टेम्बरको दिन उहाँ पुनः पक्राउ पर्नुभयो र पहिलेकै कालापानीमा निर्वासित गरिनुभयो ।

कालापानीबाट क्रान्तिमा
२९ फ्रेबुअरी १९१२ को दिन निर्वासनबाट भाग्न सफल हुनुभयो र पिटर्सवर्गको पार्टी केन्द्रीय समितिको काम सम्हाल्नुभयो ।
२२ अप्रिल १९१२ मा स्तालिन सेन्ट पिटर्सवर्गमै पक्रिनुभयो र केही महिना जेलमा थुनिनुभएपछि ३ वर्षको निम्ति निर्वासनमा पठाइनुभयो । क्रान्तिकारीहरूको निम्ति टाढा र नजिकको अर्थ हुने गर्दैन, त्यस्तै गा¥हो र सजिलोको कुरा पनि हुन्न । खाली सङ्घर्षप्रति समर्पणको भावनाले काम गर्छ ।
१ सेप्टेम्बर १९१२ मा स्तालिन निर्वासनबाट सरकारको आँखा छलेर अचानक पुनः सेन्ट पिटर्सवर्ग जस्तो सङ्घर्षको थलोमा पुग्नुभयो । उहाँ त्यसबेला ३३ वर्षको हुनुहुन्थ्यो ।
स्तालिन २२ फेब्रुअरी १९१३ मा सेन्ट पिटर्सवर्गमा पार्टी कार्यालयमा ‘प्राब्दा’ प्रकाशनको निर्देशन दिँदै हुनुहुन्थ्यो, भवनमा जारका गुप्तचरहरू घुसिसकेका थिए । उहाँ पक्राउ पर्नुभयो र ४ वर्षको निम्ति दुरुखान्सको कोस्तिनो कालापानीमा निर्वासित हुनुभयो । बरोबर निर्वासनबाट अलप हुनाको कारण उत्तरी ध्रुवको सुमेरुको कुरिया भन्ने ठाउँमा सरुवा गरिनुभयो । त्यो ठाउँ मस्कोबाटै ५–६ हजार माइल टाढा थियो । तर, लेनिनसँग पत्रद्वारा सम्पर्क भइरहेको थियो ।
सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । लेनिन स्वीजरल्यान्डमा हुनुहुन्थ्यो । दोस्रो इन्टरनेसनलका नेताहरूले आ–आफ्नो पुँजीवादी सरकारको समर्थन गरेको हुँदा लेनिनले त्यस अन्ध–राष्ट्रवाद र बडा–राष्ट्रवादको खण्डन गर्नुभयो । सन् १९१५ मा कालापानीमा स्तालिनले बन्दी बोल्शेविकहरूको बैठक गर्नुभयो । तर, पार्टीभित्रै मिलिनोभ्स्कीजस्ता जासुसहरू हुँदा स्तालिनलाई जार सरकारले थप कडा पहरा राख्दै एभिन्समा सरुवा ग¥यो । जार सरकार युद्धमा हार्दै थियो । देशको विभिन्न ठाउँमा मजदुर हडताल चर्किँदै थियो । २६ फेबु्रअरी १९१७ मा मजदुरवर्गको विद्रोह सुरु भयो । २७ फेब्रुअरीको दिन ६० हजार सरकारी सेना जनतासँग मिल्न गए । सबै मन्त्रीहरू पक्राउ परे । जार सरकारको पतन भयो । रुसमा पुँजीवादी क्रान्ति सफल भयो । राजबन्दीहरू सबै छुटे । १२ मार्चको दिन स्तालिन कालापानीबाट राजधानी सेन्ट पिटर्सवर्ग पुग्नुभयो ।
स्तालिन– एक माक्र्सवादी र लेनिनवादी
स्तालिन सुरुदेखि नै माक्र्सवादी साहित्य र दर्शनबाट प्रभावित एक युवक भएको हुँदा उहाँ भावुकताभन्दा विषयवस्तुको गहिराइमा जानुहुन्थ्यो । उहाँले माक्र्स–एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ देखि माक्र्सको ‘पुँजी’ को पनि गहिरो अध्ययन गर्नुभएको थियो ।
रुस विभिन्न जातजाति र भाषभाषीको देश हुँदा त्यहाँका जातीय वा राष्ट्रियताको प्रश्न महत्वपूर्ण थियो । यसकारण, स्तालिनले लेनिनकै निर्देशनमा त्यसबारे एक गहन रचना लेख्नुभयो । ‘माक्र्सवाद र अराजकतावाद’ देखि ‘लेनिनवादको मूल सिद्धान्त’, ‘लेनिनवादका समस्याहरू’ जस्ता गहन विषयमा पनि उहाँले महत्वपूर्ण विश्व सर्वहारावर्ग र समाजवादको निम्ति बाटो देखाउनुभयो ।
यस अर्थमा स्तालिन सुरुदेखि नै रुसी कम्युनिस्ट पार्टीको निम्ति एक सशक्त सिद्धान्तकारको रूपमा प्रस्तुत हुनुभयो । सङ्घर्षकै सिलसिलामा उहाँले धेरै पत्रपत्रिकाको सम्पादन र प्रकाशनको चाँजोपाँजो मिलाएर मजदुर आन्दोलनलाई अगाडि बढाउनुभयो ।

रुसको अक्टोबर क्रान्ति
पुँजीपतिवर्गको हितको निम्ति पुँजीवादी सरकारको माझमा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो, त्यसमा जारको रुस पनि सामेल थियो ।
२७ फेब्रुअरी १९१७ मा २७ हजार सरकारी सेनाका जवानहरू क्रान्तिमा सामेल भएपछि परिस्थितिमा ठुलो उथलपुथल भयो । जारका सबै मन्त्रीहरू पक्राउमा परे, बन्दी क्रान्तिकारीहरू जेलमुक्त भए र जारतन्त्र फालिएपछि पुँजीवादी दलहरूको अस्थायी सरकार बन्यो, त्यसको पुँजीवादी नेता प्रधानमन्त्री रेकेन्स्की थिए ।
युरोपका ‘समाजवादी’ दलहरूले साम्राज्यवादी देशहरूको युद्धमा आ–आफ्नो सरकारको समर्थन गरे । नाम समाजवादी तर कामले साम्राज्यवादलाई समर्थन गर्ने ‘दोस्रो इन्टरनेसनल’ भन्ने अन्तर्राष्ट्रिय समाजवादी पार्टी र त्यसका नेताहरूलाई लेनिनले ‘समाजवादी साम्राज्यवादी’ भनी उदाङ्ग्याउनुभयो ।
त्यस लेनिनवादी नीतिअनुसार बोल्शेविक पार्टीले आ–आफ्नो देशमा पुँजीवादी सरकारहरूको विरोधमा गृहयुद्ध गर्न आह्वान गर्ने निर्णय ग¥यो । कामेनेभले आफ्नो देशको पुँजीवादी सरकारलाई समर्थन गर्दै लेनिनवादी नीतिको विरोध गरे । मिलिनोभ्स्कीले पार्टी निर्णयलाई सरकारसम्म पु¥याए । अल्पमतमा परी निकालिएका मेन्सेविकहरूले पनि देशको ‘रक्षा गर्ने’ नाममा पुँजीवादी सरकारको समर्थन गरे ।
२४ अप्रिल १९१७ को दिन बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो र अन्तर्राष्ट्रिय पुँजी र सङ्कीर्ण राष्ट्रवादको विरोध गर्दै लेनिनले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने सिद्धान्त प्रस्तुत गर्नुभयो ।
कामेनेभ, जिनोभित्, बुखारिनजस्ता नेताहरूले सिद्धान्तमा अडान नराख्ने दोधारे नेताहरूकोे विरोध गरे पनि सम्मेलनको बहुमत प्रतिनिधिहरूले प्रस्तावलाई समर्थन गरी पारित गरे । त्यस बैठकले एक राजनीतिक समिति निर्वाचित ग¥यो । स्तालिन पनि त्यस समितिको सदस्य चुनिनुभयो । लेनिन पेट्रोग्रादमा बसेर काम गर्ने निर्णय गरियो । लेनिन त्यसबेला ४७ र स्तालिन ३८ वर्षका हुनुहुन्थ्यो ।
२६ जुलाईदेखि ३ अगस्तसम्म पार्टीको आठौँ गुप्त महाअधिवेशन भयो । सोअनुसार स्तालिनले शान्तिको समय टुङ्ग्यो र अब सशस्त्र विद्रोहको समय आएको रिपोर्ट प्रस्तुत गर्नुभयो । त्रोत्स्कीहरूले पश्चिमी देशहरूमा समाजवादी क्रान्ति नभएसम्म रुसमा समाजवादी क्रान्ति नहुने कुतर्क प्रस्तुत गरे ।
स्तालिनले ‘युरोपको बाटोमात्र समाजवादको बाटो’ भन्ने विचार त्यागेर रचनात्मक माक्र्सवादको तर्क अगाडि सार्नुभयो । बैठकले बैङ्क र कलकारखाना राष्ट्रियकरण गर्ने, किसानहरूलाई निःशुल्क जग्गा प्रदान गर्ने नीति पारित ग¥यो । स्तालिनले गरिब किसानहरूलाई मजदुरवर्गको साथी र क्रान्तिको सहयोगीको रूपमा घोषणा गर्नुभयो ।
बुखारिनले किसानहरूसँगको मित्रतालाई विरोध गरे भने कामेनेभ, राइकोभ र त्रोत्स्कीहरू लेनिनलाई अदालतमा हाजीर गराउने पक्षमा थिए । तिनीहरू अस्थायी पुँजीवादी सरकारबाट लेनिनको हत्या गराउने षड्यन्त्र गर्दै थिए ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *