भर्खरै :

विद्यालयस्तरीय गायन प्रतियोगिता सम्पन्न

विद्यालयस्तरीय गायन प्रतियोगिता सम्पन्न

भक्तपुर, २६ कार्तिक । जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय गायन प्रतियोगिता भक्तपुरको नासमनाको डबलीमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न २० वटा विद्यालयका ३३ जना विद्यार्थीले राष्ट्रिय भावनाले ओतप्रोत गीत गाए ।
वरिष्ठ गायक तथा सङ्गीतकर्मी रवि हाडाको आतिथ्यमा भएको उक्त कार्यक्रममा भक्तपुर वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले विदेशी संस्कृतिले हाम्रो समाजलाई गाँजेको र यसले हाम्रो समुदायमा मन्द विषको कार्य गरेकोतर्फ हामी सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले देशकै माटोमा रमाउने गरी हरेक पक्षबाट जनता सचेत र सुसज्जित हुन आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका सङ्गीत शिक्षक पुरुषोत्तम सुवालले गायन प्रतियोगिताका नियमहरूका बारेमा सहभागी विद्यार्थीहरूलाई प्रकाश पार्नुभयो । उक्त प्रतियोगितामा विद्यालयका अभिभावक श्रीजल मधिकर्मी, संजय कोजू तथा शिक्षक सुरज कपाली, गौतम श्रेष्ठ एवम् विद्यार्थी आयुषा केसीले चिनियाँ गीतमा र विद्यार्थीहरूले सामूहिक गीत गाउनुभयो ।
विद्यालयका निमित्त प्रिन्सिपल राजन धौभडेलले गीत सङ्गीत पनि शिक्षाको एक अभिन्न अङ्गको रूपमा रहेको र विद्यालयले वर्तमान समयमा मौलिक तथा राष्ट्रिय भावनाले ओतप्रोत हाम्रो सांस्कृतिक पहिचानयुक्त गीतप्रति नयाँ पुस्तालाई सचेत तुल्याउने उद्देश्यले राष्ट्रिय भावनाका गीतहरूलाई प्रतियोगितको विषयवस्तु बनाएको बताउनुभयो ।
निर्णायकमण्डलमा सङ्गीतकर्मी राजेश हाडा, गायक सत्यनारायण मानन्धर एवम् लोकगायक तथा सञ्चारकर्मी विनोद विक रहनुभएको थियो । उहाँहरूले सो अवसरमा आफ्नै रचना र सङ्गीतमा गायन प्रतियोगिता गर्न विद्यालयस्तरबाटै प्रयास गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा गायकहरू सत्यनारायण मानन्धर र विनोद विकले गीतसँगै मनोरञ्जन र राष्ट्रियताका बारेमा सन्देश पनि दिनुभएको थियो ।
प्रतियोगितामा प्रभात इङ्गलिश स्कूल महाकाली स्थान ब्यासीका टेरेसा विश्वकर्मा प्रथम, बाल विकास स्कूलका तिमिला ग्वाछा दोस्रो, शारदा मा.वि. र इडेन गार्डेन स्कूलका दुई सहभागी दीपिका वि.क. र श्रीजय महतले तेस्रो स्थान तथा मोर्डन स्कूलका समियोग बस्नेतले चौथो स्थान हासिल गर्न सफल भएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य विश्वबहादुर दुवालले विद्यालयले सधैँ सामाजिक मूल्यमान्यता र सही संस्कारयुक्त शिक्षालाई उच्च प्राथमिकता राखेको बताउँदै उपस्थित सबैलाई धन्यवाद दिनुभयो । शिक्षिका पूजा मिश्र र अचला के.सी. ले कार्यक्रमको आवश्यकताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *