ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २९ कार्तिक । ख्वप भक्तपुर मिनिबस यातायात प्रा. लि.को छैटौँ साधारणसभा शनिबार एक समारोहबिच सम्पन्न भयो ।
साधारणसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलित गरी गर्नुभयो ।
उद्घाटन सत्रको कार्यक्रममा सचिव सुवालले ख्वप मिनिबस यातायात प्रा.लि. ले नेपाली जनताको सेवा गरिरहेकोमा थप योगदान गर्न शुभकामना दिनुभयो ।
उहाँले भन्नुभयो, “स्रोत साधन केही व्यक्तिको हातमा भएको हुँदा बाँकी जनतालाई दुःख भएको हो† मानिसले दैनिक गुजाराको कामबाहेक अरुको कल्याण हुने विद्यालय, कलेज, पुस्तकालय आदि स्थापना र सञ्चालन गर्ने परोपकारी काममा पनि लाग्नु जरुरी हुन्छ ।”
उहाँले देश र जनतालाई २७ खर्ब ऋण बोकाउने र करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, फलफूल, तरकारीसमेत भारतसँग किन्नुपर्ने अवस्था नपु¥याउनेहरूलाई जिम्मेवार बनाउन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास नगरिएमा विध्वंसका घटनाहरू दोहोरिने खतरा हुन्छ । शासक दलहरूले सम्भावित विध्वंस रोक्न राज्य संयन्त्र सँगसँगै आफ्ना पार्टीका कार्यकर्ताहरूलाई समेत परिचालन गर्न नसक्नु असफलताको सङ्केत हो ।”
सचिव सुवालले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठुलठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था जरुरी रहेको बताउँदै २०४६ साल अघिसम्म त्यस्तो व्यवस्था भएकोमा सरकारमा गएकाहरूले पछि हटाएको गलत साबित भएको बताउनुभयो ।
उहाँले नेपाली जनतालाई सुसंस्कृतसँगैसँगै देश र जनताको निःस्वार्थ रूपले सेवा गर्ने राजनीतिमा ल्याउनु जरुरी छ† नेमकिपा यही बाटोमा अघि बढिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “पैसा र सामान बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने उम्मेदवारहरूलाई भोट दिनुहुँदैन । निर्वाचन घोषणापत्रअनुसार सरकारमा गएर काम नगर्नेहरूलाई चुनावमा उम्मेदवारी हुन नदिने कानुनी व्यवस्था जरुरी छ ।”
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूको एकताले मात्र सबै समस्या समाधान गर्न र यात्रुहरूलाई प्रभावकारी सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै महासङ्घ व्यवसायीको समस्या समाधानका लागि अहोरात्र लागिरहेको बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सर्वोच्च अदालतले यातयात व्यवसाय कम्पनी ऐनअनुसार सञ्चालन गर्न आवश्यक नरहेको र सङ्घसंस्था ऐन २०३४ अनुसार नै सङ्गठित हुनसक्ने भनी २०८० भदौ २० गते फैसला गरिसकेको हुनाले यातायात व्यवसायीहरू सङ्घ र समिति बनाएर अघि बढ्न सक्ने बताउनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य तथा ख्वप भक्तपुर मिनिबस यातायात प्रा. लि.का सल्लाहकार नविन प्रजापतिले यातयात क्षेत्रको दुर्घटनाको उपचार खर्च व्यवसायीलाई टिराउने व्यवस्थाभन्दा डिजेलमै केही अतिरिक्त शुल्क लिएर सरकारले उपचार खर्च ब्यहोर्ने बीमाको बन्दोबस्त हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कोटेश्वर पूर्वयातायात व्यवसायी सङ्घका अध्यक्ष बलराम त्वानाबासुले यातायात व्यवसायीहरू दुर्घटनाबीमाको प्रिमियम रकम बढाएर तिर्न तयार रहेको तर दुर्घटनाको निहुँमा यातायातका साधन जलाउने र मनोमानी रकम तिराउने प्रचलन अन्त हुनुपर्छ भन्नुभयो ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रा. लि. का अध्यक्ष ज्ञानेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ भक्तपुर जिल्लाका अध्यक्ष एवं प्रालिका सल्लाहकार रामकाजी भुजु, निवर्तमान अध्यक्ष गणेश लोहला, कानुनी सल्लाहकार किरण न्यौपाने, प्रबन्धक दिनेश प्रधानलगायतले बोल्नुभएको थियो ।
Leave a Reply