ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
विस्फोटमा परेर मरेकाहरूको लास डिसेम्बर २० गते समाधिस्थ गरियो । बिहान ९ बजे हजारौँ मजदुरको मलामी लस्कर लास राखिएको चर्चतर्फ लाग्यो । ओख्ताबाहेक पनि अन्य धेरै उद्योगका मजदुरहरू आएका थिए । उनीहरू लास राखेको शवपेटिकापछि हिँडे । सारा मजदुरले अन्त्येष्टिमा सहभागी हुने निधो गरेपछि नजिकैको एउटा कारखाना त पूरै बन्द भयो । अन्त्येष्टिमा १० हजारभन्दा बढी मानिसले भाग लिए । मलामीहरूको लस्करको अग्रपङ्क्तिमा फूलमाला बोक्नेहरू थिए । एउटा सामाजिक जनवादी समूहको लेखोट पनि थियो । त्यसमा लेखिएको थियो – राजधानीका पीडितहरूप्रति । सेन्ट पिटर्सबर्गमा त्यसबेला उपलब्ध सबै सामाजिक जनवादी सांसदहरू अन्त्येष्टिमा सहभागी थिए ।
पिटर्सबर्गका मजदुरहरूले त्यो अन्त्येष्टिलाई नयाँ–नयाँ पीडितको थुप्रो लगाइरहने पुँजीवादी शासनविरुद्ध विराट प्रदर्शनमा बदलिदिए । प्रत्येक वर्ग सचेत मजदुर एउटा अविरल र कठोर सङ्घर्षको गर्नैपर्ने दृढताले ओतप्रोत भइरहेको थियो ।
‘सम्राटलाई प्रतिवेदन’ बुझाउन युद्ध मन्त्रालयले विस्फोटबारे छानबिन सुरु ग¥यो । यस्ता छानबिनको निष्कर्ष सुरुमै थाहा हुन्थ्यो – यस्तो प्रतिवेदन चलाख कर्मचारीहरूले लेख्थे र दोषजति ‘देवाधिदेव’ माथि लगाइन्थ्यो । सामाजिक जनवादी समूहले पनि आफ्नै तरिकाले छानबिन ग¥यो । ओख्ताका मजदुरहरूसँग सोधपुछ गर्दै र सम्बन्धित जानकारी जम्मा गर्दै हामीले विस्फोटको वास्तविक कारण र घटना हुँदाको अवस्था उजागर गर्न सफल भयौँ ।
घटनाको तत्कालीन कारण असावधानी थियो । एक मजदुरले चार्ज भइसकेको फ्युजलाई जतनसाथ नसमात्दा विस्फोट भएको रहेछ । नियमअनुसार उद्योगमा एकपल्टमा १० वटा भन्दा बढी फ्युज राख्न नपाइने रहेछ । तर, त्यहाँ हजारौँ फ्युज भण्डारण गरिएको रहेछ । यसैकारण विस्फोटले विकराल रूप लिएको रहेछ । यो तत्कालीन कारण मात्र थियो । मानवीय क्षति बढी हुनुको खास कारण ओख्ता उद्योगको रुग्ण कार्यस्थल थियो ।
विस्फोटकहरूको उत्पादन अत्यन्त जोखिमपूर्ण काम हो । यसको लागि उच्च ज्यालादर दिएर दक्ष जनशक्ति राख्नुपर्छ । तर, उद्योग प्रशासनले सस्तो ज्यामी राख्ने लोभमा खासगरी दक्षताहीन मजदुर र महिलालाई काममा राखेको थियो । उनीहरू सिधै गाउँबाट आएका थिए । आफूले गर्नुपर्ने कामबारे उनीहरूलाई फिटिक्कै थाहा थिएन । लगातार १० घण्टा काम गर्नुपथ्र्यो । तर, ज्यालामा ६५–७५ कोपेक (रुसी पैसा) मात्र पाउँथे । उनीहरू दासभन्दा उति फरक थिएनन् । उनीहरूलाई ज्याला–पुस्तिका दिइएको थिएन । कामको सिलसिलामा उनीहरूलाई दुव्र्यवहार गरिन्थ्यो, जरिवाना तिराइन्थ्यो र मनपर्दी निकाला गरिन्थ्यो ।
मजदुरहरूले शिक्षा लिन खोजे दमन गरिन्थ्यो । उनीहरूले पत्रिका पढेको भन्दा बरु रक्सी खाएर मात्तिएको देख्न चाहन्थ्यो उद्योग प्रशासन । हिंस्रक शोषणको दमन र दिनभरिको काम (त्यसमाथि उद्योग प्रशासनले मजदुरलाई प्रतिदिन ८–९ घण्टा ओभर टाइम वा थप काम गर्न भन्थ्यो) ले थलिएका ओख्ताका मजदुरहरूले विस्फोटकको उत्पादन गर्न चाहिने उच्च सतर्कता र ध्यान दिन नसक्नु स्वाभाविकै थियो ।
यसमा उद्योगको प्राविधिक माहोललाई थप्नुपर्छ । यस्तो कामका लागि उद्योगको हाता साँघुरो थियो । धेरै सरकारी आयोगहरूले उद्योगमा नयाँ उपकरण ल्याउनुपर्ने र उद्योगलाई अन्तै सार्नुपर्ने सिफारिस गरेका थिए । यस्तो अवस्थामा बारम्बार विस्फोटको परिस्थिति तयार हुनु अवश्यम्भावी थियो । सन् १९१३ जनवरी ३ को दिन अर्थात् विस्फोटको दुई हप्तापछि अर्को विस्फोट भयो । त्यसमा थप मजदुर मारिए ।
विस्फोट हुनु र वित्यास पार्नु रुसको औद्योगिक जीवनमा सामान्य नियमजस्तै थियो । पुँजीवादले मजदुरहरूको निर्मम शोषण गथ्र्यो । विभिन्न उद्योगमा हुने हजारौँ मजदुरको मृत्युको दोषी यही पुँजीवाद थियो । संसद्मा हुने प्रश्नोत्तरमा हामीले ओख्ताको भयङ्कर विस्फोटसँगै यी सबै परिस्थितिमा जनताको ध्यानाकर्षण गराउनु थियो । हामीले सदनको मञ्चबाट रुसी सर्वहारा जनता कस्तो परिस्थितिमा काम गर्दै छन् र कति चरम शोषणमा पिल्सिरहेका छन् भनी वर्णन गर्नु थियो । साथमा, हामीले क्रान्तिकारी सङ्घर्षका लागि तिनीहरूको मनोबल बलियो पार्नु थियो ।
घटनाको असामान्य प्रकृति, पीडितहरूको ठुलो सङ्ख्या र अर्को विस्फोटको खतरा टरिनसकेको हुनाले सरकारलाई यस विषयमा प्रश्न गर्न जरुरी थियो । यसपालि संसद्को बहुमतलाई पनि प्रश्नलाई सान्दर्भिक भन्न कर लाग्यो । हाम्रो प्रश्नको सान्दर्भिकताको पक्षमा अक्टोबरवादी र मध्यमार्गीहरूले १३४ मत दिए । यसको विपक्षमा १२७ दक्षिणपन्थी मत खसेको थियो ।
तर, सदनको बहुमतले सान्दर्भिक भन्दैमा हाम्रो प्रश्नलाई सान्दर्भिक नै मानिनुपर्छ भन्ने थिएन । सन् १९१३ को जनवरी २५ को दिन सदनले हाम्रो प्रश्न सान्दर्भिक भएको तय गरे पनि युद्ध मन्त्रीबाट त्यसको जवाफ सुन्न सदनले ६ महिनापछि गर्मी यामसम्म पर्खिनुप¥यो । मन्त्रीको उत्तर लिखित थियो । त्यो बेला सांसदहरू गर्मी बिदामा थिए । त्यसकारण, मन्त्रीको जवाफमा छलफल गर्न अर्को ६ महिना पर्खिनुप¥यो ।
बहसमा हाम्रो समूहले मलाई वक्ताको रूपमा अघि सा¥यो । तर, अपेक्षा गरेझैँ बहुमत सांसद सरकारप्रति बफादार रहे र सरकारलाई असजिलो पार्ने केही गर्नबाट पछि हटे । ओख्ता विस्फोटको मुद्दालाई संसदीय आयोगको पर्दापछाडि लुकाइयो । यो मुद्दाले पनि हाम्रो समूहले गरेका अन्य प्रश्नकै नियति भोग्नुप¥यो ।
पाठ ८
कपडा कारखानामा तालाबन्दी
तालाबन्दीको आर्थिक कारण । रोसिस्सकाया मिलमा तालाबन्दी । उद्योग निरीक्षकको रवैया । सेन्ट पिटर्सबर्गका मजदुरहरूको सहयोग । तालाबन्दीबारे प्रश्नोत्तर । म्याक्सवेलको उद्योगमा दोस्रो तालाबन्दी ।
मजदुरवर्गको सङ्घर्ष सघन भयो । यसले गर्दा कारखाना र मिलका मालिकहरू पनि एकजुट भएर परिचालित हुन थाले । मजदुर आन्दोलनको उर्लिँदो छाल देखेर पुँजीपतिहरू तर्से । मजदुरलाई जरिवाना तिराउने, अनुशासनको नाममा दण्डित गर्ने, मजदुर युनियनका सदस्यलाई पक्राउ गर्नेजस्ता दाउपेचको लहर चल्यो । एकजुट भएका पुँजीपतिहरूले मजदुरहरूविरुद्ध एउटा शक्तिशाली हतियार प्रयोग गरे । त्यो थियो – सामूहिक निकाला । तालाबन्दले हजारौँ मजदुरहरूलाई सडकमा पछा¥यो । तिनीहरू कङ्गाली र अभावको भुमरीमा पर्ने खतरा आइलाग्यो ।
रुसको कपडा उद्योग आंशिक सङ्कटमा थियो । सङ्कटले मिल मालिकहरूको मुट्ठी बलियो भयो । सन् १९१३ को जनवरीपछि सेन्ट पिटर्सबर्गका कपडा कारखानामा तालाबन्दीको लहर चल्यो । खासगरी ठुला कारखानाभरि तालाबन्दी भयो ।
रोसिस्सकाया सुती मिलमा भएको तालाबन्दी सबैभन्दा लामो थियो । त्यहाँ १२ सय मजदुर काम गर्थे । तालाबन्दी गर्न कारखाना प्रशासनले नै उक्साएको थियो । प्रशासनले सबै ट्रेड युनियनका सदस्यहरूलाई कामबाट निकाल्ने निर्णय ग¥यो । मालिकहरू बुढाखाडा मजदुरहरूलाई हटाएर जवान मजदुरहरू काममा राख्न चाहन्थे । ती मजदुरले २०–३० वर्षदेखि त्यहाँ काम गर्दै आएका थिए ।
जनवरी २१ को दिन तीस मजदुरहरू कार्डिङ विभागमा उभिएका थिए । त्यति नै बेला पूर्वसूचना नदिइकन तिनको ज्याला प्रतिदिन १० कोपेकका दरले घटाउने जानकारी गराइयो । भोलिपल्ट बिहान त्यो विभागका मजदुरहरूले पुरानै ज्यालादर कायम गर्नका लागि हडताल गर्ने घोषणा गरे । मालिकहरू यही चाहन्थे । त्यो रात मजदुरहरूले पालो फेर्ने बेला वाफ इन्जिन र विद्युतीय चिम बन्द गरियो । मजदुरहरू भित्र पस्ने बित्तिकै तिनलाई अनिश्चित कालका लागि कारखाना बन्द हुने र सबै मजदुरलाई पछि ज्याला बाँड्ने जानकारी गराइयो । मालिकहरू मजदुरहरूलाई उक्साउन चाहन्थे भन्ने स्पष्ट देखियो । ती तीस हडतालीहरूको एउटै माग दैनिक ३ रुबल ज्याला पाउनुपर्छ भन्ने थियो । तर, तिनकै बहानामा हडतालमा भाग नलिएका १२ सय मजदुरलाई रोजगारीबाट निकालियो र भोकमरीतर्फ धकेलियो ।
मालिकहरूले हडतालको लागि उक्साए पनि मजदुरहरू धेरै दिनसम्म समयमै कारखानामा गइरहे । तर, तिनलाई भित्र पस्न दिइएन । दुई दिनपछि गेटमा एउटा सूचना टाँसियो । ज्याला लिनका लागि कार्यालय आउनू भन्ने उर्दी जारी गरिएको थियो । सुरुमा मजदुरहरूले ज्याला लिन अस्वीकार गरे । कामबाट निकाला गरिएकोमा दुई हप्ताको ज्याला हर्जानामा मागे किनभने दुई हप्ताको हडतालमा उनीहरू सहभागी थिएनन् । तर, मालिकहरूले तिनलाई हडतालीहरूलाई सघाएको झूटो आरोप लगाए । मजदुरहरू भाडामा बस्ने घरभेटी र आसपासका पसलेहरूले मजदुरहरूलाई पुरानो बक्यौता नतिरेसम्म उधारो नदिने बताए । भर्खर मात्र क्रिसमस चाडको बिदामा धेरै उधारो खाएकोले मजदुरहरूले तिर्नुपर्ने बक्यौता बढी नै थियो । यस्तो दबाब दिएर मजदुरहरूलाई ज्याला लिन कर गरियो । प्रत्येक मजदुरले १०–२० रुबल (रुसी रूपैँया) लिनुपर्ने थियो । तर, सबै रकम पसलेलाई बक्यौता तिर्नमा जान्थ्यो । बदलामा मजदुरहरूले फेरि पनि उधारोमै गुजारा चलाउनुपथ्र्यो र केही दिनसम्म अर्ध भोकमरीको अवस्थामा कटाउनुपथ्र्यो ।
तालाबन्दीको दिन बिहानैदेखि जिल्लाको मिलमा तनावको अवस्था थियो । चिया पसल र भट्टीहरूमा अर्थात् मजदुरहरू जम्मा हुने र आफ्ना कामकाजबारे कुराकानी गर्ने उबेलाका ‘मजदुर क्लव’ मा मान्छेको घुइँचो लाग्यो । आफ्ना जहानपरिवार भोकभोकै बस्नुपर्ने भयो भन्ने चिन्तैचिन्तामा उनीहरूले अनिँदो रात बिताएका थिए ।
कपडा मजदुरहरूको ज्याला एकदम कम थियो । जति काम गरे पनि उनीहरूले धौधौ गरी ज्यान पाल्थे । त्यसैले बेरोजगार भएको पहिलो दिन भोकै बस्नुपरेको पहिलो दिन पनि बन्यो ।
वर्गसचेत मजदुर, सामाजिक जनवादी र मजदुर युनियनका सदस्यहरूले स्थितिमा सुधार ल्याउन र अलि सङ्गठित प्रयास गर्न खोजे । मजदुरहरूलाई हिम्मत नहार्न आह्वान गरिएको ‘प्राभ्दा’ का सयौँ प्रतिहरू हतारहतार ठाउँ–ठाउँ पु¥याइयो । कारखानामा आइलागेको नयाँ स्थितिबारे सरसल्लाह गर्न बैठक डाक्न खोजियो । तर, तुरुन्तै प्रहरीको एउटा डफ्फा त्यहाँ आइपुग्यो । त्यसले मजदुरहरूलाई तितरबितर पारिहाल्यो ।
तालाबन्दीले ल्याएको विपत्ति र निराशा विस्फोट हुन पनि पाएको थिएन प्रहरीले किनार लगाइहाल्यो । यसपछि मजदुरहरूको मनोदशा बदलियो । मजदुरहरूले लामो सङ्घर्षको तयारी गर्न थाले । प्रहरीले कडा निगरानी गरे पनि मजदुरलाई निकाला गरिएको विषयमा बैठक डाकियो । बैठकमा निकालामा पर्ने सबै मजदुरहरू आपसमा भेटिरहनुपर्ने र सहयोगका लागि सेन्ट पिटर्सबर्गका सबै मजदुरहरूसँग अपिल गर्नुपर्ने निर्णय गरियो । मालिकहरूको तालाबन्दीको बेला रक्सी प्रयोगविरुद्ध कठोर सङ्घर्ष गर्नुपर्ने आवाज उठ्यो । त्यस्तै, मजदुरलाई पढाउन गठन गरिएका शैक्षिक संस्थालाई निःशुल्क कक्षा लिन अनुरोध गर्ने निष्कर्ष निस्कियो । महिला र पुरुष कोही पनि कारखानाको गेटमा नजाला, आफ्नो र मजदुरहरूको लागि दयाको भिख नमाग्ला भन्ने तय भयो । कारखाना खुलिहाले पनि सबै मजदुरलाई काममा बहाल नगरेसम्म एकजना मजदुर पनि भित्र नपस्ने निर्णय पारित गरियो ।
कारखाना मालिकले सरकारले बनाएको नियम भङ्ग गरेको हुँदा मजदुरहरूले उद्योग निरीक्षककहाँ अर्जीपत्र बुझाए । सिद्धान्ततः मजदुरहरूको हितको रक्षा गर्नु नै उद्योग निरीक्षकको कर्तव्य थियो । तर, सेन्ट पिटर्सबर्गको वरिष्ठ उद्योग निरीक्षकको कार्यालयमा जेजस्तो कुराकानी भयो त्यसबाट उसले वास्तवमा कसको हितको ‘रक्षा’ गर्दो रहेछ भन्ने प्रस्ट भयो ।
–क्रमशः
Leave a Reply