भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ९

जारशाही संसद्मा बोल्शेभिक सांसद – ९

एकाएक एउटा सम्मेलन डाकियो । यसमा बोल्शेभिक र मेन्शेभिक दुवैथरी सांसद उपस्थित थिए । मेन्शेभिक सांसदहरू भर्खरै सेन्ट पिटर्सबर्गमा आइपुगेका थिए । सम्मेलनमा सेन्ट पिटर्सबर्ग पार्टी समिति र मेन्शेभिक समितिका प्रतिनिधिहरूका साथै ‘प्राभ्दा’ र ‘लुच’ पत्रिकाका सम्पादकीय टोली पनि उपस्थित थिए । मेन्शेभिकहरू हडताल र जुलुस प्रदर्शनको विरोधमा थिए । उनीहरू त्यसलाई शक्ति खेर फालेको भने । उनीहरूले प्रस्तावित गतिविधिहरूलाई ठाउँमा ल्याउनुपर्ने बताए । हडतालहरूको बढ्दो रफ्तार र मजदुरवर्गको जुझारूपनाको प्रदर्शनलाई मेन्शेभिक विध्वंशकारीहरूले ‘हडताल ज्वरो’, ‘हुलदङ्गा भड्काउने’ आदि भने । प्रस्तावित हडतालप्रतिको यो रवैयालाई हामी बोल्शेभिकहरूले आपत्तिजनक भन्यौँ । हडताल अव्यवस्थित पाराले आयोजना गरिएको थियो र पर्याप्त तयारी गरिएको थिएन । तैपनि, हडतालको आह्वानले मात्र पनि मजदुरहरूको सहानुभूति पाएको थियो । त्यसकारण, आयोजकहरूको गतिविधिलाई गलत भन्न नमिल्ने हामीले बतायौँ ।
मेन्शेभिकहरूको बहुमत हुनाले सामाजिक जनवादी समूहको नाममा एउटा वक्तव्य जारी गरियो । समूहलाई प्राप्त सूचनाअनुसार कलकारखानाहरूमा बाँडिएको पर्चा ‘सेन्ट पिटर्सबर्गका कुनै पनि आधिकारिक सामाजिक जनवादी समूहले जारी नगरेको’ वक्तव्यमा लेखियो ।
मेन्शेभिकहरूले यो वक्तव्यले मात्र आश्वस्त भएनन् । उनीहरूले हडतालको खण्डन गर्दै आफ्नो मुखपत्र ‘लुच’ मा अभियान नै चलाए । ‘हडतालको आह्वान गर्नु मजदुरहरूको उत्साहलाई दुरुपयोग गर्ने अज्ञात व्यक्तिहरूको प्रयास’ हो भनी निन्दनीय आरोप लगाउन भ्याए । उनीहरूले ‘आन्दोलन उठाउनु पछाडिको पृष्ठभूमि शङ्कास्पद हुनसक्ने’ लेखे । उनीहरूले हडताललाई रोक्न वा दुरुत्साहित गर्न सक्दैनथे । त्यसकारण, उनीहरूले आन्दोलनको विकासलाई कुँज्याउन खोजे र एक हदसम्म उनीहरू सफल पनि भए ।
मेन्शेभिकहरूको व्यवहारले हडताल आयोजना गर्ने समूह रुष्ट भयो । ती हडतालीहरूले जोडदार विरोध जनाए । यसले सोही समूहको बोल्शेभिक खेमालाई अप्ठ्यारो स्थितिमा पा¥यो । हडताल अव्यवस्थित थियो । त्यसको आकस्मिक र गलत तयारीले गर्दा बोल्शेभिक सांसदहरूले तिनको विषयमा आफ्नो धारणा प्रस्ट पार्नुपर्ने भयो । मेन्शेभिक विध्वंसकारीहरूले चलाखीपूर्वक यो स्थितिबाट फाइदा उठाए र हडतालविरुद्ध अभियान चलाए । समग्र घटनाको विषयमा एउटा अडानमा पुग्नुपर्ने आवश्यकता देखियो । यसबारे सुरुमा सेन्ट पिटर्सबर्ग समितिमा छलफल भयो । त्यो समितिले