म भैल खः हुँ
- बैशाख ४, २०८३
सूर्यको प्रकाश दन्किरहेको दिउँसोको बेला
रुखका पातहरू हावाले सिरसिर चलिरहेको बेला
देश र जनताको पक्षमा
न्याय माग्न
आफ्नै माइतीघर मण्डलाबाट
एक हुल
बानेश्वरको बाटोमा बच्चाहरू आएकै हो,
सुख खोज्दै खोज्दै
सत्य रोज्दै रोज्दै
न्याय माग्दै माग्दै
किन्तु, छेकबारले गर्दा
बच्चाहरू चिच्याउँदै चिच्याउँदै कराएको पनि हो
परको परदेशमा होइन
आफ्नै स्वदेशमा…. ।
न्याय दिनुपथ्र्यो त्यहाँ
सुख दिनुपथ्र्याे त्यहाँ
किन्तु,
बाटाहरू बनाइदियो रक्ताम्य
होलि होइन, होलिझैँ राताम्य पारिदियो
ताकी ताकी हानिदियो
हानी हानी ढालिदियो
होइन निष्पट रातमा
होइन अलिकति पनि अँध्यारोमा
अनकन्टार सुनसान जङ्गलमा पनि होइन
कालो बादल लागेको अँध्यारोमा पनि होइन
सूर्यको प्रकाश रुखको सिरसिर हावा चलिरहेकै बेला
चकमन्न उज्यालोकै बेला हो,
सत्य र न्यायको आवाज बोलेर
कम्मर कसेर हिम्मत बोकेर
विद्यालय महाविद्यालयको पोशाकमा
हिँडिरहेकाहरू छेक्दै
उभिरहेकाहरू ढाल्दै
गठबन्धनका नियति बोक्नेहरूले
साँच्चै, बाटो बिराउन थालेको होइन र ?
परको तोक आदेशमा चल्मलाउन लागेको हाइन र ?
परको लोभलालचमा सल्बलाउन थालेको होइन र ?
खोइ त कारबाहीहरू सत्य र न्यायको पक्षमा
खोइ त प्रगतिहरू देश र जनताको पक्षमा
यहाँ त मात्र गधा फेरियो
पुरानो झिकेर नयाँ राखियो
चुनाव र छनाउको कोलाहल मच्चायो
पुनः पुनः न्यायमूर्तिहरू घिन लाग्न थाल्यो
पुनः पुनः सत्यमार्गहरू विघटन हुन थाल्यो
पुनः पुनः आस्थाका धरोहरहरू ढाल्न थाल्यो
पुनः पुनः पुरानै पुज्न थाल्यो
पुनः पुनः पुरानै बोली बोल्न थाल्यो ।
Leave a Reply