भर्खरै :

भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति बर्दिबास नगरपालिकामा

भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति बर्दिबास नगरपालिकामा

बर्दिबास, २० कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जिल्ला र स्थानीय तहहरूको अध्ययन भ्रमणको क्रममा बिहीबार महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीसँग भेट गर्नुभयो । प्रमुख क्षेत्रीले प्रमुख प्रजापतिसहितको टोलीलाई बर्दिबास नपामा खादा ओढाएर स्वागत गर्नुभयो । उक्त भेटघाटमा उहाँहरूबिच दुई नगरपालिकाका विभिन्न पक्ष र देशको समसामयिक राजनीतिक विषयमा छलफल भयो ।
प्रमुख प्रजापतिले भक्तपुर नेपालको सबैभन्दा सानो सहर हुनुका साथै धेरै जनसङ्ख्या भएको सहर भएको बताउँदै भक्तपुर नेपालको सबैभन्दा धेरै घुम्न जाने पर्यटकीय गन्तव्य स्थल हो भन्नुभयो ।
नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेका उदाहरणीय कामहरूबारे अवगत गराई नपाले सातवटा कलेजहरू सञ्चालन गर्नुका साथै गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति र आर्थिक रूपले विपन्न विद्यार्थीहरूलाई शैक्षिक ऋणको पनि व्यवस्था गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले देशको वर्तमान राजनीतिक अवस्थाले देशलाई अराजकतातर्फ लाने सम्भावना भएको बताउँदै देशलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने बताउनुभयो ।
बर्दिबास नपाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थानीय सरकार आएपछि बर्दिबास नपामा धेरै विकासका गतिविधिहरू अगाडि बढेको स्मरण गर्दै स्थानीय सरकारलाई स्वायत्त रूपमा काम गर्न धेरै कठिनाइहरू रहेको उल्लेख गर्नुभयो ।
जेन–जी आन्दोलनले देशैभरिका सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडले देशलाई थप आर्थिक भार परेको बताउँदै उहाँले देश पुनः पहिलेको अवस्थामा आउन अझ धेरै समय लाग्ने बताउनुभयो
भेटमा बर्दिबास नपाका उपप्रमुख तारादेवी महत्तोले बर्दिबास नपाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा र सबै नगरबासीको लागि निःशुल्क रगतको व्यवस्था गर्दै आएको बताउनुते ।
बर्दिबास नपाभित्र ५२ वटा विद्यालयहरू रहेको र ती विद्यालयमा पठनपाठनको लागि शिक्षकको अभाव रहेको औँल्याउँदै उपप्रमुख महत्तोले बर्दिबास नपामा विभिन्न जातजाति, भाषाभाषीका जनताको बसोबास रहेको बताउनुभयो ।
बर्दिबास नपाभित्र मुसहर बस्ती पनि रहेको उल्लेख गर्दै उहाँले नपाभित्र उत्पादित कृषिजन्य वस्तुहरू काठमाडौँ उपत्यकामा निर्यात हुँदै आएको बताउनुभयो ।
उक्त भेटघाटमा भक्तपुर नपाको तर्फबाट वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवाल पनि हुनुहुन्थ्यो । त्यस्तै बर्दिबास नपाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, कार्यपालिका सदस्य, न्यायिक समितिमा कर्मचारीलगायतको पनि उपस्थिति थियो । भेटपश्चात् नगर प्रमुख प्रजापतिले प्रमुख क्षेत्रीलाई नगरपालिकाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *