म भैल खः हुँ
- बैशाख ४, २०८३
तःमुंज्याको दुबै दिन दिउँसोको साहित्य तःमुंज्या एवं रातिका सांस्कृतिक ब्वज्या (कार्यक्रम) हेरेका साथी दीक्षा र विज्ञा शनिबार अपराह्न भक्तपुरको दरबार क्षेत्रमा भेटघाट गर्छन् । दुबैलाई तःमुंज्याले आफूहरूलाई प्रभाव पारेको या राम्रो लागेको अनुभव बताउन खुबै हतार भएको थियो । दीक्षाले विज्ञालाई सोधिहालिन्, “विज्ञा, तिमीलाई तःमुंज्याको कुन कुराले प्रभाव पार्यो ? मलाई त त्यो भियतनामी वीर योद्धा न्गुयेन वान ट्राइ र उनकी प्रेमिका जीवन सङ्गिनी क्युयेनको नाटकले असाध्यै प्रभाव पार्यो ।” मलाई त त्यो नाटक हेरेपछि अमेरिकी सामाज्यवादको विरुद्ध अहिले नै साथीहरूलाई सचेत, सङ्गठित गरौँ र लड्न जाऊँ–जाऊँ जस्तो लाग्यो । न्गुयेन त्यतिका क्रूर यातना दिँदा पनि देशको लागि झुकेन्, बरु उनले जीवनको बलिदान दिए । उनकी प्रेमिका क्युयेनले पनि न्गुयेनलाई साथ दिइन् । उनी पनि झुकेनन् बरु साथ दिइन् । तिमीलाई थाहा छ ? रसियन छोरी जोया कस्मोदियान्स्कायाले देशको रक्षाको लागि गरेको सङ्घर्षले मलाई अझ बढी प्रभाव पार्यो । उनी त छोरी भएर पनि छोराको भेषमा लाखौँको सङ्ख्यामा रहेका हिटलरको फासीवादी सैनिकको घेराभित्र गएर लड्न गइन् । फाँसी दिनुभन्दा अघि उनले तिनीहरूलाई भनिन्, “मलाई हाम्रो मातृभूमि र तपाईँहरूको रक्षाको लागि मर्न पाएकोमा गौरवको अनुभव हुँदै छ ।”
दीक्षाले पनि विज्ञालाई त्यस्तै अनुभव भएको बताइन् । तःमुंज्यामा विद्वान वक्ताहरूको मन्तव्य, नाटक, गीत, नृत्यहरू सबै राम्रा छन् । मलाई त त्यो तःमुंज्याको मञ्च अगाडिको बाटोमा टाँगेको वीर योद्धाहरूको फोटो र भनाइ, प्यालेस्टिन जनताको सङ्घर्षले अझ बढी प्रभाव पार्यो । ती दुबै सानो तर नेपालजस्तो गरिब देशका वीर योद्धाहरू थिए । उनीहरूले संसारको सिंह हुँ भन्ने अमेरिकी साम्राज्यवादलाई धुलो चताएर पठाएका थिए । उत्तर कोरियाका वीर योद्धा किम इल सङले भनेका थिए, “जनताको सेवा गर्नु एक क्रान्तिकारीको निम्ति सबैभन्दा उच्च आदर्श र कर्तव्य हो । आफ्नो सारा जीवन जनताको निम्ति समर्पित हुनुजस्तो यश र गौरवको कुरा अरु हुनसक्दैन ।” त्यस्तै भियतनामी वीर योद्धा हो चि मिन्हले भनेका थिए, “इमानदारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले सङ्घर्ष गर्छ, डरछेरुवाले घुँडा टेक्छ ।”
रुसी छोरी जोयाले त देशको लागि ज्यान दिइन् । अर्को वर्षको तःमुंज्यामा हामी पनि यस्तै नाटकमा खेलेर देशको हितमा सङ्घर्ष र काम गर्नुपर्छ है ¤ अबेला पनि भयो । फेरि घरमा आमाले खाना पकाउन छोडेर कति बेर घुम्न गयो भन्ला भन्दै दुबै घर गइन् ।
Leave a Reply