भर्खरै :

के यी विषय सत्य हुन् ?

के यी विषय सत्य हुन् ?

काठमाडौँ, ३० कार्तिक । शासक दलहरूले आफ्नो कार्यक्रममा सहभागी हुनेहरूलाई पेट्रोल र खानाको कुपन बाँडेको सामाजिक सञ्जालमा सार्वजनिक भयो । यसबारे सम्बन्धित पार्टीले स्पष्टीकरण दिनुपर्दैन र ?
पाँच पटक प्रधानमन्त्री भएका शासक नेता आफ्नो स्वास्थ्य उपचारको लागि सिङापुर जानुपर्ने अवस्थाले बहुदल र गणतन्त्रको ३५ वर्षयताका सरकारहरूले देश र जनताको हितमा काम नगरेको होइन र ?
सरकारमा गएका केही पुराना र नयाँ पार्टीहरू टीका लगाउँदै, फाराम भराउँदै सदस्यता वितरण गर्न तँछाडमछाड गरिरहेको के सिद्धान्तहीन राजनीतिको सिलसिला होइन र ?
मधेस प्रदेशमा बिहान सबेरै होटलमा शपथग्रहण गरेका एमालेका मुख्यमन्त्री यादवलाई वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट धम्की आएको सार्वजनिक भएको सत्य हो र ?
रङ्गशाला बनाउन रकम उठाएका एक कलाकार जोडीले एउटा बङ्गला उठाएको र दुई ओटा क्रेटा गाडी खरिद गरेको सार्वजनिक भएको सत्य हो र ?
शासक दलहरूबाट प्रदेशमन्त्री भएकाहरूले आफ्नै घरमा बसोबास गरी सरकारको रकम घर भाडा बुझिरहेको सार्वजनिक भएको के सत्य हो ?
बैतडीमा एक पसलेले दलितको दूध किनेर बेच्दा आफ्नो पसल नै बन्दजस्तो भएको गुनासो गरेबाट देशमा छुवाछुतसहितको सामन्तवाद कायम रहेको पुष्टि गरेन र ?
भारतसँगको खुला सीमाको कारण दार्चुलाको कौवा क्षेत्रको वनमा अवैधरूपमा चोरी सिकारी तथा तस्करीका घटना बढिरहेकोतर्फ वर्तमान सरकारले ध्यान किन दिन नसकेको हो ?
शासक दलहरूलाई आ–आफ्नो अकर्मण्यताको पाठ सिकाउन भदौ २४ गते भएको सार्वजनिक भवनहरू सिंहदरबार, सर्वाेच्च अदालत, संसद् भवन आगजनी यथावत राखी आवश्यक नयाँ भवन बनाउनु उपयुक्त हुने हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *