भर्खरै :

चिनियाँ टोलीको भ्रमण जेन्युइनमा

चिनियाँ टोलीको भ्रमण जेन्युइनमा

भक्तपुर, २० कार्तिक । जेन्युइन स्कूलमा चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिन्हाई मिन्चु युनिभर्सिटीका १६ सदस्यीय टोली र कन्फयुसियस इन्स्टिच्यूट त्रिभुवन विश्वविद्यालयका टोलीलाई एक कार्यक्रमबिच स्वागत गरियो ।
विश्वविद्यालयबाट आएका अन्तर्राष्ट्रिय समन्वय समितिलगायत विशिष्ट व्यक्तित्वहरूको उक्त टोलीले विद्यालयको विभिन्न गतिविधिहरूको अवलोकन गरेको थियो ।
कार्यक्रममा विद्यालयका पूर्वप्रिन्सिपल एवम् संस्थापक सदस्य योगेन्द्रमान बिजुक्छेँले विद्यालयमा चिनियाँभाषाको सुरुआत र चिनियाँहरूको सरलता र सामान्य जीवनशैलीबाट हामी धेरै कुरा सिक्न सक्छाँै भन्नुभयो ।
इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका निर्देशक छेङ येङले स्कूलको आतिथ्य र विद्यार्थीहरूको क्रियाकलाप साह्रै राम्रो र भक्तपुरका जनताको आतिथ्यको शैलीबाट प्रभावित भएको बताउनुभयो ।
उहाँले शिक्षा, संस्कृति र अन्य क्षेत्रमा विद्यालय र विश्वविद्यालयबिच सहकार्य गर्न सकिने बताउनुभयो ।
छिन्हाई मिन्चु विश्वविद्यालयका उपनिर्देशक डा.लिउ याङहोउले आफ्नो विश्वविद्यालय विश्वकै छाना मानिएको तिब्बती पठारमा अवस्थित सबभन्दा ठुलो विश्वविद्यालय भएको बताउँदै सन् १९८४ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययन गर्ने मौका दिँदै आएको जानकारी गराउनुभयो ।
चिनियाँ प्रशिक्षकहरूले विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई पेपर कटिङ, क्यालीग्राफी, पेन्टिङजस्ता कक्षाहरू लिएका थिए । वरिष्ठ तबला वाद्यक एवं विद्यालयका सङ्गीत शिक्षक गौतम श्रेष्ठ र सङ्गीतकर्मी पुरुषोत्तम सुवालको प्रस्तुतिले उहाँहरूलाई मन्त्रमुग्ध बनाएको थियो । विद्यालयका विद्यार्थीहरूले भक्तपुरको मौलिक नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका विद्यार्थी आयुषा के.सी.ले चिनियाँ भाषामा गीत गाउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष एवम् चिनियाँ भाषाका गुरु राजामान बिजुक्छेँले भाषा एकले अर्र्कालाई नजिकबाट बुझ्ने महत्वपूर्ण सेतु भएको र छोटो समयमा इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिन्हाई मिन्चु युनिभर्सिटीको यो भेटघाटले दुवै संस्थासँगको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय र दुवै युनिभर्सिटीबिच मायाको चिनो आदानप्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले महाकाली नाच प्रस्तुत गरेका थिए भने चिनियाँ कलाकारले कम्फुको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा कन्फ्युसियस इन्स्टिच्युटका नेपाल शाखा निर्देशक डा. बलराम दुवाल, चिनियाँ भाषा प्रशिक्षकद्वय राजेन्द्र चवाल र निशा दनेखूको पनि उपस्थिति थियो ।
विद्यालयका शिक्षिका कृष्टिना दथेपुथेले धन्यवादज्ञापन गर्नुभएको थियो । कार्यक्रमको औचित्यताबारे सहायक प्र.अ. सौगात गेलालले प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *