भर्खरै :

गुप्तचर र घुसपैठदेखि सावधान हुन जरुरी

गुप्तचर र घुसपैठदेखि सावधान हुन जरुरी

हरेक राजनीतिक दलको सरकारले देशको रक्षा गर्नुपर्छ; रक्षा गर्न पूर्वाधारहरू तयार गर्नुपर्छ । देशभक्त जनता देशको रक्षा गर्न अघि सर्छन्; अघि बढ्न र बढाउन सत्तासीन दलका नेताहरूले वातावरण तयार गर्नुपर्छ । सरकार या राजनीतिक दलले आफ्नो दल ठुलो, शक्तिशाली छ भनेर अरु सानो या कमजोर पक्षलाई हेलाहोचो गर्नु हुँदैन; अपमान गर्नुहुँदैन । अरु थोरै छन् भनी बेवास्ता गरे उनीहरू पनि कुनै दिन जाग्न सक्छन्; आन्दोलनमा उत्रन सक्छन् भन्ने कुरा भुल्नु हुँदैन । केपी ओलीको नेतृत्वमा बनेको सरकारले जेन–जीको माग र आन्दोलनलाई बेवास्ता गरेकै हो; दमन गरेरै आन्दोलन रोक्ने प्रयास गरेकै हो । सरकारको यो अहङ्कारको कारण एमालेको नेतृत्वमा बनेको सरकार ढल्यो ।
आन्दोलनको समयमा आन्दोलनभित्र या राजनीतिक दलभित्र पनि शत्रुहरू घुसेका हुन्छन्; गुप्तचरहरू छिरेका हुन्छन् । उनीहरूको काम आन्दोलन बिथोल्नु हो; आन्दोलन बिथोल्न अनेक षड्यन्त्र तथा उपद्रवहरू गर्नु हो । सरकार या अरु कुनै राजनीतिक दल या समूहहरू त्यसतर्फ संवेदनशील भएनन्, चनाखो भएनन् भने आन्दोलनले अर्को रूप लिन्छ । यसकारण, जोकोहीले गुप्तचर या उच्छृङखल तत्वहरूलाई उदाङ्ग्याउनुपर्छ; उदाङ्ग्याएर सचेत पार्न सकिएन भने आन्दोलन बलिदानमा टुङ्गिन्छ । हरेकले वर्ग शत्रुलाई चिन्नुपर्छ† चिनेर उदाङ्ग्याउनुपर्छ । दलले वर्ग शत्रु र वर्ग मित्र नचिन्नाले पनि आन्दोलन असफल हुन्छ । वर्ग शत्रु र वर्ग मित्र चिन्न नसक्नु राजनीतिक दल या सत्तासीन दलका नेताहरूको कमजोरी हो । सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ भन्नुको अर्थ वर्गशत्रुविरुद्ध सचेत गराउनु पनि हो । अतःहामीले राजनीतिक चेतनास्तर उठाउने काम निरन्तर गरिरहनुपर्छ ।
देशको स्वाधीनता र सार्वभौम रक्षाको लागि देशभक्त जनता पछि हट्नु हुँदैन । देशमा सामन्त, प्रतिक्रियावादी र पुँजीवादीहरू छउञ्जेल देशी विदेशी शत्रुहरूले कम्युनिस्ट पार्टी या कम्युनिस्ट सरकारविरुद्ध गुप्तचर, विखण्डनवादी, विध्वंसकारी तथा आतङ्कवादीहरू घुसपैठ भइरहेका हुन्छन्, गुप्तचर खेलाइरहेका हुन्छन्; पैसा बाँडेर भड्काइरहेका हुन्छन् । यो समस्याबारे थाहा नभएका या सचेत नभएका कार्यकर्तालाई पनि सुसूचित पार्नुपर्ने हुन्छ । आफूले जतिसुकै उपलब्धि हासिल गरे पनि शत्रुले योजनालाई असफल पार्ने काम गरिरहेको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । सोभियत रुसमा त्रोत्स्कीवादीहरू विदेशी गुप्तचर संस्थासँग मिलेर देशमा विखण्डकारी गतिविधिमा लागेका थिए । सफलताको पछाडि पनि सम्भावित खतरा लुकेर रहेको हुन्छ । आफ्नो काममा सफलता पाएपछि कति नेता तथा कार्यकर्ताहरू खुसीमा उत्सव मनाउँछन् । त्यसबेला शत्रुको गतिविधि बढ्नेतर्फ सोच्नु आवश्यक छ ।
सोभियत सङ्घमा संसारका कामदार जनतामाझ समाजवादबारे बुझाउने काम भएको थियो । तर, सफलतासँगै यसका केही नकारात्मक पक्ष पनि देखिन थाल्यो । अतः सफलता पछाडि लुकेका खतरासूचक गतिविधिबारे हाम्रो ध्यान जानुपर्छ । राजनीतिक दलभित्रै घुसेर उनीहरू समाजवाद र नेताहरूको प्रंशसा गर्दै आफूलाई बफादार बनाउने कोसिस गर्छन् । आखिरमा तिनीहरू पार्टीलाई धोका दिन्छन् या कुनै बहाना गरेर पार्टी छोड्छन् । संसारमा पुँजीवादी व्यवस्था रहुञ्जेल कम्युनिस्ट पार्टीविरुद्ध जासुसी गर्नेहरू, विध्वंस मच्चाउनेहरू तथा समाजवादविरुद्ध हल्ला फैल्लाउनेहरू क्रियाशील भइरहनेतर्फ हामी सचेत हुनैपर्छ । पुँजीवादी र साम्राज्यवादी देशहरू कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीलाई नउठाउन, कम्युनिस्टहरूको सरकारको विकासमा बाधा हाल्न, देशमा आन्तरिक द्वन्द्व चर्काउन विध्वंस र आतङ्कका खेलहरू खेलिरहन्छन् । यसकारण, दलका नेताहरूले अझ बढी चनाखो र सतर्क भएर निर्देशनहरू दिइरहनुपर्ने हुन्छ । शत्रुको आन्तरिक र बाह्य क्रियाकलापबारे पनि चिन्तनमनन गरिरहनुपर्ने हुन्छ । सत्तासीन दल या अन्य दलभित्रै अवसरवादी तत्वहरू घुसेका हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
शत्रुको क्रियाकलापप्रति उच्च सतर्कता अपनाउन सकिएन, शत्रुलाई चिन्न र तिनका विरुद्ध सङ्घर्ष गर्न उत्साहित गरिएन भने शत्रुले अझ पेल्छ† दललाई कमजोर बनाउने या भड्काउने खेल खेल्छ । रुसमा लेनिनले आफ्नो गुप्तचर संस्थाभित्र पनि विदेशी गुप्तचर र विखण्डनवादीहरू पसेको जानकारी दिएका थिए । विदेशी गुप्तचर र त्रोत्स्कीवादीहरू पार्टीको तल्लो संरचनामा मात्र नभई सरकार र पार्टीको माथिल्लो तहसम्म प्रवेश गरी क्षति पु¥याउन अनेक प्रयास भएको थियो । देश विदेशमा भएका यस्ता घटनाहरूबाट सरकार या अन्य राजनीतिक दलहरूले सचेत पार्नुपर्छ† शिक्षा लिनुपर्छ । सरकार सचेत नहुनाको परिणाम देशमा जेन–जी आन्दोलन भयो । सरकार असफल भयो । देशको सम्पत्ति खरानीमा परिणत भयो । के यसमा सरकारको कमजोरी छैन भन्न मिल्छ ? आन्दोलनकारी र विदेशी घुसपैठलाई मात्र दोषी देखेर के सरकारले आफ्नो कमजोरी छोप्न मिल्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *