के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्ने नीति लेनिनवादी नीति हो । लेनिनवादी नीतिलाई अनुशरण गरेर नै नेपाल मजदुर किसान पार्टीले निरङ्कुश पञ्चायती व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्रजस्तो पुँजीवादी बन्दोबस्तको निर्वाचनलाई उपयोग गर्दै आएको हो । नेमकिपाले आत्मसात गरेको नीतिकै आधारण्मा विगतमा निर्वाचनमा भाग नलिएका दलहरूले पनि निर्वाचनलाई उपयोग गर्दै आएको सबैसामु छर्लङ्ग छ । निर्वाचनमा भाग लिएको आधारमा त्यो व्यवस्थाको समर्थक हुँदैन । पञ्चायती व्यवस्थाको बेला निर्वाचनमा भाग लिए पञ्चायतवादी या राजावादी र पुँजीवादी बन्दोबस्तको बहुदलीय व्यवस्थाको निर्वाचनमा भाग लिए पुँजीवादी या काङ्ग्रेस हुने होइन । के राजतन्त्र अन्त्य हुनुभन्दा अघि निर्वाचनमा भाग लिएका दल र दलका उम्मेदवारहरू सबै राजावादी हुन्छन् ? के अहिले निर्वाचनमा भाग लिएका दल र नेताहरू सबै पुँजीवादी हुन् ?
समाज वर्गमा विभाजित छ । समाजमा सामन्त, प्रतिक्रियावादी, पुँजीवादी, जालीफटाहा, बिचौलिया मात्र होइनन् देश र जनताको सेवामा सङ्घर्षरत कम्युनिस्ट पार्टीको बदनाम गर्न, झूटको राजनीति गरेर जनतामा भ्रम फैलाएर भड्काउने, फुटाउने, नेता तथा कार्यकर्ता तान्न निरन्तर खटिरहेका उत्ताउला मान्छेहरू पनि हुन्छन् । उनीहरू वास्तविकता ढाकछोप गर्न सत्य र सही कुरा छोप्न जाल बुनिरहन्छन् । कुकुरले झैँ भुक्ने र जाल बुन्ने व्यक्तिहरू समाजका खराब पात्र हुन् । त्यस्ता उत्ताउला र भ्रमको खेती गर्ने व्यक्तिहरू बाँदरे नीति अँगाल्छन् । उनीहरू न अरूलाई बनाउन दिन्छन् न आफूले बनाउँछन् । कम्युनिस्ट भनिने यस्तै नेता तथा कार्यकर्ताहरूको कारण देशले विकास गर्न सकेन । देश अनिर्णयको बन्दी भइरह्यो । सत्तामा पुगेका कम्युनिस्ट पार्टीहरू पुँजीवादी पार्टीमा रूपान्तरण भयो । फलतः कम्युनिस्ट आन्दोलन पछि प¥यो । सत्ता भएपछि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको मतलब नराख्ने त्यस्ता दलकै कारण देशमा कम्युनिस्ट पार्टीको बदनाम भयो । तर, सबै कम्युनिस्ट पार्टी बिग्रेका छैनन् । कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार राजनीति गरिरहेका दलहरू पनि छन् ।
शासक दलका कति नेताहरू अरू दलको विरोध गराउनकै निम्ति खटिएका हुन्छन् । कोही नेताहरू दल फुटाउन त कोही नेता तथा कार्यकर्ता भड्काएर आफ्नो दलमा समावेश गर्ने काममा सक्रिय भएका हुन्छन् । त्यस्ता नेताहरू भए नभएका कुरा फलाक्छन्; बुझेर पनि बुझ पचाएर जनतामा भ्रम फैलाउन विरोधको निम्ति विरोध गरिरहन्छन् । अरू दल र दलका नेताहरूको विरोध गर्न पाएपछि आनन्द लिने या आफ्नो उद्देश्य फत्ते भएको सम्झने नेताहरू विरोधको निम्ति विरोध गर्न पछि पर्दैनन् । उनीहरूको काम नै झूट फलाकेर जनतामा भ्रम फैलाउने हो । पञ्चायती निर्वाचनमा भाग लिने दल र दलका उम्मेदवारहरूलाई राजावादी ठान्नु उसको दृष्टिदोषमात्र होइन, जानाजानै विरोध गरिएको हो । निर्वाचनमा भाग लिएको आधारमा यसरी राजावादी हुने भए के निर्वाचनमा भाग लिएका दल र दलका नेता तथा कार्यकताहरू सबै राजावादी र पुँजीवादी पार्टी भए ? यसलाई सही मान्ने हो भने चुनावमा भाग लिने दलले एमाले नाउँ किन राख्नुप¥यो ? पार्टीको नाम किन माओवादी या अन्य कम्युनिस्ट पार्टी राख्नुप¥यो ?
कसैले झ्याल बन्द गर्दैमा सूर्यको ज्योति रोक्न सकिँदैन । नेमकिपा स्थापनाकालदेखि नै पञ्चायती व्यवस्थाको विरोधमा सङ्घर्षरत छ । सामन्तवाद अन्त्य गर्न नै नेमकिपाले कानुनी र गैरकानुनीरूपमा पञ्चायती व्यवस्थाको विरोध गर्दै आएको हो । पञ्चायती व्यवस्थाको विरोधमा सङ्घर्ष गर्दा नेमकिपाका असङ्ख्य नेता तथा कार्यकर्ताहरूले जेल जीवन भोगे, उनीहरू अर्धभूमिगत भए† जाली मुद्दामा परे । नेता तथा कार्यकर्ताले जस्तो दुःख खानु परे पनि पञ्चायती व्यवस्थाविरूद्ध लडिरहे । पञ्चायती व्यवस्था अन्त्य हुनुमा नेमकिपाको पनि महत्वपूर्ण योगदान रहेको कुरा इतिहासले भुल्ने छैन । पार्टी स्थापनादेखि सामन्तवादको विरोधमा लड्दै आएको पार्टी र पार्टीका नेतालाई ‘राजावादी’ भन्ने नेता तथा कार्यकर्ताहरू कहिले पनि सद्दे हुँदैनन् । झूटको खेती गर्नेदेखि जनता सधैँ सचेत र चनाखो हुनुपर्छ ।
Leave a Reply