भर्खरै :

आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम

आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम

भक्तपुर, २४ कार्तिक । आदर्श आजाद माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र एसएलसी परीक्षा कक्षा १२ उतीर्ण विद्यार्र्थीहरूको बिदाइ तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ नगरपालिकाले कला र संस्कृतिको संरक्षण गर्दै संस्कारयुक्त समाज निर्माण गर्न विभिन्न कामहरू गर्दै आएको बताउनुभयो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले शिशु स्याहार केन्द्रदेखि विभिन्न कलेजहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
शैक्षिक ऋणको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, बहु–प्राविधिक तालिम, विभिन्न भाषाको तालिम सञ्चालनजस्ता गतिविधिहरू गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “शिक्षित युवाहरू संस्कारयुक्त हुनुपर्दछ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् सभापति योगेन्द्रमान बिजुक्छेँले सबै विद्यार्थीले पढाइको साथसाथै सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षमा भइरहेको घटनाक्रमहरूको जानकारी राख्नुपर्ने, आफ्नो मात्र नभई समाज, बस्ती, टोल र देशको जिम्मेवारी वहन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कक्षा कोठामा शिक्षकसँग समन्वय गरी धेरै कुराहरू सिक्नुपर्ने उल्लेख गर्दै अङ्ग्रेजी र नेपाली भाषामा दखल भएमा अरु विषयहरू बुझ्न सजिलो हुने बताउनुभयो ।
उहाँले सबैले कुनै न कुनै विषयमा विशिष्टता हासिल गर्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र चवालले उच्च शिक्षा जीवन यात्राको महत्वपूर्ण आधार भएकोले कक्षा ११÷१२ देखि नै मेहनतका साथ अध्ययन गर्नुपर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “आफूलाई दुःख पर्दा साथ दिने साथीहरू बनाउन सकियो भने अध्ययनको महत्व झन् बढ्छ । सबै कुरालाई सकारात्मकरूपमा लिन सकियो भने कठिन समयमा पनि सफलता प्राप्त गर्न सकिन्छ ।”
विद्यालयका प्र.अ. चक्रबहादुर चाकतु र सहायक प्र.अ.सुभद्रा दुवालले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक गीतहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *