एकताको अहङ्कार गर्ने कि काम गरे देखाउने !
- कार्तिक २१, २०८२

सिद्धान्त र विचारको आधारमा राजनीतिक दलहरूबिच एकता हुनु अन्यथा होइन । तर, सिद्धान्त र विचार नमिले पनि एकता हुन्छ र एकता भएको मसी सुक्न नपाउँदै विरोधको स्वर सल्केर पार्टी फुटेको दृष्टान्त छ । विश्व सर्वहारावर्गका नेता माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ त्यसै भन्नुभएको होइन । अन्तरिम सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचनमा बढीभन्दा बढी नतिजा ल्याउने ध्येयले पार्टी एकताको कुरा उठाइएको देखिन्छ । पार्टी एक्ला एक्लै लड्दा पार्टीको अस्तित्व नहुने स्थितिमा पुग्ला भन्ने डरले पार्टी ठुलो बनाउने उद्देश्यले पार्टी एकताको प्रसङ्ग उठेको राजनीतिक विश्लेषकहरूको अभिमत छ । कार्तिक १६ गतेको ‘नयाँ पत्रिका’ मा छापियो, ‘आठ दल समूह मिलेर नेकपा समाजवादी बन्दै’, ‘आन्तरिक कलहबिच माओवादी’, ‘एकीकृत समाजवादीलगायत आठ दल–समूहको मङ्गलबार एकता घोषणाको तयारी ।’ सोही दिनको ‘नागरिक’ दैनिकले लेख्यो, ‘आन्तरिक कलहमा दलहरू ।’ ‘असन्तुष्ट पक्षहरूलाई मिलाएर अलग दल वा मोर्चा बनाउने प्रयास’ र ‘विभाजनको सङ्घारमा माओवादी ।’ माओवादीमा फुटको खतरा’ र ‘एकता प्रक्रियामा समाहित हुने माओवादी निर्णय ।’ त्यस्तै ‘अन्नपूर्ण’ मा एकीकृत समाजवादीसँग पार्टी एकताविरूद्ध जनार्दन’ शीर्षकको समाचार छापियो ।
कार्तिक १६ गते प्रकाशित यी विभिन्न शीर्षकका समाचारले आफ्नै पार्टीभित्रका नेताहरू जुट्न पनि एकमत छैनन् भन्ने थाहा हुन्छ । यसले दल दलका नेताहरूबिच मात्र होइन एउटै दलका शीर्ष नेताहरूको विचार पनि फरक रहेछ भन्ने बोध गराउँछ । एउटै दलभित्रका नेताहरूबिच नै एकमत छैन भने भोलि विभिन्न दल आबद्ध भएको पार्टीमा नेताहरूको विचार कसरी मिल्ला र कसरी एकीकृत भएर अघि बढ्ला ? निर्वाचनअघि ती दलबिच एक भएको जस्तो देखिए पनि निर्वाचनमा उम्मेदवार चयन गर्ने र पार्टी सम्मेलन या महाधिवेशनको बेला नेतृत्व चयन या पार्टीको केन्द्रीय समितिमा बस्ने सन्दर्भमा विवाद चर्केर असन्तोष बाहिर आउने धेरै सम्भावना हुन्छ । सम्मेलन या अधिवेशनमा केन्द्रीय समितिमा पदाधिकारी चयन हुने बेला सबैलाई चित्त बुझाएर समितिमा प्रतिनिधित्व गर्दा केन्द्रीय समिति भद्दा हुने धेरै सम्भावना हुन्छ ।
अर्को प्रश्न उठ्छ, आठ दल सम्मिलित हुने दलहरू के सबै कम्युनिस्ट पार्टी हुन् ? के ती दलका नेताहरू सबै साँच्चै समाजवादी पक्षधरहरू हुन् ? के ती दलहरू कम्युनिस्ट आन्दोलन अघि बढाउन र कम्युनिस्ट पार्टी सुदृढ बनाउन मिलेका हुन् ? एकता भएको त्यो दलले के समाजवादी आन्दोलन अघि बढाउँछ ? के समाजवादी प्रचार अभियान छेड्छ ? कार्तिक १७ गतेको समाचारमा आठवटा वाम घटकबिच एकता सहमति शीर्षकको समाचार प्रकाशित भयो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, माओवादी नेपाल कम्युनिस्ट पार्टी, माओवादी समाजवादी, नेकपा समाजवादी लगायतका दलहरू मिलेर पार्टी एकता भएको खबर प्रकाशमा आयो ।
एकीकृत समाजवादीका नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल, माओवादीका जनार्दन शर्माजस्ता नेताहरू फरक मत राख्दै अलग्गै मोर्चाबन्दीमा लाग्ने या अर्कै नयाँ दल गठन गर्ने या अरू दलमा समाहित हुने भन्ने खबर पनि पत्रिकामा छापियो । माओवादी र एकीकृत समाजवादीका असन्तुष्ट नेताहरू अलग्गै मोर्चा गठन गरेर अघि बढ्ने हुन् या अर्को कुनै दलमा मिल्ने हुन्; त्यो समयले बताउनेछ । समाचारमा ती दलका नेताहरूले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । सहमतिपत्रमा ‘समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको’ उल्लेख गरिएको छ । पार्टी एकता कार्तिक १९ गते हुने सहमति पत्रमा उल्लेख छ ।
ती दलका नेताहरू आफूलाई कम्युनिस्ट दाबी गर्छन् । तर, कार्यकर्ता भेला, सभा, सम्मेलन र अन्य कार्यक्रमहरूमा कम्युनिस्टको कुरा गर्दैनन्† कम्युनिस्ट सिद्धान्तको कुरा फलाक्दैनन् । कम्युनिस्ट पार्टीले त समाजवादी प्रचार अभियान छेड्नुपर्छ । समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सचेत पार्नुपर्छ । पुँजीवादी सरकारमा गएर आमूल परिवर्तन हुन्छ भन्ने सोच छोड्नुपर्छ । कम्युनिस्ट पार्टीको अल्पकालीन र दीर्घकालीन उद्देश्यबारे स्पष्ट पार्नुपर्छ । समाजवादी क्रान्तिको कुरा प्रतिबद्धतामा मात्र होइन सो पूरा गर्न आवश्यक पूर्वाधारहरू तयार गर्दै जानुपर्छ । कम्युनिस्ट पार्टी भन्ने तर, कम्युनिस्टको कुरा कहिल्यै नगर्ने दलले देशमा परिवर्तन ल्याउँदैन; परिवर्तन ल्याउन अघि बढ्दैन । पुँजीवादी दलहरूसँग मिलेर सरकारमा जाने दलले के समाजवादी क्रान्तिको बाटो कोर्ला ? पँुजीवादी दलसँग निर्वाचनमा गठबन्धन गर्ने दलले के कम्युनिस्ट आन्दोलन अघि बढाउला ? के कम्युनिस्ट पार्टी बलियो बनाएर जनतालाई सचेत र सङ्गठित गर्ला ? वाम एकता भनोस् या कम्युनिस्ट पार्टीको एकता त्यो उद्देश्य भने फत्ते हुनेछैन ।
Leave a Reply