सामाजिक जनवादी समूहका लागि एउटा रिपोर्ट तयार पा¥यो । समितिले हडतालको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पनि राखेर समग्र घटनाको छानबिन गर्ने गरी एउटा जाँचबुझ समिति बनाउनमा जोड दियो । यसका लागि (सामाजिक जनवादी) समूहले एउटा आयोग बनायो । त्यसमा मेन्शेभिकहरूको तर्फबाट स्कोबेलेभ थिए भने बोल्शेभिकहरूको तर्फबाट म थिएँ । त्यही दिन मध्य रातमा एउटा छापखाना परिसरमा सेन्ट पिटर्सबर्ग समितिका सदस्यहरूको उपस्थितिमा हामी हडताली समूहका प्रतिनिधिहरूसँग बैठक बस्यौँ । हडताल घोषणा गर्नु र पर्चा प्रकाशन गर्नुका पछाडिको सम्पूर्ण पृष्ठभूमिबारे छानबिन भयो । (छलफलबाट थाहा भयो, हडतालका धेरैजसो आयोजकहरू बोल्शेभिक रहेछन् ।) यो वार्ताका निष्कर्षहरू हामीले सामाजिक जनवादी समूहको बैठकमा रिपोर्ट ग¥यौँ । अन्त्यमा समस्या सल्टियो । मेन्शेभिकहरूले आफ्नो कार्यदिशा गलत रहेको कबुल गर्नुप¥यो ।
गुप्त प्रहरीको अनुमानअनुसार सेन्ट पिटर्सबर्गका ३० हजार मजदुरले नोभेम्बर १५ को एकदिने हडतालमा भाग लिएका थिए । गुप्त प्रहरीले प्रहरी निर्देशनालयका हाकिमलाई बुझाएको प्रतिवेदनमा त्यो दिन सेन्ट पिटर्सबर्गका सडकहरूमा भएको घटनाको बयान यसरी गरिएको छ :
“बिहान ११ बजेदेखि नै तुराइद दरबारको छेउछाउका सडक पेटीहरूमा मजदुरका ससाना समूहहरूको हलचल देखिएको थियो । दिउँसो ३ बजे तिनै स्थानमा विश्वविद्यालयका विद्यार्थी र बुद्धिजीवीहरू देखिए । लामो समयसम्म भीड तुराइद बगानवरिपरि हिँडिरह्यो । तर, प्रहरीले तिनलाई जम्मा हुनबाट रोक्यो । तिनीहरू बिस्तारै तितरबितर भए ।
“दिउँसो साढे ३ बजे यी मजदुर र विद्यार्थीहरूको एउटा भीड किरोच्नाया सडकमा देखाप¥यो । क्रान्तिकारी गीत गाउँदै ‘निरङ्कुशतन्त्र मुर्दावाद’ लेखिएको रुमाल जत्रो एउटा रातो झन्डा बोकेर तिनीहरू लितेइनी पथबाट नेभ्स्की सडकतर्फ लागे । लितेइनी पथ, बास्सेनाया र सिमियोनोभ्स्काया सडकका मोडहरूमा जनपद प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पारे । सडक पेटीमा जम्मा भएको भीडबाट तिनको झन्डा खोसे र झन्डा बोक्ने व्यक्तिलाई पक्राउ गरे ।
“दिउँसो ३ बजे तुराइद दरबारबाट छिन्नभिन्न भएका १०० जनाजति मानिसको भीड किरोच्नाया सडकको एउटा पुछारबाट अघि बढ्यो । तिनीहरूले कुनै प्रदर्शन गरेनन् । उनीहरू सुरोरोभ सडकबाट नेभ्स्की सडकतर्फ लागे । छैटौँ रोज्देसत्वेन्स्काया सडक मोडिने स्थानमा तिनीहरूलाई प्रहरीले तितरबितर पारे ।
