भर्खरै :

भक्तपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुमा कक्षा १ र ६ मा शैक्षिक सत्र २०७५ देखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नयाँ पुस्तालाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको स्रोतले बताएको छ ।
स्थानीय पाठ्यक्रम निर्माण कार्य दलले तयार गरेको पाठ्यक्रम आइतबार नगरपालिकाको सभाकक्षमा आयोजित एक समारोहमा नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा प्रमुख प्रजापतिले विश्वव्यापीकरणको नाममा हामीले आफ्नो पहिचान गुमाउन थालेकोमा चिन्ता व्यक्त गर्दै कार्य दलले तयार गरेको स्थानीय पाठ्यक्रमले नयाँ पुस्तालाई स्थानीय विशेषताबारे जानकारी दिन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यदलका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख प्रजापतिले यसै शैक्षिक सत्रदेखि कक्षा १ र ६ मा पाठ्यक्रम लागू गर्ने जानकारी दिनुभयो ।
उहाँले स्थानीय पाठ्यक्रम लागू गर्दै जाँदा शिक्षक, अभिभावक र स्थानीय बुद्धिजीवीहरुबाट प्राप्त हुने राय सुझावअनुसार आवश्यक संशोधन गर्दै जाने बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन र स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयमा भक्तपुरले अगुवाइ गरिरहेको प्रस्ट पार्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको नारा ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ लाई सार्थकता प्रदान गर्न तथा नयाँ पुस्तालाई भक्तपुरको मौलिक पहिचानबारे जानकारी दिन स्थानीय पाठ्यक्रमले योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुरलाई आदर्श नगर बनाउने अभियानको प्रारम्भ भएको उल्लेख गर्दै निर्वाचनमा जनतामाझ प्रतिबद्धता व्यक्त गरेअनुसार नै जनप्रतिनिधिहरु लागिपरेको बताउनुभयो ।
त्रिवि शिक्षाशास्त्र सड्ढायका पूर्व डिन प्रा. पृथुचरण वैद्यले स्थानीय पाठ्यक्रम निर्माणमा नगरपालिकाले अगुवाइ गरेकोमा खुसी व्यक्त गर्दै स्थानीय पाठ्यक्रम लागू गर्दा देखापर्ने सकारात्मक एवं सुधानुपर्ने पक्षको विषयमा निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय पाठ्यक्रम निर्माणसँगै पाठ्यपुस्तक तयारीमा पनि लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले स्थानीय तहमा जनप्रतिनिधि बहाल भएसँगै स्थानीय विकास निर्माणले तिव्रता पाएको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर अन्य स्थानीय तहहरुलाई बाटो देखाउने कार्य गरेको उहाँको कथन थियो ।
कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कार्य दलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले स्थानीय ज्ञान, सीप र धारणालाई नयाँ पुस्तामा प्रशिक्षित गर्ने ध्येयले स्थानीय पाठ्यक्रम निर्माण गरिएको उल्लेख गर्दै स्थानीय पाठ्यक्रमको लक्ष्य ‘ख्वप पहिचान’ हुने बताउनुभयो ।
उहाँले कार्यदलले सरोकारवाला पक्षहरुसँग निरन्तर सल्लाह र स्थलगत अध्ययन गरेर पाठ्यक्रमलाई ११ वटा क्षेत्रमा विभाजन गरिएको बताउनुभयो । त्यसअन्तर्गत पहिलो ख्वपको नामकरण र भूबनोट, दोस्रो ख्वपको इतिहास, तेस्रो स्थानीय जातजाति, व्यक्तित्व र जनसङ्ख्या र जनसङ्ख्या, चौथो स्थानीय संस्कृति, पाँचौ प्रचलित स्थानीय संस्कार, छैठौं स्थानीय बोलचाली र लिपी, सातौं स्थानीय सम्पदा र कला, आठौं स्थानीय व्यवसाय, नवौं स्थानीय उपचार विधि, दसौं स्थानीय खेल र एघारौं पर्यटन रहेका छन् ।
समारोहमा कार्यदलका सदस्यहरु उद्धव सुजखू, राजेन्द्र श्रेष्ठ र रोशनराज तुइतुईले स्थानीय पाठ्यक्रम निर्माण गर्दाका अनुभवहरु बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *