अक्टोबर क्रान्ति दिवसको अवसरमा शिक्षक भेला
- कार्तिक २२, २०८२

रौतहट, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिमा नैतिक शक्ति ठुलो बल हो भन्दै नैतिकता भएको व्यक्ति कसैसामु झुक्नुपर्दैन भन्नुभयो ।
सर्लाहीको ढुकढुकी एफएमका संवाददाता क्षितिज विश्वकर्मासँग कार्तिक २१ गते प्रसारित अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले राजनीति विचार र सिद्धान्तले निर्देशन सङ्गठित शक्ति भएको बताउँदै राजनीति गर्नेहरूले अनैतिक काम गरेमा देशमा अराजकता निम्तिने खतरा बढ्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले वर्तमान सरकार देशको विशेष परिस्थितिलाई सम्बोधन गर्न आवश्यकताको आधारमा बनेको सरकार हो भन्दै उहाँले सुशीला कार्कीको अन्तरिम सरकार देशमा प्रतिनिधिसभाको निर्वाचन गराउनको लागि मात्र गठन भएको हुँदा सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनमा केन्द्रित काममात्र गर्नुपर्छ भन्नुभयो ।
सार्वजनिक संस्थानलाई कम्पनीमा लाने सरकारको निर्णय गलत भएको बताउँदै उहाँले देशलाई दीर्घकालीन असर पार्ने काम गर्ने अधिकार अन्तरिम सरकारसँग नभएको स्पष्ट पार्नुभयो ।
रातो लुगा लगाउने सबै क्रान्तिकारी हुँदैनन्, उसको विचार र सिद्धान्तअनुसारको व्यवहारले उसलाई क्रान्तिकारी बनाउने हो भन्दै उहाँले निर्वाचन जित्नको लागि जनतालाई ढाँट्ने र छलछाम गर्ने राजनीतिक दलहरूलाई विश्वासघातीको संज्ञा दिनुभयो ।
देश थप जटिलतातर्फ ढकेलिँदै जाँदा विदेशी चलखेल बढ्दै जानेतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उहाँले निर्धारित समयमै निर्वाचन गराउन सबै सरोकारवालाहरूले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले जेन–जी आन्दोलन एकै दिनको तयारीमा भएको होइन, यसमा विदेशी घुसपैठ र चलखेल हुनसक्ने आशङ्का व्यक्त गर्दै पटक–पटक शासन सत्तामा पुगेका शासक दलहरूको अदूरदर्शी सोचकै कारण देशमा अकल्पनीय घटना हो भन्नुभयो ।
युवाहरूलाई विदेशमा होइन आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने भावनाबाट उत्प्रेरित गर्नुपर्ने बताउँदै दक्ष जनशक्ति विदेशिएपछि देशको विकास अझ पछि पर्दै जाने हुँदा देशलाई आत्मनिर्भरतातर्फको बाटोमा लानुपर्ने बताउनुभयो ।
Leave a Reply