“फेरि ३ बजे नै ज्नामेन्स्कायानजिकै लिगोभ्स्काया सडकमा मजदुरहरूको ससानो भीड लाग्यो । त्यहाँबाट तिनीहरू सडकको दायाँ किनार हुँदै ओब्भोद्नी नहरतर्फ लाग्यो । तर, यो भीडलाई प्रहरीले तोडिहाल्यो । भीडबाट झन्डै १५ देखि २० जनाको बचेको समूह ब्लिगकेन र रबिन्सन मिठाइ कारखानासम्म आइपुग्यो । यो कारखाना लिगोभ्स्काया सडकको ५२ औँ गल्लीमा पर्छ । त्यो समूह कारखानाको गेटमा पुग्यो । गेटमा एकजना पाले थियो । उसलाई ठेल्दै समूह कारखानाको हाताभित्र घुस्यो । उनीहरू त्यो कारखानाका मजदुरहरूलाई काम छोडाउन चाहन्थे । तर, समयमै प्रहरी गस्ती आइपुग्यो र तिनको मनसुबा पूरा हुन दिएन । अन्योलको फाइदा उठाएर केही प्रदर्शनकारीहरू पर्खाल चढेर निकोलाएभ्स्काया रेलवेको रेलमार्गमा लुक्न सफल भए । तर, सात जना पक्राउ परे । तिनीहरूलाई प्रहरी नियमअनुसार मुद्दा चलाइनेछ ।”
गुप्त प्रहरीलाई सबै जानकारी नभएको होइन । तर, तिनले प्रतिवेदनमा घटनालाई धुमिल पारे । उदाहरणको लागि, एउटा भीडलाई प्रहरीले नाङ्गो तरबार देखाएर तितरबितर पारेको थियो । मजदुरहरू आफूखुसी ब्लिगकेन र रबिन्सन कारखानाभित्र घुसेका थिएनन् । प्रहरीले फलामका रड र खाँबाले बर्बरतापूर्वक हानेपछि उनीहरू भाग्दै त्यहाँ पुगेका थिए । त्यस्तै, प्रहरी प्रतिवेदनमा प्रदर्शनकारीहरूसँग भएका अन्य मुठभेडको विवरण छैन ।
प्रदर्शनको क्रममा धेरै मानिस पक्राउ परे । आयोजकमध्ये ट्रेड युनियनका कतिपय व्यक्तिलाई पक्राउ गरियो । संसद् सुरु हुनुभन्दा केही अघिसम्म पनि खानतलासी र धरपकड चलिरह्यो । प्रहरीहरू मेन्शेभिकहरूलाई भन्दा पनि बोल्शेभिकहरूलाई पक्राउ गर्न लालायित देखिए । यसरी नै छापा मार्ने क्रममा कामरेड बातुरिन (एन ज्मायातिन) पक्राउ गरे । प्रहरीले कामरेड मोलोतोभको खोजतलास सुरु ग¥यो । तर, उहाँ भाग्न सफल हुनुभयो ।
यसरी, चौथो संसद् जारशाही शासनको मानक वातावरणमा सुरु भयो । मजदुरहरूले आफ्ना सांसदहरूलाई स्वागत गर्न आए । तर, प्रहरीले ती मजदुरलाई चल्तीको खानतलासी, धरपकड र कुटपिटले सत्कार ग¥यो ।
सेन्ट पिटर्सबर्गका सडकमा प्रहरीले मजदुरहरूलाई ‘व्यवहारमै’ रुसी संविधान पढाइरहँदा तुराइद दरबारका पर्खालहरूभित्र संसद्को गम्भीर र औपचारिक उद्घाटन भयो । अनेक बन्दनाका स्तोत्र गाएपछि पाको उमेरका जारशाही विदेशमन्त्री गोलुबेभले ‘राजाको परमादेश’ वाचन गरे । त्यसपछि जनप्रतिनिधिहरूले करतल ध्वनिले त्यसलाई स्वागत गरे । संसद्मा सबैलाई बोल्ने अधिकार भए पनि गोलुबेभले विपक्षी सांसदहरूलाई शान्त रहन र संसदीय कामकारबाहीमा बाधा नदिन भने । सामाजिक जनवादी र त्रुदोभिकहरूले सभापतिको निर्वाचनमा भाग लिएनन् । उनीहरू त्यसको कारण खुलाउन चाहन्थे । तर, गोलुबेभले उनीहरूलाई बोल्न दिएनन् । यसरी संसद्को पहिलो बैठक नवनिर्वाचित अध्यक्ष एमके रोद्जान्कोका मन्तव्यसँगै समापन भयो । रोद्जान्कोले बुलन्द आवाजमा शपथ लिए, “यो संसद् दृढ र अटल भावले राजमुकुटप्रति समर्पित छ ।” यसरी, चौथो राज्य ड्युमाको काम सुरु भयो ।
संसद्मा ४४२ सांसद थिए । उनीहरू विभिन्न दलमा विभाजित थिए । ६५ जना दक्षिणपन्थी, १२० जना राष्ट्रवादी र उदार दक्षिणपन्थी, ९८ जना अक्टोबरवादी, ४८ जना प्रगतिशील, ५९ जना क्याडेट, २१ जना राष्ट्रिय/जातीय समूह (पोल, गोरा रुसी, मुस्लिम), १० जना त्रुदोभिक, १४ जना सामाजिक जनवादी र ७ जना स्वतन्त्र सांसद थिए । जून ३ को निर्वाचन ऐनले कोरेको निर्वाचन प्रणालीले निश्चय नै जमिनदार र खानदानीवर्गलाई बहुमत दिलाएको थियो । तिनीहरू मजदुरवर्ग र किसानका खरा शत्रु थिए । विभिन्न दल र समूहमा बाँडिए पनि यो कालासय संसद् वास्तवमा जारशाहीको भरपर्दो सुरक्षा कवच थियो । पुरिशकेविच, मार्कोभ र अन्य ‘भक्त’ हरूले विद्यमान शासनसत्ताप्रति खुलेरै आफ्नो भक्तिभाव दर्शाउँथे भने अक्टोबरवादी मिल्युकोभले त्यही भक्तिलाई उदार शब्दावली प्रयोग गरी छोप्थे । त्यसकारण, अक्टोबरवादी र क्याडेटहरूको विपक्षी समूह एउटा छल मात्र थियो । जारशाही मन्त्रीहरूले हप्कायो कि उनीहरूले तुरुन्तै आफ्ना भव्य शब्दावली बिर्सन्थे र आफ्नो क्रान्तिविरोधी चरित्र देखाइहाल्थे ।
रोद्जान्कोलाई संसद्को अध्यक्ष निर्वाचित गर्ने बेला क्याडेटहरूले एक अक्टोबरवादीलाई मत दिएर आफ्नो सक्कली अनुहार देखाइहाले । सम्राटको दरबारमा उभिएका रोद्जान्को घरानिया परिवारका थिए । उनी एकातेरिनोस्लाभ गुबेर्नियाका ठुला जमिनदार थिए । उनको आवाज बुलन्द थियो । कद अग्लो थियो भने व्यक्तित्व प्रभावशाली थियो । संसद्का नयाँ अध्यक्षका अन्य खुबी पनि थिए । राजाका बफादार चाकरको रूपमा उनले नाम कमाएका थिए । अघिअघिका संसद्हरूमा उनले आफ्नो बफादारी प्रमाणित गरिसकेका थिए । उनले वामपन्थी सांसदहरूलाई गजबले ठाउँमा राखेका थिए । तिनीहरूलाई थचार्ने र दुत्कार्ने कुनै मौका छोड्दैनथे उनी ।
क्याडेटहरू रोद्जान्कोको समर्थनमा उभिए । साथै, उनीहरूले त्रुदोभिक र हाम्रो सामाजिक जनवादी समूहलाई पनि अध्यक्षको निर्वाचनमा भाग लिन मनाउन खोजे । त्रुदोभिकहरू सुरुमा धर्मराए । तिनका नेता दिज्युबिन्स्कीले यस विषयमा सम्झौताको प्रयास पनि थाले । अन्त्यमा तिनीहरूले भुइँ टेके र निम्न मध्यम वर्गको साँचो प्रतिनिधित्व गरे । उनीहरूले संसद्को अध्यक्षको निर्वाचनमा भाग लिन अस्वीकार गरे ।
–क्रमशः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *