अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नक्कली ‘वाम’ र देखावटी ‘माओवादी’ वा भारतको सच्चा मित्र ‘नयाँ शक्ति’ लाई सत्ताको खेल हातमा लिन खोजेको भनी किन सत्वसराप गर्नु ? के अब नेपालमा सधैँ नेपाली काङ्ग्रेसले मात्रै तानाशाही चलाउने र पुनः राणाशासन ल्याउन खोजेको हो ? के अरुले निर्वाचन जितेर पनि शासनमा जान नपाउने ?
२२ असोज २०७४ को अन्नपूर्ण पोस्टले लेख्यो – ‘वाम एकतामा दिल्ली ‘सरप्राइज’ । कहिलेकाहीँ समाचार आफै हास्यव्यङ्गयजस्तो अनुभव हुन्छ । दिल्ली धेरै वर्षदेखि नेपालको राजनीतिमा स्थिरताको निहुँमा ‘मतसीमा’ वा थ्रेसहोल्डको पक्षमा थियो । दुईदलीय तानाशाहीको निम्ति नेपाली नेता र दलहरूमाथि मलजल थप्दै थियो । बाबुराम र प्रचण्डका गतिविधिबारे भारत ‘आश्चर्य’ मा भन्नु स्वयम् एक हाँसोको विषय हुन्छ र ‘वाम’ गठबन्धनलाई भारतको निमित्त बायाँ हातको लड्डु हो भने नेपाली काङ्ग्रेसको गठबन्धन दायाँ हातको लड्डु हो । दिल्लीको दुवै हातमा लड्डु हुनु के आश्चर्यको विषय होला ? बरु यो भारतको निम्ति भित्रभित्र सा¥है खुसीको समाचार हुनेछ ।
वर्षौँसम्म सत्ताको भागबन्डाको दलदलमा फसिसकेका एमाले र ‘माओवादी’ ले के सशस्त्र सङ्घर्ष गर्ने कल्पना पनि गर्नेछन् ? असम्भव ¤ सत्ताको सुविधाको स्वाद र विदेशी गैरसरकारी संस्थाहरूको डलर र बरोबर सत्तामा पु¥याउने दक्षिणको मित्रको आशीर्वादलाई छोड्न सक्नेछैनन् । यसकारण, न तिनीहरू एमाले र माओवादी हुन्, न तिनीहरू कम्युनिस्ट हुन् ।
कम्युनिस्ट घोषणापत्रमा लेखिएको थियो – ‘युरोप साम्यवादको भूतले तर्सेको छ ।’ आज काठमाडौँ नक्कली वाम र नक्कली कम्युनिस्टको भूतले तर्सेको छ ।
सच्चा कम्युनिस्टहरू शान्तिपूर्ण आन्दोलन र निर्वाचनबाट समाजवादमा पुग्दैनन् भन्ने विषयमा राज्यसत्ताको चरित्र र उद्देश्य बुझ्ने हरेक राजनैतिक बुद्धिजीवीले बुझ्ने विषय हो । तर, लोकतन्त्रवादी र प्रजातन्त्रवादी भन्ने रुढीवादी बुद्धिजीवीहरू सशस्त्र सङ्घर्षबाट राज्यसत्ता कब्जा गर्ने वा युद्धबाट राज्य जित्ने विषयलाई ‘स्तालिन र माओ त्सेतुङ’ को सिद्धान्त भनी आफ्नो सीमित समझदारीको प्रदर्शन गर्छन् ।
के रामायणका भरतले रामको खराउ गद्दीमा राखेर आफूले अयोध्यामा शासन गर्ने प्रस्तावलाई रामले स्वीकारे ? रामचन्द्रले आफ्नो शक्ति सञ्चयपछि अयोध्या पुगेर राज्यारोहण गरे । रामको शक्ति नभएको भए के भरतले आफ्नो गद्दी छोड्थे ?
महाभारतमा के पाँच पाण्डवले लडाइँ नजितेका भए युधिष्ठिरले गद्दी प्राप्त गर्दथे ? अनेक जालझेल र प्रपञ्चले लडाइँ पाँच पाण्डवले जिते, ती सबै सत्ताकै लागि थियो, कामदारवर्गको निम्ति थिएन ।
पृथ्वीनारायण शाहले लडाइँ नगरेका भए के काठमाडौँ र देशका अन्य भूभाग जित्न सक्थे ? राणाहरूले आफ्नो सैनिक शक्ति बलियो नबनाएका भए शाहहरूको शासनलाई राणाहरूले प्राप्त गर्नसक्थे ? हो, राणाहरूको पछाडि बेलायती राजदूतावास थियो भने नेपाली काङ्ग्रेसले २००७ सालमा राणा शासनलाई हटाउन पनि भारतको सैनिक सहयोग प्राप्त गरेको थियो ।
राजा महेन्द्रले नेपाली काङ्ग्रेसको सरकार ढाल्ने काम पनि सेनाकै बलमा गरेका थिए । नेपालको राजतन्त्र समाप्त गर्न भारतको प्रत्यक्ष सहयोगमा १० वर्षे जनयुद्ध गरी ‘माओवादी’ नामको दल सत्तामा पुग्यो । वास्तवमा निर्वाचनको अर्थ पनि जनताको बहुमतको समर्थनलाई सेनाले मानेरै नयाँ सरकार बन्ने परम्परा हो ।
त्यसो भए ‘वाम’ एमाले र माओवादी ‘कम्युनिस्ट’ तथा माक्र्सवादबाट विरक्तिएका ‘नयाँ शक्ति’ को तालमेल र गठबन्धनलाई प्रजातन्त्रवादी रिसोर्ट चहार्ने बुद्धिजीवीहरूले किन डाहा गर्ने ? ‘कम्युनिस्ट’ र ‘वाम’ भन्ने नामसित किन तर्सेको हो सत्ताधारी नेपाली काङ्ग्रेस ? उत्तर सरल छ – संसारका कुनै पनि शासनका शासकहरू स्वेच्छाले गद्दी छोड्न तयार हुँदैनन् । यसकारण, शेरबहादुर देउवा पनि देशी तथा विदेशी सहयोगीहरूको आडभरोसामा अन्तिम बेलासम्म शासनमा टिकिरहनेछन् ।
तर, यही कुरा तथाकथित वाम र कम्युनिस्ट पार्टीहरूले स्वीकार्दा किन स्तालिन र माओ त्सेतुङको नाम लिने ? के भारतमा गान्धीजी भएकै बेला तेलङ्गानाको किसान आन्दोलनलाई नेहरू सरकारले गोर्खाली सेना लगाएर दबाएका थिएनन् ? के स्पार्टाकस दास विद्रोह, पेरिस कम्युन र भारत तथा अन्य देशका विद्रोहहरूलाई अङ्ग्रेजहरूले शस्त्रको बलमा दबाएका थिएनन् ? भारतको सहयोग नपाएको भए के नेपाली काङ्ग्रेसको सरकार आज पनि कायम रहन सक्ला ?
त्यसो भए नक्कली ‘वाम’ र देखावटी ‘माओवादी’ वा भारतको सच्चा मित्र ‘नयाँ शक्ति’ लाई सत्ताको खेल हातमा लिन खोजेको भनी किन सत्वसराप गर्नु ? के अब नेपालमा सधैँ नेपाली काङ्ग्रेसले मात्रै तानाशाही चलाउने र पुनः राणाशासन ल्याउन खोजेको हो ? के अरुले निर्वाचन जितेर पनि शासनमा जान नपाउने ?
तर, एमाले, ‘माओवादी’ र ‘नयाँ शक्ति’ सँग विरोधको विषय फरक छ । यदि ‘माओवादी’ साँच्चै प्रजातन्त्रमा विश्वास नगर्ने हो भने नेपाली काङ्ग्रेसको नेतृत्वमा किन सरकारमा गएको ? किन प्रतिपक्षमा नगएको ? यसकारण, सत्ता नछोडेसम्म ‘माओवादी’ ले शेरबहादुर देउवाको पछि लाग्न छोड्नु हुने थिएन । यसकारण, प्रचण्डले दुईमध्ये एकमात्रै बाटो रोज्न सक्छन् – सरकारमा बस्ने वा सरकार छोडेर प्रतिपक्षको झन्डा उठाउने । त्यस्तै, ओलीसँग पनि एउटैमात्र बाटो छ – संसद्मा प्रमुख प्रतिपक्षको भूमिका खेल्ने, भागबन्डामा भाग नलिने र सरकारका विधेयक र प्रस्तावहरूको विरोधमा सङ्घर्ष गरेर सरकारलाई सत्ताबाट फाल्ने । तर, सरकारसँग भित्र भित्र भागबन्डामा जाने, सरकारको विरोध नगरी सरकारका सबै विधेयक र नीतिलाई समर्थन गर्ने हो भने मन्त्री पद नदिए पनि सरकारको पछि लाग्नैपथ्र्यो । आफूलाई सरकारकै पक्षमा भएको घोषणा गर्नुपथ्र्यो । नत्र एमालेको दोहोरो चरित्र सत्ताकै फोहोर पानी पिउने प्यास हो ।
२४ असोज, २०७४ (10 Oct., 2017)
Leave a Reply