भर्खरै :

स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन जरुरी

स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन जरुरी

काठमाडौँ २७, कार्तिक । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम सम्बन्धमा विभिन्न राजनीतिक दलसँग बिहीबार छलफल कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “सरकारमा गएका अधिकांश दलहरू प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आदि दाबी गर्दै छन् । सरकारमा गएर राष्ट्रिय सम्पत्ति केही व्यक्तिको नाममा बिक्री गर्नेहरू पुँजीवादी प्रजातन्त्रवादी हुन् भने निजीकरणलाई अस्वीकार गर्नेहरू समाजवादी प्रजातन्त्रवादी हुन् । यो विषयतर्फ निर्वाचन आयोग पनि स्पष्ट हुनु आवश्यक छ ।”
“स्वच्छ निर्वाचनको लागि निर्वाचनमा सामान र पैसा बाँड्ने झूटा आश्वासन दिनेहरूको उम्मेदवारी खारेज हुने, भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने र ठुल्ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायसमेत हुने कानुनी व्यवस्था जरूरी छ” उहाँले थप्नुभयो ।
उहाँले राजनीतिक दलहरू सिद्धान्तनिष्ठ हुनुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचनमा सिद्धान्तहीन मोर्चा र सरकारमा सिद्धान्तहीन गठबन्धन गर्न नमिल्ने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशमा बसेकालाई मतदानको अलग व्यवस्था गर्न नपर्ने गरी देशभित्र रोजगारीको व्यवस्था गर्ने तथा देशमै निर्वाचन क्षेत्रबाहिर बस्नेहरूलाई मतदानको अलग व्यवस्था नपर्ने गर्न देशको सन्तुलित विकास गर्नु आवश्यक छ । उम्मेदवारहरू निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्र छाडेर सहर बसाइँसराइ गर्न नपाउने गर्नु जरूरी छ । निर्वाचनमा प्राप्त मतको आधारमा राजनीतिक दलहरूलाई राज्यकोष उपलब्ध गराउने पनि ‘चोरलाई चौतारो’ जस्तो भ्रष्टाचार नै हुने हुँदा यस्तो व्यवस्था गर्नु उपयुक्त हुँदैन ।”
“निर्वाचन आयोगले सरकारमा गएका दलहरूको सुझावलाई बढी महत्व दिने र अन्य दललाई बेवास्ता र पक्षपात गर्नु अनुचित हो । निर्वाचनमा खटिने कतिपय कर्मचारी निष्पक्ष नहुने, मतगणनामा मतपत्रसमेत लुकाएर शासक दलका उम्मेदवारको जीत घोषणा गराउनेहरू पनि भएको जनगुनासो छ । यसतर्फ आयोग सचेत हुनुपर्दछ । जनताको गुनासोलाई सरकारले समयमै सम्बोधन नगरेको हुँदा भदौ २३ र २४ गतेको सङ्कट उत्पन्न भएकोतर्फ आयोग पनि सचेत हुनु जरूरी छ ।” उहाँले उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसका पुष्पा भुसाल गौतमले नेपाली काङ्ग्रेस निर्वाचनको लागि तत्पर रहेको तर सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका लीलामणी पोखरेलले फागुन २१ गते निर्वाचन गर्नैपर्ने बताउनुभयो ।
राप्रपाका प्रतिनिधिले शासकीय स्वरूपको बारेमा स्पष्ट भएर मात्र निर्वाचनमा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनता समाजवादीका प्रतिनिधिले छलफलमा एमाले उपस्थित नभएकोबारे जिज्ञासा राख्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिले निर्वाचनको मामिलामा नेपाल सरकार गम्भीर नभएको उल्लेख गर्नुभयो ।
नेपाल सङ्घीय समाजवादी पार्टीका प्रतिनिधिले विदेशमा बसेका नेपालीहरूलाई मतदान गराउन सहज नहुने बताउनुभयो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोगका सचिवले स्वागत गर्नुभएको थियो । कार्यक्रममा आयुक्त यज्ञप्रसाद भट्टराईले निर्वाचन कार्यक्रमबारे प्रस्तुति गर्नुभएको थियो । निर्वाचन आयोगले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *